दुर्लभ दिवस



मंगलबार जनवरी १ तारिख अर्थात् अंग्रेजी नयाँ वर्ष । यहि मेसोमा देश विदेशमा शुभकामना आदान–प्रदान गर्नेहरु धेरै देखिए, भेटिए । शुभकामना लिने दिनेको भीडमा ढाका टोपीवालाहरुको ‘ग्याङ’ पनि सडकमा राम्रै देखियो ।

‘ह्याप्पी न्यू इयर’ अनि ‘ह्याप्पी ढाका टोपी दिवस’ भन्नेहरु जे जति सडकमा देखिए, उत्रिए त्यो भन्दै धेरै राष्ट्रवादी सलबलाए सामाजिक सञ्जाल फेसबुक, ट्वीटर अनि इन्स्ट्राग्राममा । जस्तो सुकै उमेर समुह, रुप रङकाहरुले टोपी सहितको फोटो पोस्टिएको देख्दा उर्लिएको जाडो पनि खै कता कुना पसेझै लाग्यो ।

सामाजिक सञ्जालमा छाएको राष्ट्रवादी पोज देख्दा तत्काल राष्ट्रियता खतरामा पर्ने चान्स देखिएन, धरहराले यस्तै बुझ्यो । तर बुझ्न नसक्या कुरा अन्य समयमा चाहिँ ढाका टोपी ढल्काउन लजाउने अनुहार एक दिनका लागि मात्रै लाइक र कमेन्टका लागि सञ्जालमा छाउने हो र भन्या ?

त्यसो होइन भने सामान्य जमघटमा पनि ढाका टोपी शिरमा सहजै ढल्कनु पर्ने होइन र ? आफूलाई ढाकाटोपी दिवसका अभियन्ता भन्नेले दिवसको नाम बदलेर ‘दुर्लभ दिवस’का रुपमा मनाउँदा हुन्न र ?

प्रतिक्रिया दिनुहोस्