आज लिगको समापन हुँदै



काठमाडौं, (नेस)
आश्विनदेखि शुरु भएको सहिद स्मारक ए डिभिजन लिग आजबाट समापन हुँदैछ । च्याम्पियन मनाङ मस्र्याङदी क्लबले फ्रेन्डस् क्लबसँग आफ्नो अन्तिम खेल खेल्नेछ । जसमा मनाङ जित हात पार्दै च्याम्पियन बन्ने आसमा रहेको छ । आठौं पटक लिग च्याम्पियन बनेको टोलीले यसअघि लगातार १२ खेल जितेर कीर्तिमान राखेको छ । टोलीले आज फ्रेन्डस्लाई हराएमा सत प्रतिसत नतिजासहित च्याम्पियन बन्न सौभाग्य प्राप्त गर्नेछ ।

यस्तै अर्को खेलमा न्युरोड टिम (एनआरटी) को सामना ब्रिगेड ब्वाइज क्लबसँग प्रतिस्पर्धा हुनेछ । १४ टोली सहभागि लिगमा एनआरटी ६ अंकसहित अन्तिम स्थानमा रहेको छ । यदि एनआरटीले जित हात पारेमा मच्छिन्द्र क्लब पुछारमा चिप्लनेछ । साथै फराकिलो जित भएमा एनआरटीले अंक र रकम गुमाउनु पर्नेछैन ।

पहिलो पटक नेपाली फुटबल लिगको इतिहासमा रेलिगेसनविनाको लिग आयोजना भएको हो । करिब ५ वर्षपछि भएको लिगमा रेलिगेसन नभए पनि अन्तिम हुने दुई टोलीले क्रमशः २ र १ अंक गुमाउनेछन् । त्यस्तै पुछारमा रहेकोले ३ लाख जरिवाना तिर्नु पर्ने र १३औं स्थानमा हुनेले २ लाख तिर्नुपर्ने प्रावधान छ । यसअनुसार ७ अंक जोडेको मच्छिन्द्रको अंक र रकम कटाउने पक्का छ ।

प्रतिक्रिया दिनुहोस्