हावादारी सरकारको आलोचना गर्नु पनि बेकार छ- डा. डिला संग्रौला पन्त



डा. डिला संग्रौला पन्त नेपाली कांग्रेसको केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाकी सांसद हुनुहुन्छ । नेपाली कांग्रेसको महाधिवेशनमा महिला तर्फबाट निर्वाचित उहाँ पहिलोपटक सांसद् बन्नुभएको हो । नेपाल महिला संघको अधिवेशनको संयोजकको भूमिका निर्वाह गरिसक्नुभएकी उहाँ पार्टीको कार्यक्रममा मात्र नभएर संसद्मा पनि चर्को बोल्नुहुन्छ ।

वर्तमान सरकारको गतिविधि जनताको पक्षमा नभएको भन्ने उहाँ सरकारले पाएको जनादेशमाथि प्रहार भएको टिप्पणी गर्नुहुन्छ । भर्खरै सम्पन्न पार्टीको महासमिति बैठकले पार्टीलाई अपेक्षित रुपमा सुधार गरेको उहाँको तर्क छ । पार्टीमा सक्रिय भएर कार्यकर्ताको पक्षमा काम गर्नेलाई महाधिवेशन जित्ने अवसर आएको उहाँको भनाई छ । कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना ढाकछोप गर्न प्रधानमन्त्री, गृह मन्त्री र रक्षामन्त्रीमात्र नभएर सरकार र पार्टीका अरु पनि लागेको भनेर आलोचना गर्दै आउनुभएकी उहाँसँग नेपाल समाचारपत्रका लागि गंगा बरालले गरेको समसामयिक कुराकानी

अहिलेको राजनीतिक अवस्थालाई कसरी बुझ्नुभएको छ ?
अहिलेको राजनीतिक अवस्था अत्यन्तै दुःखद् र कहालीलाग्दो छ । मैले भन्न खोजेको कुरा के हो भने सरकार बनेको ११ महिना पुग्न आँटेको छ । उसका गतिविधि कतैपनि राम्रो देखिएको छैन । जनताले पनि यो नेकपालाई किन मतदान गरेछौं भनेर चिन्ता गर्न थालेका छन् ।

यस्तो अवस्था आउँछ भनेर कसैले कल्पना गरेको भए शायद त्यो मत नेपाली कांग्रेसलाई आउन सक्थ्यो । हामी कांग्रेसीले निर्वाचनमा केही कुरा बुझाउन नसकेको पनि हुन सक्छ । अर्को कुरा नेकपाले मीठो नारा लाएको हुनाले होला कि भन्ने पनि जनतामा भ्रम भयो । बिकास र समृद्धिको नारा हराएको छ, सरकार तानाशाही बन्दै गएको छ ।

सुरुका केही महिना त सिक्दै होला भनेर हामीले पनि धैर्य गरेका थियौं अब यति समय बितिसक्दा भनें सकारात्मक लक्षण देख्न सकिएन । कांग्रेसले तत्काल विरोध गरिहाल्नुपर्छ भन्ने सोचेको छैन र केही दिन काम गर्नका लागि अवसर दिएका छौं । सरकार विपक्षीलाई र जनतालाई गाली गर्दै हिडेको छ यो कदम उसका लागि पनि घातक छ ।

सरकारले के गर्नुपर्ने थियो र के–के नभएको पाउनुभयो ?
एक÷दुईवटा कुरामात्र भए पो यो गरेन अरु ठीकै छन् भन्ने हुन्थ्यो तर कतैपनि राम्रो गरेको देखिएन । बिगार्न भने बाँकी केही राखेको छैन । नेकपाले निर्वाचनमा गरेको प्रतिवद्धता बिर्सिएको छ, यो उसकै लागि घातक छ । न त बजेट नै लोकप्रिय ल्याएको छ न त नीति तथा कार्यक्रम नै चित्तबुझदो छ ।

कांग्रेसले उठाएका हरेक ‘ईस्यू’ उसले सुनेको छैन । दुई तिहाइको सरकार बिकासको लागि हो, जनताको न्यायाको लागि हो तर गलत काम गरेर समाजमा आतंक मच्चाउनका लागि होइन । कसको संख्या कति छ र कसको सरकार छ भन्ने पनि जनताको चासो होइन, मुख्य कुरा मैले यो सरकारबाट के पाएँ र मेरो जीवनस्तर सुध्रियो कि सुध्रिएन भन्ने हो ।

जनतामा छाएको निराशाको सम्बोधन गर्न सकेन भने सरकार त चल्ला तर भोलिको दिनमा जनताको थप समर्थन पाउने सम्भावना हुँदैन । अहिले भ्रष्टाचारलाई संस्थागत गर्न सरकार लागेको छ । प्रधानमन्त्रीले भ्रष्टाचार पनि गर्दिन र गर्न पनि दिन्न भनेको पटकपटक सम्झिरहन्छु ।

सरकारले गफ गरेर जनतालाई अलमल्याउनुभन्दा पनि कामबाट उनीहरुको मन जिते राम्रो । संघीयतामा देश गएको छ तर कार्यान्वयन गर्न सरकारले सकिरहेको छैन । जताततै आन्दोलन र नाराबाजी भएको छ, यो नियन्त्रण गर्ने र कर्मचारीलाइ आफ्नो कर्तव्य निर्वाह गर्ने बनाउने दायित्व सरकारको हो । लामो समयको संघर्ष र योगदानबाट ल्याएको संघीयता असफल भयो भने यो र त्यो भनेर अरुलाई दोष लगाएर मात्र हुँदैन, समग्र व्यवस्था र देशै असफल हुन सक्छ । लोकतन्त्र र गणतन्त्रको बिकासको लागि कांग्रेस पनि सच्चिएर आउनुपर्छ ।

-भ्रष्टाचार गर्नु हुँदैन भन्ने र गर्न सिकाउने सरकार पनि यही हो
-काण्डैकाण्डले सरकारको आयु छोटिँदै गएको छ
-यो त अपराधीको सरकारजस्तो भएको छ

सरकारका अहिलेका समस्याहरु के –के हुन् ?
सरकार त अहिले काण्डैकाण्डमा फसेको छ । सुनकाण्ड, चिनी काण्ड, निर्मला काण्ड त केबल उदाहरणमात्र हुन् । हाम्रो सरकारले अघि बढाएको बुढीगण्डकी जलविद्युत परियोजना पनि यो सरकारले रोकिदिएको छ । राम्रो काम जसले गरेपनि समर्थन गर्ने राजनीतिक संस्कारको खाँचो छ नेपालमा । एसिया प्यासिफिक सम्मेलनमा सरकार सह–आयोजक भएर आफ्नो निर्लज्जता प्रदर्शन गरेको छ सरकारले ।

कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ५ महिना बितिसक्दा पनि सरकार दोषीलाई पक्रनतर्फ अग्रसर भएको छैन । घटनामा कुनै संलग्न नभएका मानिसलाई पक्राउ गरेर दुःख दिने काममात्र भएको छ । केही काम गरेको पुष्टि गर्न गृह प्रशासन भए÷नभएको काम गर्दैछ । सिंहदरवार र बालुवाटारले अपराधीको संरक्षण गरेको छ । प्रमाण नस्ट पार्ने र निर्मलाको लुगा पखाल्ने प्रहरीबाट अनुसन्धान सुरु गर्ने हो भने हत्यारा पत्ता लगाउन कुनै समस्या छैन ।

प्रहरी प्रशासनले चाहने हो भने यो हत्यारा पक्राउ पर्न गाह्रो छैन तर आफ्ना मान्छे पर्छन् भन्ने डरले सरकार कामिरहेको छ । गलत गर्ने जसले पनि दण्ड पाउनुपर्छ तर निर्दोषलाई पक्राउ गरेर जवरजस्ती ‘मैले यो घटना गरेको हुँ’ भनेर बकाउने कामले लोकतन्त्र र विधिको शासनमाथि प्रहार गरेको छ ।

यो घटनापछि म पनि कञ्चनपुर पुगेकी थिएँ । के भएको रहेछ भनेर सोधपुछ र अन्तरक्रिया ग¥यौं । घटनाको बारेमा सरकारलाई थाहा छ तर कसैको मायाले सरकार पनि चुपचाप छ, यो कसैको लागि पनि हितकर हुँदैन । सरकारले सुरु गरेको सामाजिक सुरक्षा कोषको कार्यक्रममा प्रधानमन्त्रीले फिल्मको हिरोजस्तो पोष्टर टाँसे, यसको सर्वसाधारणबाट विरोध भयो ।

सरकार यहीँ छ भनेर प्रधानमन्त्रीले जवाफ दिएपनि जनताले सरकार पाउन सकेनन् । सरकार भेटियो तर न्याय भेटिएन भनेर सर्वसाधारण सडकमा उत्रिँदा आक्रमण भयो । मलाई पनि प्रहरीले दुःख दिन खोजे तरपनि सत्यको वकालत गर्दै गएँ । प्रधानमन्त्रीले ठूला योजना आफ्नो हातमा लिएर तानाशाहा पारा लाद्न खोजिरहेका छन् । ठूला योजना बनाउनेभन्दा पनि ठेक्कापट्टा र कमिशन पाइने लोभमा यी र यस्ता काम भएका छन् ।

संसद्को बैठक नै नबसी ओली आफैं प्रधानमन्त्री भएको घोषणा गर्दै हिँड्नु पनि अर्को लज्जाको विषय हो । संसद्ले प्रधानमन्त्री छान्नुपर्ने शितलनिबासबाट प्रधानमन्त्री छानिएका छन् । पार्टीभित्र पनि केही बिबाद र संघर्ष भएको भन्ने प्रष्ट रुपमा बुझ्न सकिन्छ । नभए २÷४ दिन ढिलो प्रधानमन्त्री बन्दैमा केही बिग्रिहाल्ने पनि थिएन । विधिको शासनमा सबैले विश्वास गर्नुपर्छ तर कसैको स्वार्थको लागि सबै प्रक्रिया मिच्नु दुःखद् पाटो हो ।

डा.गोबिन्द केसीसँग सरकारले गरेको प्रतिवद्धता पूरा गरेको छैन । सहमति गर्ने र पालना नगर्ने कुरा खतरा छ । जे सकिन्छ त्यो मात्र गर्छु भन्नुपर्छ तर एउटा भनेर अर्को गर्दा पक्कैपनि समाजको बिकास र प्रगति हुन सक्दैन । राजनीति सबैभन्दा राम्रो नीति हो तर यसलाई गलत प्रयोग गर्ने गरेकाले समस्या बल्झँदै गएको छ । विपक्षीले भन्यो भन्दैमा सरकारले आलोचना गर्नु पर्दैन हाम्रो । नेकपाकै प्रमुख नेताले सरकार र पार्टीप्रति आक्रोश व्यक्त गरेका छन् । पार्टी नै संकटमा छ भने त्यसबाट दिने परिणाम पनि सही हुन सक्दैन ।

संस्कृत सम्मेलनमा भाग लिन जाँदै गर्दा प्रधानमन्त्रीले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई अपहरण गरेको शैलीमा एयरपोर्टबाट फर्काएर नचाँहिदो बयान लिएका छन् । नेपाल टेलिभिजनका पत्रकार राजु थापालाई सञ्चारमन्त्रीलाई प्रश्न गरकै भरमा अवकाश दिइएको छ ।

सरकार सधैं आफ्नै वरिपरि रहेर सबैले गुनगान गाइदियोस् भन्ने चाहन्छ, कसैले बोले र सामाजिक सञ्जालमा लेखे पनि कारवाही गर्ने डरले समाज आतंकित भएको छ । शैक्षिक संस्थामा राजनीति हावी भएको छ । संवैधानिक परिषद्ले ठीक छ भनेर सिफारिस गरिएका व्यक्तिलाई राजनीतिक प्रतिशोधका आधारमा अयोग्य ठानिन्छ र बेइज्जत गरिन्छ ।

यदी प्रधान न्यायाधीशका लागि दीपकराज जोशी अयोग्य थिए भने प्रधानमन्त्री नै रहेको परिषद्ले किन सिफारिस ग¥यो, मेरो प्रश्न हो यो । कानुनी राज्य छैन, सबै मन्त्रीका हातहातमा कानुन छन्, यो बिडम्बना हो । ३३ केजी सुन खोई ? क–कसले खाए जवाफ कसले दिने ? प्रधानमन्त्रीले पापनीजहाज चढ्नका लागि टिकट कातिराख्नु भनेका थिए, खोई त पानीजहाज ?


अबको राजनीतिक खतरा के देख्नुहुन्छ ?
नेपाल प्रशस्तै सम्भावना भएको देश हो तर यसलाई प्रयोग गर्ने गलत परिपार्टी छ । ३ तहको सरकार छ तर एक आपसमा समन्वय भएको छैन । प्रदेश सरकारमाथि पनि केन्द्रकै हस्तक्षेप छ । प्रधानमन्त्री प्रदेशसभामा गएर भाषण दिँदै हिड्छन्, यो कानुनी रुपमा पनि गलत छ । संघीयता भनेको अधिकारको बिकेन्द्रीकरण हो । प्रदेश र स्थानीय तहका आफ्नै नीति, नियम र कार्यविधि छन्, सरकारले त्यसमा ठाडो हस्तक्षेप गर्नु हुँदैन ।

फौजदारी अभियोग लागेको मान्छेलाई सांसद्को शपथ खुवाइएको छ, यो गलत हो । हिजो एमालेले रेशमलाल चौधरीका सबै गतिविधि गलत छन् र उनीमाथि न्याय गर्दा कानुनी राज्यको उपहास भएको छ भनेर विज्ञप्ती निकाल्थ्यो तर आज कुन कानुन सच्चियो र चौधरीलाई शपथ गराइयो भन्ने प्रश्न उठेको छ । गरिव र दुःखी जनताको नाममा सरकारले राजनीति गरिरहेको छ । चुनावी घोषणापपत्रमा बृद्धभत्ता मासिक ५ हजार रुपैंयाँ उपलब्ध गराउने बचनबद्धता खोई कहाँ गयो ?

युवालाई स्वरोजगारका कुनै कार्यक्रम ल्याउन सरकारले सकेन । नीजि क्षेत्रमाथि उपेक्षा गरिएको छ र युवालाई उत्साहित गर्ने कुनै पनि कार्यक्रम नल्याउनुको सरकारको कमजोरी हो । हामी छायाँ सरकारको रुपमा छौं । सरकारको गतिविधि नियालेर सचेत गराउने हो निर्णायक तहमा नभएकाले केही गर्न सक्दैनौं । सरकारले गलत बाटो लिन खोज्यो भने खवरदारी गर्ने छौं र अहिले पनि यो अभियान चलिरहेको छ ।


कांग्रेसको महासमिति बैठकले के ग¥यो ?
झट्ट हेर्दा केही भएन कि केही गरेन कि भन्ने आवाज पनि आएको छ तर महत्वपूर्ण काम भएका छन् । ती सबैलाई आत्मसात गरेर जाने हो भने आगामी दिनमा प्रशस्तै सम्भावनाहरु छन् । जनताले पनि कांग्रेसलाई पत्याएका छन् तर विविध कारणले गर्दा कांग्रेसको नतिजा राम्रो आउन सकेन ।

एउटैमात्र घटना र परिस्थिति हेरेर सधैं त्यसैको मात्र मूल्यांकन गर्नु हुँदैन । केही पार्टीभित्र पनि कमजोरी भए होलान् त्यसको समीक्षा गरेका छौं तर मुख्य कुरा भनेको २ पार्टीको एकताले नै समस्या पारेको हो । समानुपातिकतर्फको मतको हिसाब गर्ने हो भने नेकपाभन्दा थोरैमात्र कम हो हाम्रो । निर्वाचनमा पनि कांग्रेस गुटबन्दीको मर्कामा प¥यो ।

पार्टीमा देखिएका गुटबन्दी र अन्तर संघर्ष घटाउँदै जाने हो आगामी निर्बाचनमा कांग्रेसलाई कसैले हराउन सक्दैन । नेकपामा पनि बिबाद छ, उनीहरु पनि पूर्णरुपमा एक भएर नयाँ ढंगले बढ्न सकेका छैनन् । कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले सानातिना कुरा पनि बाहिर आउँछन् र साँच्चै पो समस्या भएको पो हो कि जस्तो देखिन्छ ।

सामान्य बिबादलाई अस्वभाविक मान्नु हुँदैन तर त्यही कारणले पार्टीलाई समस्या पर्ने छ भने अवश्य पनि बेलैमा सचेतना अपनाउनुपर्छ । हामीले राजनीतिक प्रस्तावमा पनि अबको बाटो के हुने भनेर प्रष्ट रुपमा भनिसकेका छौं । बैचारिक रुपमा पार्टी प्रष्ट छ । संविधानले परिकल्पना गरे अनुसार पार्टीको विधान बनाएका छौं । अब जसले कार्यकर्ताको मन छुने काम गरेको उसलाई महाधिवेशन जित्न सजिलो हुन्छ । कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित हुने व्यवस्था पनि राम्रो हो यसले नेतालाई जिम्मेवार बनाउँछ । बिधान ढिलो पास हुँदा केही अलमल भएजस्तो पनि देखियो तर पनि राम्रो भएकाले पछि थप आलोचना भएन ।

अब कांग्रेसले के गर्नुपर्ला ?
हामीले सधैं कांग्रेस पुरानो पार्टी र इतिहास बोकेको पार्टी भनेरमात्र चर्चा गरेर मात्र हुँदैन । यसलाई व्यवस्थित गर्ने दायित्व हामी सबैको हो । कांग्रेस अहिले दोस्रो दल हो, पहिलो बन्नका लागि केही मिहनेत गर्नुपर्छ । पार्टीमा युवाको आकर्षण छ तर उनीहरुलाई पार्टीप्रति थप जिम्मेवार बनाउन के गर्ने भन्ने भिजनको आवश्यकता छ । धेरै युवाहरु कामको खोजीमा विदेशिएका छन्, उनीहरुलाई राजनीतितर्फ ल्याउनु जरुरी छ । पार्टीको संरचनामा पनि युवालाई ठाउँ दिनुपर्छ । शिक्षा, स्वास्थ्य र रोजगारमा चासो दिनुपर्छ ।

समतामूलक समाजको निर्माण र बिकासमा कांग्रेसले ध्यान दिनुपर्छ । ‘कदजम’ को सिद्धान्त व्यवहारिक छ । कर्णाली, जनजाति, दलित र महिलालाई राम्रो स्थान दिएको छ । २०१७ सालको बिधान संशोधन गर्नु पनि एउटा उपलब्धी हो । क्यान्सरको रुपमा झाँगिएको गुटबन्दीलाई नियन्त्रण गर्न सके अरु त्यति धेरै मिहनेत गर्नु पर्दैन । महासमितिले राष्ट्रिय एकता र मेलमिलापको सन्देश दिएको छ ।

कांग्रेसमा देखिएको मुख्य समस्या के हो ?
लामो समयसम्म कांग्रेसले सत्ताको बागडोर सम्हालेको हो र सत्ताको मियो बन्यो, अहिले बाहिर बस्दा पनि त्यो अनुसार आफूलाई ढाल्न सक्नुपर्छ । विपक्षीहरुले कांग्रेस सत्ताभन्दा बाहिर बस्न सक्दैन भन्ने आरोप लगाइरहेका छन्, हामीले कुशल प्रतिपक्षको भूमिका खेल्नुपर्छ । तर सधैं विरोधको नाममा जहाँ पनि विरोध र खण्डन नै गर्नुपर्छ भन्ने पक्षमा म छैन ।

कम्युनिस्टजस्तो सत्ता बाहिर बस्दा आतंक मच्चाउनुपर्छ र रेलिङ भाँच्नुपर्छ भन्ने मान्यता राख्नुहुँदैन । दोस्रो दल बन्नुपर्दा केही प्रश्न पनि आए, हारको जिम्मेवारी कसले लिने भन्ने पनि बिबाद भयो । माथ्लो तहमा भएकाले जिम्मेवारी बढी लिनुपर्छ र तल्लो तहमा बसेकाले पनि दोषको भाग वहन गर्नुपर्छ । अझैपनि पार्टीमा कार्यकर्ताको सही मूल्यांकन भएको छैन ।

कांग्रेसले धेरै काम गरेको भनेको छ तर निर्वाचनमा ती कुरा किन लान सकेन ?
समस्या नै यही हो कांग्रेसको । अरु पार्टी थोरै काम गर्छन् प्रचारको शैली अचम्मको हुन्छ । सबै काम हामीले नै गरेका हौं भन्छन् , आफूले गरेका काम ग¥यौं भने कुनै आपत्ति हुँदैनथ्यो तर कांग्रेसले गरेका राम्रा काममा पनि जस लिन खोज्ने उनीहरुको परिपार्टी गलत छ । हामीले जे ग¥यौं त्यहीमात्र भन्यौं । संविधान ल्याउने काम पनि कांग्रेसले गरेको हो ।

कम्युनिस्टका कति सरकार बने खोई त संविधान ? जनताको प्रश्न थियोे यो तर सुशील कोइरालाका नेतृत्वले संविधान बनायो यो कुरा पनि जनतामा भन्न सकेनौं । ओलीले चर्को राष्ट्रवादको कुरा गरे, होला कि भनेर पनि जनतामा भ्रम पैदा भयो । वास्तविकता अहिले देखिँदैछ । अहिले राष्ट्र र राष्ट्रियता कमजोर भएको छ । राष्ट्रमाथि अनेक प्रश्न उठ्दा पनि सरकार मौन छ । नेपाली भूमि मिचिएको छ । सरकारले भारत र चीनसँग सुमधुर सम्बन्ध स्थापित गरेको भन्दै आएको छ तर भारतले गरेको अतिक्रमणको शिकारबाट मुक्त हुन सकेको छैन । अर्काले भनेको मान्ने र आफ्नो बुद्धिलाई बन्धकी राख्ने सरकारको चाला पक्कैपनि जनताको र देशको पक्षमा छैन ।

संसदमा कांग्रेसको भूमिका कमजोर भयो भनिन्छ नि ?
यस्ता प्रश्न उठ्नु अस्वभाविक होइन किनभने हामी त्यति उग्र भएका छैनौं । हामी पनि शान्ति ,समृद्धि र बिकास चाहन्छौं । नेकपाका योजना कार्यान्वयन होउन्, माओवादीले भनेजस्तो नयाँ नेपाल बनोस् भन्ने हो तर भइरहेको नेपाल पनि बिगे्रला कि भन्ने चिन्ता छ ।

प्रतिक्रिया दिनुहोस्