रोकिएन अनियमितता



हाम्रो मुलुकमा जताततै अनियमितता व्याप्त छ । अनियमितता हटाउने भनेर नेतृत्व गरिरहेका पदाधिकारीहरुले नै बढी अनियमितता गरिरहेका छन् । शान्ति र शुसासन कायम गरि देश र जनताको हितको लागि काम गर्ने भन्दैस्थानीय, प्रदेश र केन्द्रमा तीन तहको सरकार क्रियाशिल छ । तर, तीनै तहको सरकार व्याप्त अनियमितता र भ्रष्टाचारलाई नयुनिकरण गर्ने भन्दा अझ बढाउन क्रियाशिल देखिएको छ । तीनै तहको सरकारले गरेको हरेक काममा अनियमितता भएको खवरले दैनिक अखबारका पानाहरु भरिरहेका छन् । हरेक मन्त्रालय मात्र हैन मन्त्रालय मातहतका हरेक कार्यालयहरुमा भएको अनियमितता रोक्ने कुनै प्रयास भएको देखिएको छैन ।

मुलुकमा सुशासनको नारा दिने दुईतिहाई वहुमत प्राप्त सरकार छ । केन्द्र देखि स्थानियसम्म तीनै तहको सरकारमा एउटै पार्टीको हलिमुहाली छ । यो सरकार आफ्नो आलोचना पटक्कै सुन्न चाहदैन । अनियमितताको खवरलाई झुट सावित गर्न चाहान्छ । स्थानीय तहमा आफै जनप्रतिनिधि, आफै ठेकेदार भएर व्यापक अनियमितता गरेको खबर नियमित आइरहेको बेला पछिल्लो समय प्रदेश सरकारले गाडि खरिदमा व्यापक भ्रष्टाचार गरेको कुरा बाहिर आइरहेको छ । केन्द्रिय सरकारका मन्त्री पनि भ्रष्टाचार र अनियमिततामा सामेल भएको खबर यस अघि सार्वजनीक भैसकेको छ ।

भ्रष्टाचार, अनियमितता जस्ले रोक्नुपर्ने हो उस्ले नै बढी भ्रष्टाचार र अनियमितता गरिरहेको खवरले यो बढ्ने बाहेक रोकिने अनुमान लगाउन सकिदैन । ‘मुल नै धमिलो भएपछि धाराको टुकी सफा गरेर मात्र हुदैन’ भने झै अनियमितता नियन्त्रण गर्ने तालुक अड्डा र त्यहाका पदाधिकारीनै संलग्न भएपछि बढ्दो भ्रष्टाचार र अनियमितता कहिले रोकिनु ? न्युनिकरण हुने सम्भावना समेत नरहेको बेला पुरै रोकिने कुरा अझ हास्यास्पद छ ।

बढ्दो भ्रष्टाचार र अनियमितता रोक्न सबै भन्दा पहिले सरकार नै प्रतिवद्ध हुनुपर्छ र सोहि अनुसार काम गर्नुपर्छ । एकथोक भन्ने अर्थोक गर्ने गरेर हुदैन । त्यसपछि मातहतका निकायहरुलाई प्रतिवद्ध बनाउनु पर्छ । जताततै बढेको राजनीतिह हस्तक्षेपको अन्त्य हुनुपर्छ । न्यायालय, प्रहरी प्रशासन, अख्तियार, कर्मचारी जताततै राजनीतिक हस्तक्षप बढ्दो छ । ऐन कानुन अनुसार भन्दा पनि आफ्नो र दलको स्वार्थ अनुसार काम गर्न दबाब दिने प्रचलनलाई रोक्नुपर्छ । अनियमितता गर्ने आफ्नो पक्षलाई जोगाउन भएभरको सबै शक्ति प्रयोग गर्ने जिम्मेवार राजनीतिक नेतृत्वले अब पनि भ्रष्टाचार र अनियमितता हटाउन नचाहने हो भने मुलक फेरी लथालिङ्गमै बरालिने छ ।

प्रतिक्रिया दिनुहोस्