रामबहादुर बम्जन सिन्धुली आश्रममा, प्रहरीले नियन्त्रणमा लिन सकेन



बुद्ध नेपाली, सिन्धुली
पाँच जना अनुयायीहरु बेपत्ता पारिएको लगायतका आरोप लागेका ‘लिटल बुद्ध’का नामले चिनिएका रामबहादुर बम्जन सिन्धुली आश्रममा रहेको खुलासा भए पनि प्रहरीले नियन्त्रणमा लिएको छैन् ।

विवादीत बम्जनलाई प्रहरीले खोजी गरिरहेको र उनिमाथि लागेका आरोपबारे प्रहरीले चौतर्फी अनुसन्धान थालेको खबर आइरहेका बेला बम्जन सिन्धुलीस्थित कमलामाई नगरपालिका ८ को पैरेमा रहेको आश्रममा रहेको प्रशासन र प्रहरीले पुष्टि गरेका छन् ।

उनका विभिन्न आश्रममा बस्दा पाँच जना उनका अनुयायी र आनीहरु बेपत्ता भएको, आश्रमका आनीहरुमाथि यौन दुव्र्यवहार गरेको जस्ता आरोपमा बम्जनमाथी किटानी जाहेरी परेपछि प्रहरीले बम्जनको खोजी गर्दै उनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा सिलबन्दी गरेर अनुसन्धान थालेको छ ।

तर, यस्ता संगिन आरोप लागेको बम्जनलाई नियन्त्रणमा लिन भने प्रहरीले सकेको छैन् । विवादीत बम्जनको सिन्धुली आश्रममा भने प्रहरीले अनुसन्धान अगाडि नबढाएको विषयमा चौतर्फी आलोचना समेत हुन थालेको छ ।
तर, आश्रममा गएका बमजनका अनुयायीहरू त्यहाँबाट नफर्किएको भन्ने विवरण सहित विभिन्न जिल्ला प्रहरी कार्यालयमा परेको मुद्दामा प्रहरीले छानबिन थालेका भएपनि बम्जनलाई नियन्त्रणमा लिनेबारे कुनै निर्देशन नआएकोले उनलाई नियन्त्रणमा नलिइएको सिन्धुली प्रहरीका प्रमुख एसपी रामेश्वरप्रसाद यादव बताउँछन् ।

मकावनपुर र सिन्धुपाल्चोक प्रहरीले गरेको सर्कुलेसन अनुसार सिन्धुली प्रहरीले पनि अनुसन्धान गरीरहेको र विशेष टोली आए अनुसन्धानमा थप सहयोग गर्ने यादवको भनाई छ । यादवले बम्जन भने सिन्धुली आश्रममै रहेको पुष्टि गरे । प्रहरीको विशेष टोलीले अनुसन्धान गरिरहेको बाँडेगाउँ आश्रममा अश्वभाविक घटना भएको पाइएको जनाएको छ ।

उनको सिन्धुली आश्रममा प्रहरीले छापामार्ने चर्चा चलेपनि हालैमात्र बम्जनको आश्रममा पुगेका सिन्धुलीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल र प्रहरीका एसपी यादव रित्तोहात फर्किएका थिए । तर, बम्जनको आश्रम र उनका गतिविधि बुझ्न केही दिन अघि बम्जनको आश्रम पुगेको भन्दै उनलाई नियन्त्रणमा लिन सरकारको माथिल्लो निकायबाट निर्देशन नआएकाले उनलाई नियन्त्रणमा नलिइएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्