लोक–संस्कृति जोगाऊँ



नेपाली समाजमा आधुनिकता भित्रिएसँगै लोकसंस्कृति बोकेका परम्पराहरु संकटमा पर्न थालेका छन् । उदाउँदो युवापुस्ता लोक–संस्कृतिप्रति गैरजिम्मेवार बन्दै जाँदा हाम्रा मौलिक गाथा बोकेका संस्कृति लोप हुने अवस्थामा पुगेका हुन् । यति मात्रै होइन, नेपाली समाजमा पाश्चात्य संगीतको प्रवेश भएसँगै स्थानीय स्रोत–साधनको प्रयोग गरेर निर्माण गरिएका बाजा पनि लोप हुने संघारमा पुगेका छन् ।

नेपाली लोक संगीत र संस्कृतिले हाम्रो पहिचान झल्काउने काम गरेका हुन्छन् । जसलाई हेर्नको लागि विदेशी पर्यटक हरेक वर्ष नेपाल भ्रमणमा आउने गरेका छन् । विश्वसामु नेपालीको पहिचान दिलाउने लोक–संस्कृति र संगीत लोप हुन थालेपछि हाम्रो पहिचान संकटमा पर्न थालेको छ । पर्यटकलाई मनोरञ्जनका साथै नेपाली पहिचानको बारेमा जानकारी दिनको लागि हाम्रो लोक–संस्कृतिले ठूलो भूमिका खेलेका हुन्छन् । हाम्रा लोक–संस्कृति, ऐतिहासिक परम्परा र लोक संगीत नै संकटमा पर्न थालेपछि सर्वत्र चासो र चिन्ता छाउन थालेको छ ।

नेपाल लोक–संस्कृतिको धनी मुलुक हो । नेपाली लोक–संस्कृतिको छुट्टै पहिचान र महत्व रहेको छ । त्यसैले लोक–संस्कृतिको दृष्टिले नेपाल संसारकै धनी हो । तर, पछिल्लो समय लोकगीतमा समेत छाडापन भित्रिएको छ । लोकगीतको आफ्नै मौलिकता रहेको छ । त्यसैले यसलाई कसैले भुल्न हुँदैन । लोक–संस्कृतिको जगेर्नाको लागि सबै नेपाली एकजुट भएर लाग्नुपर्छ । युवापुस्ता पाश्चात्य गीत÷संगीतको प्रभावमा पर्नु र पुरानो पुस्ताले सीप हस्तान्तरण गर्न नसक्नुले हाम्रा लोक–संस्कृति र संगीत लोप हुँदै छन् ।

नेपाली मौलिक संस्कृतिलाई विदेशी संस्कृतिको प्रभावले बिस्तारै ओझेलमा पार्न थालेको छ । हाम्रो पहिचान बोकेका यानीमाया, ख्याली, सालैजोजस्ता गीत अहिले मेला महोत्सवमा सांस्कृतिक झाँकीका रुपमा मात्र देख्न सकिन्छ । उदाहरणको लागि बडिगाड गाउँपालिकाको पहिचानको रुपमा रहेको हम्फै नाच संकटमा परेको छ भने बागलुङ बजारमा नाचिने बास्सा नाच पनि अहिले किताबको पानामा इतिहास बनेको छ ।

बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक हाम्रो देशमा फरक–फरक धर्म अंँगाल्ने धर्मावलम्बीका फरक–फरक पर्व तथा परम्परा छन् । धर्म संस्कृतिमा विविधता एवं धार्मिक तथा सामाजिक सहिष्णुता नेपाल र नेपालीका विशेषता हुन् । संस्कृति समाजका ऐना हुन् । समाजको पहिचान संस्कृतिले बोकेको हुन्छ र त्यही संस्कृतिमै सभ्यता र पुर्खाको इतिहास मिसिएको हुन्छ । सभ्य र सचेत समाजमा संस्कृतिका नकारात्मक पक्षलाई परिमार्जन गर्दै लगेको पाइन्छ । तर पछिल्लो समय नेपालको मौलिक संस्कृति र पहिचानमा गम्भीर असर गरेको छ ।

अहिलेको पुस्ता रोजागारी र अध्ययनका लागि शहर तथा विदेशमा बस्छ । यसकारण अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई राम्रोसँंग संस्कृति हस्तान्तरण गर्न पाएन । पछिल्लो पुस्ताले विदेशी संस्कृतिको देखासिकी गर्ने गरेको छ । संस्कृतिको संरक्षण गर्नु सचेत नागरिकको कर्तव्य हो । देखासिकीको नाममा पश्चिमेली संस्कृतिको अनुशरण गर्दा हाम्रो पहिचान बोकेका संस्कृति इतिहासमा सीमित हुने अवस्थामा पुगेका छन् । अब पहिचान जोगाउन संस्कृतिको संरक्षणमा जुट्नुपर्छ ।
– सीता मगर, लमजुङ ।

कर्मचारी समायोजनमा लफडा
कर्मचारी समायोजन अध्यादेशले एकपटक देशभरका कर्मचारीमा अर्को तरंग ल्याइदिएको छ । अध्यादेशले निजामती कर्मचारी र स्थानीय तहका कर्मचारीबीच विभेद भयो भन्दै आन्दोलन शुरु भयो । स्थानीय तहका कर्मचारीले आफूहरु पनि सरुवा भएर संघ र प्रदेश तहमा जान पाउनुपर्ने, बढुवा प्रक्रियामा आफूहरु पनि समावेश हुन पाउनुपर्नेलगायतका माग राखे ।

राज्य व्यवस्था समितिको छलफलपछि सोझै सरकराले मन्त्री परिषद्बाट पारित गरेर राष्ट्रपतिकोमा पठाएपछि यो सुटुक्कै पास भयो । सरकारले आष्फ्नो निर्णयसमेत साता दिनसम्म लुकायो । कानुन बनाउनका लागि जनताले सांसद चुनेर पठाएका छन् । तर संसद्लाई थाहै नदिई अध्यादेशमार्फत कानुन ल्याएर फेरि एकपटक देशभर आन्दोलनको बीउ रोपेको छ । यो विषयले फेरि एकपटक सरकारलाई अप्ठ्यारो पार्ने सम्भावना देखिएको छ ।

चरणबद्ध आन्दोलन भैरहेपछि फेरि सरकारले पछाडि फर्केर सबै कर्मचारीलाई समानरुपमा बढुवाको अवसर दिनका लागि कानुन संशोधन गर्नुपर्ने देखिन्छ । स्थानीय तहमा कार्यरत अधिकांश कर्मचारी वर्तमान नेकपा निकट संगठनका छन् । उनीहरुकै स्थानीय सरकार छ । प्रदेश र केन्द्र सरकारसमेत आफ्नै राजनीतिक आस्थाकै भएको बेला सरकारले बेवास्ता गरेको आरोप लागेका कर्मचारी आन्दोलनमा उत्रने अवस्था ल्याउनु राम्रो पक्ष होइन । अन्य कारणले बिबादमा आएको सरकारले कर्मचारीको पनि आरोप खेप्नुपर्ने अवस्था जानी–जानी आएको छ ।

त्यसो त स्थानीय तहका कर्मचारीले बीसौं वर्षसम्म नगरपालिका र तत्कालीन जिविसमा बसेर हालिमुहाली गरेकै हुन् । उनीहरु राजनीतिक आस्थाकै भरमा छिरेका पनि हुन् । तर तोकिएको शैक्षिक योग्यता पुगेकोले स्थायी वा अस्थायी रुपमा भर्ना गरिएपछि उनीहरुलाई पनि कर्मचारीकै व्यवहार गरिनुपर्नेमा नगरिनु पनि विभेद भयो ।

जागिर खाने समय सकियो, जीवनभर सरकारी काम गरिसकेर बसेपछि उनीहरुले पनि बढुवाको अवसर पाउनु पर्ने नै हो । सरुवा भएर जाने व्यवस्था गरिदिएमा जडसुत्रवादी भएर बसेका कर्मचारीले छाडेर स्थानीय तहमा सुधार पनि आउने पक्का छ । तर सरकारले फेरि उनीहरुलाई पुरानै स्थानमा बढुवासमेत नगरी बसाल्ने कानुन ल्याएपछि हाम्रा स्थानीय तहको सुधार हुने सम्भावना कम भयो ।

नयाँ गठन भएका स्थानीय तहहरु अगाडि बढिसक्दा पनि पुराना नगरपालिकाहरुले प्रगति गर्न नसक्नुमा राजनीतिक नेतृत्वसँगै कर्मचारीतन्त्र पनि असफल भएको हो भन्ने कुरा बुझ्न सकियो भने मात्र विकासमा अगाडि बढ्न सकिन्छ । वर्षौंदेखिको हालिमुहाली अन्त्य गर्न पनि सरकारले स्थानीय तहका कर्मचारीलाई समेत सरुवा भएर जाने, बढुवा हुन पाउने व्यवस्था गरिदिम्दा राम्रो होला । नत्र पराजित मानसिकताले नगरपालिकामा बस्ने कर्मचारीबाट समृद्धिको पक्षमा काम गर्ने अवस्था आउनेछैन । त्यसबाट जनप्रतिनिधि बनेकाहरुले पनि बेफाइदा मात्र भोग्नुपर्ने देखिन्छ । यो विषय सहजरुपमा चाँडो टुङ्ग्याउनु नै उत्तम हो ।
– मनोज भण्डारी, दाङ ।

प्रतिक्रिया दिनुहोस्