अब नेपालमा स्वस्थ व्यक्तिमा औषधिको गुणस्तर परीक्षण हुने



विश्वमा वैज्ञानिकहरूले सम्बन्धित मुलुक, औषधि कम्पनी र औषधि परीक्षणको स्वीकृति दिने व्यक्तिका बीचको सहमतिका आधारमा स्वस्थ व्यक्तिमा औषधि परीक्षण गर्ने कानुनी व्यवस्था रहेको छ। नेपालमा पनि पहिलोपटक औषधिको गुणस्तर मानिसमा परीक्षण हुने भएको छ। नेपालमा अहिलेसम्म औषधिको गुणस्तर क्लिनिकल (बायोएस्से) प्रविधिबाट मात्रै परीक्षण हुँदै आएको थियो।

औषधि परीक्षणका लागि आवश्यक तालिम, पँर्वाधार तथा जनशक्ति व्यवस्थापनका लागि सरकारले चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा बायोइक्युभ्यालेन्स सेन्टर स्थापना गर्ने भएको छ। त्यस सम्बन्धमा बिहीबार औषधि व्यवस्था विभाग र आईओएमबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

डिपार्टमेन्ट अफ फर्माकोलोजी महाराजगन्ज चिकित्सा क्याम्पसले सञ्चालन गर्ने उक्त सेन्टर स्थापनाका लागि विभागका महानिर्देशक नारायण ढकाल र आईओएमका डीन प्राडा जगदीशप्रसाद अग्रवालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

स्वस्थ व्यक्तिमा गरिने औषधि परीक्षणको जोखिम र त्यसका लागि आवश्यक छुट्टै कानुन भने नेपालमा बन्नु जरुरी छ। औषधि परीक्षणका लागि स्वीकृति दिने व्यक्तिको भैपरि आउँने जोखिमलगायत परिवारको समेत आवश्कताअनुसार उपचार, पालनपोषण गर्ने व्यवस्था विकसित मुलुकहरूमा प्रयोगमा आइसकेको अवस्थामा नेपालले पनि सोच्नु जरुरी छ। कुनै पनि व्यक्तिमा गरिने परीक्षणपँर्व औषधिको साइडइफेक्टदेखि प्रभाव, क्षति सम्पँर्ण कुराको जानकारी गराउनु जरुरी हुने हुनाले बिना जानकारी बिरामीमा सीधै परीक्षण गर्न नहुने स्वास्थ्य विज्ञहरू बताउँछन्। नेपालमा पहिलो पटक कार्यक्रम तयारी गरिएकाले कुनै पनि पँर्वाधारहरू तयार भइनसकेको प्राडा अग्रवाल बताउनुहुन्छ। सम्झौताअनुसार विभागले सेन्टरको पँर्वाधार, जनशक्ति व्यवस्थापन तथा तालिम सञ्चालनका लागि ५ करोड रुपियाँ आईओएमलाई उपलब्ध गराउने भएको छ।

विभागका महानिर्देशक ढकालले वार्षिक कार्यक्रमअन्तर्गत बायोइक्युभ्यालेन्स सेन्टर स्थापना गर्ने सम्झौता भएको बताउनुभयो। उहाँले सेन्टर स्थापनाले औषधिको गुणस्तर तथा प्रभावकारीता परीक्षणमा ठँलो सहयोग गर्ने विश्वास लिएको बताउनुभयो।
औषधि विज्ञ एवं डिपार्टमेन्ट अफ फर्माकोलोजी महाराजगन्ज चिकित्सा क्याम्पसका सहप्राध्यापक डा. प्रदीप ज्ञवालीले अहिलेसम्म बायोएस्से प्रविधिबाट परीक्षण गरिने गरेको र अब भने स्वस्थ मानिसमै गुणस्तर परीक्षण गर्ने तयारी भएको बताउनुभयो।

तर कानुनी र व्यावहारिक पक्षका बारेमा भने निकै अभ्यास गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो– ‘परीक्षणका लागि स्वस्थ व्यक्तिलाई स्वयंसेवीका रूपमा अर्थात् स्वस्थ स्वयंसेवी तयार गर्छौं र जेनरिक औषधि नाममा औषधिहरूको परीक्षण गर्दछौं।’ विभागका महानिर्देशक ढकालले यो परीक्षणबाट औषधि रगतमा कति छिटो मिल्छ, कति छिटो काम गर्न थाल्छ भन्ने पत्ता लगाउन सजिलो हुने पनि बताउनुभयो।

सेन्टर सञ्चालनका लागि क्याम्पस प्रमुख प्राडा प्रतावनारायण प्रसादको संयोजकत्वमा बायोइक्युब्यालेन्स कमिटी गठन गरिएको छ जसको सदस्यसचिव फर्माकोलोजी डिपार्टमेन्टका प्रमुख प्राडा संगरत्न वज्राचार्यले जिम्मेवारी लिने चिकित्सा शास्त्र अध्ययन संस्थानले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्