कृषि, पर्यटन, शिक्षा क्षेत्रमा लगानी गर्न आग्रह



नेपाल समाचारपत्र
इलाम
प्रधानमन्त्री केपी शर्मा ओलीले इलामका हरेक क्षेत्रमा लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभएको छ। शुक्रबार आयोजित लगानी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले बहुजाति, बहुभाषिक, बहुसांस्कृतिकले भरिएको इलाम जिल्लामा कृषि, पर्यटन, शिक्षालगायतका क्षेत्रमा ढुक्कका साथ लगानी गरे लगानी नडुब्ने हुँदा इलाममा लगानी गरेर धन कमाउन आग्रह गर्नुभयो।

‘उद्योगी व्यवसायीले इलाममा लगानी गर्दा डुबिन्छ भन्ने चिन्ता नगर्नुहोस्’ ओलीले भन्नुभयो–‘समय परिवर्त भइसकेको यहाँको हरेक चिजमा लगानी गर्दा प्रतिफल राम्रो हुन्छ। चियाको शुरूवात भएको जिल्लाले थुप्रै कुरालाई अगाडि बढाएको छ,’ ओलीले भन्नुभयो–‘विदेशी बजारमा नेपाली उत्पादन पुर्याउने काम इलामले गरिरहेकाले लगानी गर्न नडराए हुन्छ।’ हरेक वस्तुको उत्पादन बढाएर भारतीय मात्र नभएर अन्तर्राष्ट्रिय बजारमा पनि इलामबाट उत्पादित वस्तु बढीभन्दा बढी मात्रामा निर्यात गर्न इलामबासीलाई आग्रह गर्नुभयो। सरकार सुशासन, आर्थिक विकास र देश विकासमा लागेको भन्दै कृषि क्षेत्र, औद्योगीकरण र यातायातको क्षेत्रमा आधुनिकीकरण गर्नेतर्फ सरकार अग्रसर भएको भन्दै प्रधानमन्त्री ओलीले मुलुक हरेक दिन एक कदम अघि बढिरहेकाले सरकारले विकास निर्माण कायापलट नै गरिसकेको दाबी गर्नुभयो।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, संविधानसभाका पूर्वअध्यक्ष सुवासचन्द्र नेम्वाङ, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईसहितको सहभागिता रहेको थियो। कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले लगानी सम्मेलन आर्थिक क्रान्तिको प्रयास भएको बताउनुभयो। उहाँले यसलाई निरन्तरता दिन जोड दिँदै इलाम जिल्ला लगानी गर्नका लागि सम्भावना बोकेको जिल्ला भएकाले निजी क्षेत्रको तर्फबाट यहाँ लगानी गर्नका लागि सक्दो सहयोग पुर्याउने आश्वसन दिनुभयो। इलाम नगरपालिकाका मेयर महेश बस्नेतले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै जिल्लामा चिया, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य क्षेत्र र जडीबुटीका क्षेत्रमा लगानीका लागि पहिचान गरिएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्