उत्तर कोरियाली नेता किम चीन भ्रमणमा



बेइजिंग,(एजेन्सी)
उत्तर कोरियाली नेता किम जोंग उन अघोषित भ्रमणका क्रममा मंगलवार चीनको राजधानी बेइजिंग आइपुगेका छन् । उनी चिनियाँ राष्ट्रपति सी जिन्पिंगको आमन्त्रणमा चीन आइपुगेको चीनको आधिकारिक समाचार निकाय सिन्ह्वाले जनाएको छ । उत्तर कोरियाली सरकारी संचार माध्यमका अनुसार आफ्नी पत्नी रि सोल–जुसँग चीन पुगेका किम आगामी १० जनवरी सम्म त्यहाँ बस्नेछन् ।

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच दोस्रो शिखर वार्ताको प्रक्रिया अघि बढिरहेको प्रतिवेदनहरु सार्वजनकि भइरहेकोबला किमले चीन भ्रमण गरेका हुन् । यि दुई नेताबीच यस अघि सन् २०१८ को १२ जुनमा सिंगारपुरमा भेट भएको थियो । सिंगापुरको उक्त ऐतिहासिक भेटको क्रममा किम र ट्रम्पबीच कोरियाली प्रायद्विपलाई निशस्त्रीकरण गर्नेबारेका सहमति भएको थियो । त्यतिबेला ट्रम्पसंग भेट्नु अघि पनि किमले चिनिया राष्ट्रपति जिन्पिंग र दक्षिण कोरियाका राष्ट्रपति मून जाय इनसंग भेटघाट गरेका थिए । कुनै अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाली नेतासँगको गरेको इतिहासमै त्यो पहिलो भेट थियो ।

अघिल्लो दिन दक्षिण कोरियाली अखवार योन्हापले एक उत्तर कोरियाली एउटा रेलले उच्च सुरक्षा प्रबन्ध सहित सिमाना पार गरेको खवर सार्वजनिक गरिएपछि रेलमा किम हुन सक्ने अनुमान लगाइँदै आएको थियो । सीमा सहर दानदोंगको रेलवे स्टेशन वरपर दर्जनौं सुरक्षा गाडी तथा अधिकारीहरुले बाटो रोकेका थिए ।

दानदोंग स्थित होटलहरुका सिमानातर्फ फर्केका कोठामा बसेका पाहुनाहरुलाई समेत तिनका कोठामा प्रवेश गर्न रोकिएको थियो । चीन र उत्तर कोरियाका संचार माध्यमले मंगलबार बिहान बल्ल किमको भ्रमणलाई पुष्टि गरेका हुन् । मंगलबार विहानै किम चढेको भनिएको हरियो र पहेँलो रंगको रेल बेइजिंगको एक स्टेसनमा देखिएको थियो ।

अघिल्लो पटकको वेइजिंग भ्रमणको क्रममा पनि प्रयोग गरिएको उक्त रेल उनका पिता किम जोंग इलले सन् २०११ मा चीन र रुसको भ्रमणको समयमा प्रयोग गरेका थिए ।

यो किमले पछिल्लो समयमा गरेको चीनको चौथो भ्रमण हो । तर किमले असामान्य रुपमा आफ्नो शासनको पहिलो ६ वर्षमा कहिल्यै चीन भ्रमण गरेको थिएन ।

संयोगले मंगलबार किमको ३५ औं जन्मदिन पनि परेको छ । तर प्योंगयांगले भने उनको जन्मदिन हालसम्म पुष्टि गरेको छैन । चीन उत्तर कोरियाको महत्वपूर्ण कुटनीतिक मित्र तथा उसको व्यापार र सहयोगको मुख्य स्रोत हो ।

यसैगरी अघिल्लो साता नयाँ वर्षको दिनमा राष्ट्रको नाममा आफ्ना वार्षिक सम्बोधन दिने क्रममा किमले आफू आणविक निःशस्त्रीकरणमा प्रतिबद्ध रहेको तर अमेरिकाको नाकावन्दि जारी रहेको खण्डमा आफूले अर्कै बाटो समाउने चेतावनी दिएका थिए ।

सिंगापुरमा भएको शिखर वार्तापछि किम र ट्रम्पबीचको कुटनीतिक प्रगति अगाडि बढ्न सकेको छैन । उक्त समय दुवै पक्षले कोरियाली प्रायद्विपको आणविक निःशस्त्रीकरणमा प्रतिबद्धता जनाएका थिए । तर त्यसको लागि स्पष्ट खाका भने अगाडि ल्याइएको थिएन ।

प्रतिक्रिया दिनुहोस्