रेशम फिलिलि



एक नाले बन्दुक, दुई नाले बन्दुक मृगलाई ताकेको । मृगलाई उनले ताकेको हैन, संसदलाई ताकेको । संसद मात्रै होइन उनले मन्त्री पद नै ताकेको, रेशम फिलिलि…रेशम फिलिलि…।

विहिवार दिउँसो सिंहदरवारको दृश्य देख्दा धरहरालाई यस्तै गीत फु¥यो । दुईतिहाई बहुमत प्राप्त भनिएको ओली सरकार कति धरमर रैछ भन्ने कुरा अब लुकाएर नलुक्ने भो । सरकार दुई तिहाईको बहुमतको हैन सरकारलाई त दुई तिहाईको ‘दम रोग’ पो लाग्या रैछ । हैन भने त हत्या आरोपमा जेलमा रहेका कैलाली–१का सांसद रेशम चौधरीको मुद्धा टुङ्गो लाग्न नपाउँदै चौधरीले संसदको सपथ लिनुको ‘गुदी’ कुरो यही हैन र भन्या ?

चौधरी अब बैधानिक रुपमा सांसद भए तर उनी मन्त्री पनि भए भने अनौठो नमाने हुन्छ । दम रोग लाग्या सरकारलाई दमदार बनाउन चौधरी मन्त्रीपरिषद्मा ढिलो छिटो अटाउँछन्, आखिर जेल बसेपछि राजनीतिक प्रोफाइल त्यसै ह्वात्तै बढ्छ क्यार । अहिलेका चल्तीका नेता ऊ बेलाको जेलको प्रसङ जोडेर आफ्नो प्रोफाइल बढाइ राख्या छन् भने चौधरी चाहिँ किन पछि पर्ने ?
रेशम फिलिलि……रेशम फिलिलि…।

प्रतिक्रिया दिनुहोस्