स्थानीय तहबीच जिल्ला स्तरीय फुटबल



नानीराम नेपाल, सिन्धुपाल्चोक ।
स्थानीय तह निर्वाचनको डेढ वर्ष बितिरहँदा पहिलोपटक स्थानीय सरकारकै आयोजनामा जिल्ला स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । जिल्लास्थित बलेफी गाउँपालिकाले आयोजना गरेको स्थानीय तहबीचको जिल्लास्तरीय फुटबल प्रतियोगिता आइतबारदेखि बसन्तपुर खेलमैदानमा सुरु भएको हो ।

प्रदेश सांसद तथा प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति सरेश नेपालले खेलको उद्घाटन गरे ।

भौतिक पूर्वाधार निर्माणका काममा स्थानीय सरकारहरु केन्द्रित भइरहँदा खेलकुद क्षेत्रलाई पनि प्राथमिकतामा राखेर स्थानीय तहबीच जिल्लास्तरीय फुटबल आयोजना हुनु सुखद भएको सांसद नेपालले बताए ।

खेलकुदलाई प्राथमिकतामा राखेर बलेफी गाउँपालिकाले पहिलो पटक स्थानीय तहबीच जिल्लास्तरीय फुटबल प्रतियोगिताको आयोजना गरेको अध्यक्ष केदार क्षत्री बताउँछन् । ‘समृद्धिका लागि खेलकुद भन्ने हाम्रो मूल नारा हो, समृद्धिका लागि खेलकुद क्षेत्रको पनि विकास हुनु अवपरिहार्य छ’, अध्यक्ष क्षत्रीले भने ।

आइतबारसम्म चल्ने खेलमा जिल्लाका दश स्थानीय तह सहभागि भएको उनले बताए । प्रतियोगितामा प्रथम हुने बिजेता टीमलाई नगद एक लाख रुपियाँ नगद पुरस्कार प्रदान गरिनेछ ।

खेलमा उपविजेता हुनेलाई नगद पचास हजार पुरस्कार प्रदान गरिने आयोजक बलेफी गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक कार्केल लामाले बताए । आइतबारको पहिलो खेलमा समुह डी अन्तर्गत त्रिपुरा सुन्दरी गाउँपालिकालाई २—० ले हराउँदै आयोजक बलेफी गाउँपालिका सेमी फाइनलमा प्रवेश गरेको छ । बलेफी गाउँपालिकाकातर्फबाट राजकुमार घिसिङले दुई गोल गर्दै सेमी फाईनलको यात्रा तय गरेका ह्ुन् ।

समुह बी अन्तर्गतको हेलम्बु गाउँपालिका र लिसंखुपाखर गाउँपालिकामध्ये बिजेता टीमसँग बलेफी गाउँपालिकाको टीमले सेमी फाइनल खेल खेल्नेछ ।

खेललाई मर्यादित तवरले सम्पन्न गर्नका लागि जिल्ला फुटबल संघले सहआयोजक कबनेर सघाउ गरिरहेको जिल्ला फुटबल संघका अध्यक्ष मनकुमार श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्