टिमुरबाट तेल प्रशोधन, लाख रुपियाँ किलोमा बिक्न थालेपछि किसान दंग



सरिता चलाउने, सल्यान
टिमुर उत्पादनमा वृद्धि भएपछि जिल्लामा उद्योग नै स्थापना गरी तेल प्रशोधन गर्न थालिएको छ। तीन वर्षदेखि स्थानीय शारदा नगरपालिका–१५ मा सञ्चालन हुँदै आएको माँ लक्ष्मी हर्बल उद्योगले टिमुरलाई प्रशोधन गरी तेल उत्पादन गर्न थालेको हो।

टिमुरबाट प्रशोधन गरिएको तेल गत वर्ष प्रतिकिलो १० हजारदेखि १३ हजार रुपियाँसम्मका दरले बिक्री गरेको उद्योग सञ्चालक हरिप्रसाद न्यौपानेले जानकारी दिनुभयो। गत वर्ष ६ सय किलो टिमुरको तेल प्रशोधन गरिएको बताउँदै उहाँले यस वर्ष तेलको माग बढेपछि १ हजार ३ सय किलोसम्म तेल प्रशोधन गर्ने तयारी रहेको जानकारी दिनुभयो। यस वर्ष टिमुरको तेलको मूल्य वृद्धि भई प्रतिकिलो १७ हजार पुगेको उहाँको भनाइ छ।

जिल्लमा उत्पादित टिमुरको तेल काठमाडौंसम्म निर्यात हुने गरेको छ। न्यौपानेले यस वर्ष करिब चार सय किलो टिमुरको तेल काठमाडांै पठाइसकेको जानकारी दिनुभयो।

टिमुर खेतीबाट आम्दानी पनि राम्रो हुने र बजार पनि राम्रो पाउन थालेपछि यहाँका किसान टिमुर खेतीतर्फ आकर्षित भएका छन्। सल्यान जिल्लालाई टिमुरको पकेट क्षेत्रको रुपमा लिने गरिन्छ। आफूले उद्योग शुरू गर्दा सोचे जति आम्दानी लिन सकिँदैन कि भनेर चिन्ता भए पनि तीन वर्षभित्रै राम्रै आम्दानी भएको उहाँले बताउनुभयो। ‘हामीले जिल्लाका विभिन्न स्थानबाट टिमुर संकलन गरी उद्योगमा ल्याउने गरेका छौं’, उहाँले भन्नुभयो–‘एक क्विन्टल टिमुरबाट चार किलोसम्म तेल प्रशोधन गर्न सकिन्छ।’ आफ्नोे उद्योगमा सबैभन्दा बढी छत्रेश्वरी गाउँपालिकाबाट टिमुर आउने गरेको जानकारी दिँदै उहाँले भन्नुभयो–‘स्थानीय व्यापारी र वनस्पति कार्यालय कपुरकोटसँग समन्वय गरेर टिमुर खरिद गर्दै आएका छौं।

’ टिमुर तेललाई औषधिको रुपमा प्रयोग गरिने भएकाले यसको माग बढिरहेको उहाँले बताउनुभयो। टिमुर खेतीका लागि किसान व्यक्तिगत र सामूहिक रुपमै लागेको जिल्ला डिभिजन वन कार्यालय सल्यानका नायब सुब्वा टोपेन्द्रबहादुर थापाले जानकारी दिनुभयो। उहाँले भन्नुभयो–‘जिल्लाबाट हालसम्म १ लाख ९८ हजार ९ सय ५० किलो टिमुर निकासी भइसकेको र अझै २० देखि २५ प्रतिशतसम्म टिमर निकासी हुन बाँकी रहेको छ। ’ आव २०७४÷७५ मा सल्यानबाट ४० करोड रुपियाँको टिमुर निर्यात भएको डिभिजन वन अधिकृत थिरबहादुर कार्कीले बताउनुभयो।

एकपटक रोपिसकेपछि टिमुरबाट धेरै वर्षसम्म फल लिन सकिने र बजार पनि राम्रो भएकाले नांगा डाँडापाखा खोल्सामा खेती गरेर आम्दानीको स्रोत बढाउन सकिने भएकाले पनि किसानको आर्कषण बढिरहेको छ। जडिबुटी व्यवसायी संघ जिल्ला शाखा सल्यानका महासचिव हरि न्यौपानेका अनुसार गत वर्षदेखि टिमुरले राम्रो मूल्य पाइरहेको छ। गत वर्षको अन्तिमतिर एक लाख रुपियाँ प्रतिक्विन्टलसम्म टिमुर बिक्री भएको बताउँदै यस वर्षका शुरूमै ७५ हजार रुपियाँसम्म बिक्री हुँदै आइरहेको जानकारी दिनुभयो। टिमुर विदेशमा समेत निर्यात हुन थालेपछि सल्यानका किसानले भिरालो तथा बाँझो जग्गामा व्यावसायिक टिमुर खेती गर्न शुरू गरेका छन्।

गत वर्षमात्रै आफू १ लाख ५० हजार रुपियाँ बढीको टिमुर बिक्री गरेको स्थानीय बन्गाड कुपिण्डे नगरपालिका–८ सेराका वीरबहादुर बुढाथोकीले बताउनुभयो। उहाँको छिमेकी झुपकली खडकाले पाँच लाख आम्दानी भएको भन्दै टिमुरको आम्दानीबाट परिवार पाल्नसमेत सहज भएको बताउनुभयो। उहाँले भन्नुभयो–‘मेरो जग्गामा अहिले सयभन्दा बढी टिमुरका बोट छन्। मैले व्यावसायिक रूपमा मैले टिमुर खेती गर्दै आएकी छु।’

प्रतिक्रिया दिनुहोस्