विचरा प्रतिवद्धता



अंग्रेजी नयाँ वर्ष आजदेखि टुप्लुक्क तपाई हाम्रो घरमा पनि भित्रिएको छ । नेपाल र नेपाली माझ विक्रम सम्व्तको छुट्टै महत्व भएपनि अंग्रेजी पात्रोको प्रभाव कहिँ न कहिँबाट घुसिरहेकै छ । प्रभाव मात्रै हो र, यहि मौका पारेर अनेकथरी प्रतिवद्धता पनि भित्रिन थाल्या छन् ।

नयाँ वर्षदेखि यसो गर्छु, उसो गर्छु, यो त्याग्छु, ऊ त्याग्छु भन्नेहरु टोल बस्तीमा बाक्लै भेटिन्छन् । सोझै भन्नुपर्दा चुरोट त्याग्ने, खैनी, जाँड, रक्सी छोड्ने अनि घरवालीका आँखा छलेर बहारवालीसँग मस्त हुनेहरु अब चाहिँ त्यस्तो गर्दिन घरमै समय दिन्छु भन्दै एकतर्फी प्रतिवद्धता गर्नेहरु कति हुन्छन् कति ।

प्रतिवद्धता केही दिन कार्यान्वयन पनि हुन्छ तर दुई चार दिन पछि कुरो उही हो । साथी भाई कसैले के हो, यस्तो पनि हुन्छ, भन्दै सोधिहाल्यो भने उत्तर प्राय सबैको एउटै आउँछ–‘यस्तै भो यार, अब बैशाख १ गतेदेखि चाहिँ पक्कै गर्दिन ।’ धरहराले यस्तै गन्थन सुन्न थाल्या बर्षौ भयो । ऊ बेला बाऊको प्रतिवद्धता जस्तो थियो अहिले छोराले पनि उस्तै प्रतिवद्धता जनाउछ भन्या ।

त्यसो त मुलुककै प्रतिवद्धताले चल्या छ क्यार । ‘जुन जोगी आएपनि कानै चिरेका’ भनेझै नेताहरु एकसे एक प्रतिवद्धता जनाउँछन् तर कार्यान्वयन उही हो । आम सर्वसाधारण र नेतामा फरक यति छ, नेताले प्रतिवद्धता जनाउन नयाँ वर्ष पर्खनु रहनु पर्दैन ।

प्रतिक्रिया दिनुहोस्