सुप विश्वविद्यालयः उपकुलपति र रजिष्ट्रारको कस्तो नियत ? रातारात किन प्रकाशित गरियो परिक्षाफल ?



मनोज भट्ट, महेन्द्रनगर ।
सुदूर पश्चिमाञ्चल विश्वविद्यालयलाई उपकुलपति भूषण श्रेष्ठ र रजिष्ट्रार द्धिजराज भट्टले कमाई खाने भाँडोका रुपमा प्रयोग गर्दै आएका छन् । सम्पर्क कार्यालय काठमाडौंमा नै बसेर सुदूर पश्चिमाञ्चल विश्वविद्यालयका नाममा वार्षीक करोडौं रकम अनियमितता गरेका तथ्यहरु फेलापर्न थालेका छन् ।

वर्ष भरि काठमाडौंको चहल पहलमा बसि राजनीतिक लविङ्गमा मात्रै सक्रिय रहेका उपकुलपति श्रेष्ठ र रजिष्ट्रार भट्टले विश्वविद्यालयलाई पैतृक सम्पति वा दाइजोको सम्पतिका जसरी कुम्ल्याउदै आएको जनगुनासो बढ्न थालेको छ । विभिन्न शीर्षकहरु झिक्दै भएभरको रकम स्वाँहा पारिरहेको तथ्याङ्कमा देखिएको छ ।

एकै दिनमा मुख्यमन्त्री संगको भेटघाटपछि काठमाडौं ‘यू–टर्न’

आज सम्मको सम्पुर्ण विवरण तथा तथ्याङ्क हेर्दा कहिले भ्रमण शीर्षकमा, कहिले इन्धन शीर्षक, कहिले पाठ्क्रम शीर्षक, कहिले दीक्षान्त शीर्षक, कहिले कानुनी, कहिले शैक्षिक कार्यक्रमहरुको सम्बन्धन दिने वाहानामा र कहिले ठेकेदार संग मिलोमतो गरि ठुलो मात्रामा आर्थिक चलखेल गरि करोडौंको ढुकुटी हिनामिना गरेका प्रशस्त कुराहरुको तथ्य खुल्न आएको छ ।

प्रिन्सिपल डा. भुपेन्द्र बिष्टले अवैध तरिकाबाट रातारात २८ जना शिक्षक तथा कर्मचारी नियुक्ति गरेको भन्दै प्राध्यापकहरुले समेत आन्दोलनका कार्यक्रम घोषणा गरि सुदूर पश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र समेत बुझाएका थिए ।

विश्वविद्यालयको बेथिती बारे ज्ञापनपत्रमा प्रष्ट पारिएको थियो, जसमा उपकुलपति र रजिष्ट्रारले समेत आफ्नो काम कर्तव्य र उत्तरदायित्व बोध नगरेको कुरा खुलाइएको थियो ।

मुख्यमन्त्री भट्टलाई ज्ञापनपत्र बुझाए पश्चात् भट्टले तत्काल उपकुलपति श्रेष्ठ र रजिष्ट्रार भट्टलाई फोन गर्दै विश्वविद्यालयको अवस्था बारे स्पष्टिकरण दिन आग्रह गरेका थिए । त्यतिबेला आफुहरु काठमाण्डौंमा विश्वविद्यालयको काममै व्यस्त रहेको कुरा जानकारी गराएको स्रोतले बताएको छ । तर आफुहरु छिट्टै केन्दीय कार्यालय महेन्द्रनगर आएर सबै समस्याको सामाधान खोज्ने जनाएको उक्त स्रोतको दाबी छ ।

सोमबार बेलुका केन्द्रीय कार्यालय महेन्द्रनगर पुगेका उपकुलपति श्रेष्ठ र रजिष्ट्रार द्धिजराज भट्टले रातारात नै कार्यकारी समितिको बैठक बसाएर एकै दिनमा पाँच सेमेस्टरको परिक्षाफल प्रकाशित गरेका छन् । रातारातको निर्णय अनुसार बिबिएस तेस्रो बर्ष, बिबिए सातौं सेमेस्टर, बिए सातौं सेमेस्टर, बिबिए पाँचौं सेमेस्टर र बिए पाँचौं सेमेस्टरको नतिजा प्रकाशित गरेका हुन् ।

विश्वविद्यालयको कामले एक दिन केन्द्रीय कार्यालय महेन्द्रनगरमा बसेका उपकुलपति श्रेष्ठ र रजिष्ट्रार भट्टले अब पुस महिनाको पनि १४ दिन विश्वविद्यालयको भ्रमण तथा काममा रहेको भन्दै लाखौं भत्ता पचाउने पक्का छ । जो उनिहरुको बर्षौ देखि चल्दै आएको सिस्टम नै बनेको छ ।

पाँच सेमेस्टरको नतिजा प्रकाशित गरेर उपकुलपति श्रेष्ठ र रजिष्ट्रार भट्ट मुख्यमन्त्रीलाई भेटेर बुधवार बिहान नै काठमाडौं पुगेका छन् । विश्वविद्यालयका पछिल्लो अवस्थाका बारेमा हामीले उपकुलपति र रजिष्ट्रार संग बुझ्न खोज्दा फोन सम्पर्कमा आएर पनि हाम्रो प्रश्नमा कुनै प्रतिक्रिया नै जनाएनन् । नाजवाफ भए ।

विश्वविद्यालयको सबैभन्दा ठुलो जिम्मेवार पदमा रहेर समेत जवाफदेहि नबन्नु आफैमा भ्रष्टको नियत देखाउनु जस्तै हुने विज्ञहरुको विश्लेषण छ । लाखौं रकमको हिनामिना तथा अनियमितता गरेर विश्वविद्यालयलाई आफ्नो पेवा ठानेका उनिहरुले पछिल्लो समय विश्वविद्यालयलाई विश्व इतिहासमा कलंकित बनाउदै छन् ।

प्रतिक्रिया दिनुहोस्