धादिङका पहिलो आधुनिक गायक वीरेन्द्र



विभिन्न विधाका कलाकारलाई जन्माउने धादिङले त्यहाँकै पहिलो आधुनिक गायक पनि जन्माएको छ। उनी हुन् वीरेन्द्र गुरुङ।

धादिङको पहिलो आधुनिक गायक बन्ने श्रेय पाएका उनले २०५७ सालमा रेडियो नेपालबाट आधुनिक गायनमा भ्वाइस टेस्ट गरेका थिए भने २०५८ सालमा प्रित नामक एल्बम निकालेर संगीत क्षेत्रमा पाइला अगाडि बढाएका थिए। साहित्यकार तथा सञ्चारकर्मी डा. नवराज लम्सालको प्रेरणाले आफू संगीतमा लागेको बताउने उनले लम्सालकै शब्द र रत्न श्रेष्ठको संगीतमा झुमौं झुमौं लाग्यो बोलको गीत रेकर्ड गरेका थिए। ‘त्यो गीत सुन्दा आफै दंग हुन्थें।

राति बत्ती निभाएर पनि सुनिरहन्थें। मेरो पनि भ्वाइस यस्तो रहेछ भन्ने लाग्थ्यो र त्यसपछि मैले क्लासिकल बेसमा म्युजिक क्लास लिन थालें’, वीरेन्द्रले सुनाए– ‘त्यसपछि मिरा राणा, प्रकाश गुरुङजस्ता संगीतकारबाट संगीत सिकें भने गुरुदेव कामतसँग करिब ६ साल शास्त्रीय संगीत सिकें। त्यसकै ज्ञानले गायन क्षेत्रमा अगाडि बढ्न सरल हुँदै गयो।’

२०६२ सालमा रीत नामक दोस्रो एल्बम निकालेका ४० वर्षीय वीरेन्द्रले त्यस एल्बमका लागि राजु सिंह, शिलाबहादुर मोक्तान, सचिन सिंहलगायतका संगीतकारहरुको संगीतमा गीत गाए। पहिलो एल्बमका न्ह्यु वज्राचार्य, यशकुमारसँग काम गरेका उनले २०६४ सालमा भने आफ्नै एकल संगीत र गोपाल गोलेको शब्द लिएर अर्को एल्बम निकाले। जसमा गायिकाहरु माण्डवी त्रिपाठी, रीमा गुरुङ होडालगायतले स्वर दिएका थिए।

काठमाडौंमा दुई होटलका म्यानेजर रहेका वीरेन्द्र भन्दै थिए– ‘एकै ठाउँमा बस्नै नसक्ने मैले त्यसपछि इराक, अफगानिस्तान, ओमनलगायतका देशमा गएर होटल लाइनमै काम गर्न थालें।’

‘संगीतमा लाग्दा लाग्दै म विदेश यात्रामा लागेका कारण संगीत क्षेत्रमा ग्याप रहन गयो। खासमा म राजु लामा, कर्णदास आदि गायकहरुसँग प्रोग्रामका लागि दुबई गएको थिएँ। मेरा दाइहरु दुवैमा बस्ने भएकाले मलाई पनि त्यहीं बसेर काम गर्नुपर्छ भनेर राख्नुभयो। त्यहाँ होटल म्यानेजरका रूपमा काम गर्न थालें। तर त्यहाँ ३ महिना पनि टिकिनँ’, काठमाडौंमा दुई होटलका म्यानेजर रहेको वीरेन्द्र भन्दै थिए– ‘एकै ठाउँमा बस्नै नसक्ने मैले त्यसपछि इराक, अफगानिस्तान, ओमनलगायतका देशमा गएर होटल लाइनमै काम गर्न थालें। केही समयअघि पनि म युरोप टुरमा गएको थिएँ। त्यहाँ गएपछि कार्यक्रमहरु पनि पाइयो र संगीतकै सिलसिलामा उतै केही समय बसियो भने पोर्चुगलमा एकल साँझ पनि गरें। बेल्जियममा ३ वटा कार्यक्रम गरें।’

अहिले पनि गीतका लागि तयारी गरिरहेको उनले बताए। धादिङकै युवा गीतकार सुरेश नेपालले लेखेको हरेक साँझ बोलको गीत उनले पछिल्लोपटक गाएको गीत हो भने यसको म्युजिक भिडियो पनि तयार भइसकेको छ। हालैमात्र पनि उनले ज्यानै दिन्छु बोलको गीत सार्वजनिक गरेका छन्। जसमा संगीत र स्वर उनकै रहेको छ।

प्लस टुसम्मको अध्ययन गरेका उनी विभिन्न देशका होटलमा होटल म्यानेजरका रूपमा काम गर्दै गर्दा संगीतका लामो ग्याप भए पनि संगीतप्रति आफ्नो मोह सधंै रहेको बताउँछन्। ‘गीत गाउनु मेरो सोखको विषय हो। गीत गाउन थालेको डेढ÷दुई दशक भए पनि हाल गीत संगीतमा स्ट्रगल नै गरिरहेको छुु।’ –उनी भन्छन्।

धादिङ कटुन्जेमा जन्मिएका उनी आफू फेरि संगीतमा आउनुको श्रेयचाहिँ गीतकार सुरेश सेन सिंखडालाई दिन्छन्। ‘सुरेश भाइले दाइ तपाईंमा केही छ। मेरो गीत गाउनुस्, म लगानी गर्छु भन्नुभएको थियो। उहाँकै प्रेरणाले म फेरि संगीतमा अँएको छु। हामीले एक साँझ पिइरहेको बेला हरेक साँझ पिउने बानी बस्यो मति बिग्रेपछि भन्ने गीत बनायांै र साथीभाइबीच सल्लाह गरी यो गीत रेकर्ड गरेर भिडियो सार्वजनिक गयौं, जुन गीत अहिले राम्रो चलिरहेको छ।’ –वीरेन्द्रले भने।

वनको बाघले होइन, हेलम्बु डुप्चे गाउँ मेरो, नगाँस्नु थियो गाँस्यो माया, हरेक साँझ, ज्यानै दिन्छु भन्नेजस्ता गीतहरु गाएका उनले हालसम्म करिब ५ दर्जन गीतमा स्वर दिएका छन्। आफ्ना लागि नेपालमा राम्रो बजार नभएका कारण विदेशमा कार्यक्रमका लागि जानुपर्ने बाध्यता रहेको उनी बताउँछन्। ‘नेपालमा लाखौं लाख खर्च गरेर गीत र भिडियो बनाए पनि यहाँ कमाइ हँुदैन त्यसकारण विदेशमा गएर कार्यक्रम गरिन्छ। तर विदेशमा गएपछि आधुनिक गायक भनेर हुँदैन, आधुनिकदेखि लिएर दोहोरी, सालैजोे, फिल्मी, गजल हरेक किसिमका गीत गाउनुपर्छ।’ –उनी भन्छन्।

सामाजिक सेवामा पनि सक्रिय रहेका वीरेन्द्रले गीत–संगीतमा लागेबापत विभिन्न संघसंस्थाबाट सम्मान पाएका छन् भने धादिङ कलाकार संघबाट तथा राष्ट्रिय दोहोरी प्रतिष्ठानबाट धादिङको पहिलो आधुनिक गायकका रूपमा सम्मानित भएका छन्।

 

प्रतिक्रिया दिनुहोस्