आखिर विकास कसका लागि ?



गत शुक्रबार राजधानीमा एउटा अन्तरक्रिया कार्यक्रम भएको थियो । कार्यक्रमका वक्ताहरु कुनै उच्च ओहोदाका थिएनन् । सरकारले एकोहोरो समृद्धिको रटान लगाइरहेको बेला कार्यक्रममार्फत त्यसलाई फरक आँखाले हेर्न खोजिएको थियो । विकास वा समृद्धिको नाउँमा मानव बस्तीसँगै सभ्यता र संस्कृति कसरी तहसनहस हुँदै छ भनेर भुक्तभोगीहरुले आ–आफ्नो अनुभव सुनाएका थिए ।

सरकारले राष्ट्रिय गौरवको नाउँमा अघि सारेको फास्ट ट्रयाकले खोकनाको किरातकालीन बस्ती ‘कुदेश’को इतिहास र सभ्यता हराउने क्रममा रहेको कुरा अघि सारिएको थियो । कृषियोग्य जमिनको विनाश, जंगल र पर्यावरणको तहसनहससँगै आफ्नो समुदाय नै विस्थापित गर्न खोजेको रुपमा परियोजनालाई हेरिएको थियो । सडक विस्तारबाट विस्थापितहरुको कथा–व्यथा सुनाइएको थियो । कार्यक्रमले उठाएको एउटै प्रश्न हो, आखिर यो विकास कसका लागि ?

केही समयअघि चाबहिलस्थित मसानघाटमा प्रहरीको घेरा राखेर लास जलाइएको समाचार बाहिर आएको थियो । त्यस घटनालाई अव्यवस्थित शहरीकरण र परम्पराको अतिक्रमणको ज्वलन्त उदाहरणको रुपमा लिन सकिन्छ । सो घाटमा परम्परादेखि नै चाबहिलका स्थानीय गुठियारहरुले लास जलाउँदै आएका थिए । तर घाटवरपर अहिले बस्ती बाक्लिँदै गएकाले सो घाटमा लास जलाउन नहुने भन्दै अवरोध गरिएको थियो । परम्परादेखि लास जलाइँदै आएको स्थानमा जलाउन नदिनु आफ्नो संस्कृतिमाथि धाबा बोलेको रुपमा लिइयो । यो घटनासहित प्रशासन, न्यायालयमा पहुँच भएकै आडमा सार्वजनिक जग्गा, धार्मिक, सांस्कृतिक महत्वको गुठीको जग्गा हडप्ने विषय पनि कार्यक्रममा उठान गरिएको थियो । नेपाली समाजको ठोस धरातल सुहाउने विकासको मौलिक परिभाषाबारे चिन्तन–मनन गर्ने दृष्टिले कार्यक्रम औचित्यपूर्ण थियो ।

आखिर विकास के हो त ? विकासको नाउँमा संस्कृति, सम्पदा परम्परासँगै समुदाय नै विस्तापित हुँदै जाने यो कस्तो विकास ? के यही हो विकासको स्वरुप ? अहिलेको विकासको कोकोहोलो मच्चाइरहेको अवस्थामा राज्यले यस्ता प्रश्नको उत्तर नदिन सक्छ वा सजिलै नजरअन्दाज गर्न सक्छ ? यी प्रश्नको उत्तरविना नेपाली समाजको लागि सुहाउँदो विकासको मोडेलसम्म पुग्ने विन्दुबाट हामी सधैँ टाढै रहने निश्चित छ । अहिलेको लोकतान्त्रिक र गणतन्त्रात्मक सरकारले पनि राजनीतिक मुद्दा सकिएको भन्दै विकासलाई विशुद्ध प्राविधिक वा आर्थिक दृष्टिले हेर्ने र बुझ्ने ‘डिस्कोस’ चलाइरहेको छ । विभिन्न विकासविद्हरुका अनुसार विकास भनेको विशुद्ध आर्थिक वा प्राविधिक विषय होइन । विकासका लागि विदेशी दातृसंस्था वा चिकित्सक, इन्जिनियर वा टेक्नोक्याटहरुलाई मात्र जिम्मा दिइन्छ भने विकास हुन सक्दैन ।

आफ्नो गाउँ–ठाउँ, समाज वा समुदायको आवश्यकता सरोकारवालाकै प्रत्यक्ष सहभागितामा हासिल हुने परिणाम हो । विकासलाई समाज र जनतासँग जोड्नुपर्दछ । समाजवादी चिन्तक विश्वेश्वरप्रसाद कोइराला स्वयंले पनि नेपाली समाजमा ठूला–ठूला रेल, गगनचुम्बी भवन बनाउनु मात्र विकास होइन भन्नुभएको स्मरणीय छ । विकासको मोडेलको केन्द्र मनुष्य हुनुपर्दछ । समाजमा पछाडि पारिएका कृषक, मजदुरहरुलाई विकासको केन्द्रविन्दुमा राख्नुपर्छ । गाउँलाई आत्मनिर्भर बनाउने र रोजगारी सिर्जना गर्ने विकास अहिले चाहिएको हो । संस्कृति र पर्यावरण जोगाउने विकास नेपाल र नेपालीका लागि खाँचो छ ।

प्रतिक्रिया दिनुहोस्