प्लास्टिक प्रतिबन्ध होइन व्यवस्थित गर



आजकाल प्लास्टिकजन्य वस्तुको प्रयोग अत्यधिक हुने गरेको छ । दैनिक आवश्यकताका वस्तुहरु दूध, तेल, तयारी खाद्यपदार्थहरु यही प्लास्टिकमा प्याकिङ भएर आउँछन् । बिरामीका लागि प्लास्टिकमै प्याकिङ भएको रगत एक ठाउँबाट अर्को ठाउँमा पु¥याइन्छ । अहिलेको जमानामा प्लास्टिकरहित जीवनयापन नै असम्भवजस्तै भइसकेको छ । त्यसैले यसको महत्व अतुलनीय हुँदै गएको छ । तर प्रयोग गरिसकेपछि यस्ता प्लास्टिकजन्य वस्तुहरु जथाभावी फाल्नाले वातावरण प्रदूषित हुँदै गएको नकार्न सकिँदैन ।

त्यसैले सरकारले केही वर्षअगाडि काठमाडौंमा प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध नै लगाएको थियो । प्लास्टिकबाट वातावरणमा पर्ने असरलाई न्यून गर्न सरकारले यो कदम उठाएको थियो तर विनायोजना र विनापूर्वतयारी सरकारले गरेको यो निर्णय पूर्णरुपमा कार्यान्वयन हुन सकेन । त्यस बेला नेपालभर प्लास्टिक झोला उत्पादन गर्ने झन्डै ३ सय उद्योग बन्द हुने स्थितिमा पुगे भने प्लास्टिकको झोला प्रयोगकर्ताहरुका लागि पनि वैकल्पिक उपाय भएन ।

एकातिर प्लास्टिक उद्योगका लगानीकर्ता एवम् कर्जा उपलब्ध गराउने बैंकहरु नै डुब्ने स्थितिमा पुगे भने अर्कातिर यसको विकल्प नहुँदा प्रयोगकर्ताहरु मारमा परे । त्यसैले त्यस बेला सरकारको प्लास्टिक प्रतिबन्ध गर्ने निर्णय त्यत्तिकै तुहियो ।

अहिले वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जमा प्लास्टिकका झोला र प्लास्टिकजन्य सामग्री प्रयोगलाई प्रतिबन्ध गरेको समाचार छ । मन्त्रालय, निकुञ्ज, मध्यवर्ती क्षेत्र र राष्ट्रिय÷अन्तर्राष्ट्रिय संरक्षण साझेदार संघसंस्थाको संयुक्त पहलमा विश्वसम्पदा सूचीमा सूचीकृत निकुञ्ज प्लास्टिक मुक्त घोषणा भएको हो । सबै किसिमका प्लास्टिकका झोला प्रवेश र प्रयोगमा प्रतिबन्ध लगाइएको र पानीसहित अन्य खाद्यान्नका प्याकेट प्रयोग गरेपछि तोकिएको ठाउँमा विसर्जन गर्न अनिवार्य गरिएको जनाइएको छ ।

निकुञ्जमा गरिएको प्लास्टिक प्रतिबन्ध कार्यान्वयन हुन सक्यो भने यसलाई सराहनीय कार्य भन्नै पर्छ । यसअघि सगरमाथा, शिवपुरी, नागार्जुन राष्ट्रिय निकुञ्जजस्ता संरिक्षत क्षेत्रमा पनि प्लास्टिकका झोला र सामग्री प्रयोगमा कडाइ गरिएको थियो तर यो अभियान पूर्णरुपमा सफल बन्न सकेको छैन । त्यसैले प्रयोगमै प्रतिबन्ध लगाउनुभन्दा प्रयोगपछि यसलाई व्यवस्थित गर्नु बढी उपयुक्त ठहर्छ । दीर्घकालीनरुपमा समस्या समाधान हुन्छ ।

हो, प्लास्टिक बाल्दा विषालु ग्यास उत्सर्जन हुन्छ । प्लास्टिक लामो समयसम्म सड्दैन र गल्दैन पनि । यसले पक्कै पनि प्रदूषण बढाउँछ । तर सगरमाथा निकुञ्जमा प्लास्टिक र अन्य फोहोरमैला संकलन अभियानलाई निरन्तरता दिए पनि अन्यत्रका संरक्षण क्षेत्रमा यस्तो अभियान प्रभावकारी बन्न सकेको छैन ।

त्यसैले प्लास्टिक उद्योग र उपभोक्तामै प्रभाव पर्ने गरी प्लास्टिक झोलाको प्रयोगमा प्रतिबन्ध लगाउनुभन्दा प्रयोगमा आएका प्लास्टिक झोलाको व्यवस्थापन गर्नु नै बढी बुद्धिमानी ठहर्छ । सही ढंगले उपयोग गरी रिसाइक्लिङ गर्ने हो भने यसबाट अधिकतम लाभ पनि लिन सकिन्छ । त्यसैले प्लास्टिक प्रतिबन्ध गर्नुभन्दा यसको व्यवस्थापन पक्षमा ध्यान पु¥याइयोस् ।

प्रतिक्रिया दिनुहोस्