शान र सुविधामा बढी लालच, लक्ष्मण रेखा कोरिन सकेन




-दामोदर पौडेल
धर्म र धर्मका नाममा हुने आतंकवाद र धार्मिक अतिवादबीच पनि त लक्ष्मण रेख छ । धर्म आफ्नो शान्ति–मुक्तिको चाहनाको लागि गरिनुपर्ने र हुने हो । तर अहिले धर्मको नाममा भएको छिनाझम्टीले गर्दा मानिसको धर्मप्रतिको आस्थालाई नै हल्लाइदिएको छ । धर्म भनेको ‘सत्यको खोज वा शान्ति र परमार्थमा कल्याणको खोज हो’ अथवा ‘पैसा कमाउने वा डर त्रास र भ्रम देखाएर आफ्नो पक्षमा लिने हो’ भन्ने बुझ्न कठिन भएको छ । धर्मको आस्था पनि कति आवश्यक हो र कति लोभ एवं डर हो भन्ने पनि विश्लेषण आवश्यक भएको छ ।

विशेषतः नेपालीहरु ‘दुईवटा बच्चा त चाहिने हो तर एउटालाई नै हुर्काउन कठिन छ भने कसरी दुईवटा कल्पना गर्ने ?’ भन्छन् । त्यसमा सत्यता पनि होला । तर कति पैसा भए पुग्ने होला ? सरकारी विद्यालयमा पढेर डाक्टर, इन्जिनियर, अफिसर आदि भएकाहरु प्रशस्त छन् । उता आमदानी र खर्चको हिसाब गर्दा करिब आधा आम्दानी बच्चाको पढाइमा खर्च गर्नेसम्मका मध्यमवर्गहरु पनि छन् । त्यही नियम कर्मचारीमा पनि लागू हुन्छ । जति खर्चले पनि नपुग्ने भएकोले विभिन्न किसिमका भ्रष्टाचार हुने गरेका छन् । अहिले मन्त्री लालबाबु पण्डित नै साइकल चलाएर तेलको पैसा राज्यबाट लिन्छन् भन्ने चर्चामा छ । देशका राष्ट्रपतिहरु हेर्दा त नेपालका सबैभन्दा चर्चित अनुहार बने । पूर्वराष्ट्रपतिलाई चाहिएको बासस्थान नेपालीहरुको सामान्य हैसियतसँग मिल्दैन । वर्तमान राष्ट्रपति महोदय पनि विवादित नै हुनुभएको छ ।
मरेपछि चाहिने जग्गा भनेको बढीमा सात फिट लम्बाइ र दुई फिट चौडाइ हो तर जिउँदो हुँदा यो शरीरलाई किन जनताको हितमा बोल्न मात्र लगाइन्छ, गर्न लगाइँदैन ? ५० वर्षसम्म टिक्न पुलहरु बनाउँदा भ्रष्टाचार गरेकाले बन्नासाथ बिग्रन्छन् । सडक बनेको तीन महिनामा नै कालोपत्रे उप्कन्छ । जहाजहरु ल्याउँदा बीचमा पैसा खाएकोले मानिस र बाहिरको समान बोक्नभन्दा आफैं बोकिने तौल बढी भएका आउँछन् । यो नैतिकताको ह्रासमात्र हो कि, भ्रष्टाचारको चरम रुप हो भन्ने पनि सोच्ने बेला आएको छ ।

यस अर्थमा हामी धर्मपरिवर्तन आर्थिक कारणले गर्दछौं भने मैले कुनै अन्यथा मानेको छैन । जुन समाजको आइकन हुनुपर्ने मानिस पैसाको लागि जे पनि गर्दछ भने उसले र अझै अठिन आर्थिक अवस्थाको मानिसले पैसाको लागि धर्मपरिवर्तन गर्नु कुनै ठूलो कुरा भएन । कमसे कम पैसाको लागि मानिस मार्ने, सन्तान बेच्ने, अपहरण गर्ने, लागू पदार्थ खुवाएर जनता र विशेष गरेर युवाशक्तिलाई तहसनहस पार्नेहरु भएको देशमा कुनै–कुनै विषयमा मात्र बढी नैतिकता तथा संस्कृति अनि धर्मरक्षाको आशा गर्नु कति स्वाभाविक हो भन्ने पनि देखिन्छ ।

मलाई बत्सराज कोइरालाले ‘राजनीति सफेद पोश व्यक्तिहरुको त्यस्तो गिरोह हो जसले तपाईंलाइ विकास, समृद्धि र शान्तिको सपना देखाएर तपाईंको सबथोक प्रेमपूर्वक लुट्छन्’ भनेको नेपालको सन्दर्भमा पूरै मेल खाएको छ जस्तो लाग्छ । गरिबका नेताहरु जब पत्नीलाई रुघाखोकी लाग्छ तब नेपाल मात्र होइन भारतभन्दा पनि बाहिर लगेर उपचार गराउँछन् ।

नेता गाडीमा हिँडे सडक जाम हुन्छ र जनतालाई मर्का पर्छ । त्यही नेताले भ्रष्टाचार गरेकाले सडक चाँडो बिग्रन्छ । यस्तै शिक्षकलाई दलको कार्यकर्ता बनाउने र योग्यताभन्दा घूसको आधारमा नियुक्त गर्ने गरेकाले विद्यार्थीको पढाइ डामाडोल हुन्छ । तिनै नेता शिक्षा क्षेत्रलाई तहसनहस बनाउँछन् र भाषणमा निजी विद्यालयभन्दा सरकारी विद्यालय नराम्रो भएकोमा चेतावनीसमेत दिन्छन् ।

सामान्य नागरिक नूनको उचित मात्रा नपुगेर बिरामी भएका हुन्छन् । ‘तिमीलाई त मैले हित नै गर्ने भनेको तर अर्को दलकाले नदिएकाले गर्न नसकेको हो’ भनेर उही पत्नी विदेशमा उपचार गर्न लग्नेले भन्छ र मतदाता पट्याउँछ । अर्कोतर्फ भूतपूर्व ठूलाहरुलाई वर्षको करोडौं रुपियाँ भाडाको लागि मात्र छुट्याउनुभन्दा उनीहरुका लागि सरकारले नै फ्ल्याटहरु बनाइदिए हुन्छ नि । दुईवटा बेड रुम, एउटा कमन रुम, एउटा किचन र दुईवटा बाथरुम जतिसुकै ठूला मानिसहरुका लागि पनि आवश्यकताको हिसाबले पर्याप्त हो । सम्पत्ति प्रयोगको आधारमा ठूलो बन्नको लागि र कमाउने रोगै लागेकालाई त हेलिकोप्टर, कार आदि मात्र हैन प्लेन दिए पनि पुग्दैन । सिंहदरबार पूरै निवासका लागि दिए पनि पुग्दैन ।

अमेरिकाका भूतपूर्व उपराष्ट्रपति जो वाइडन पद सकिएपछि रेल चढेर घर गएका थिए, अमेरिकामा भर्खरै चुनाव जितेकी एक सांसदले अरु साथीहरुको कोठामा तलब नआएसम्मको लागि शरण लिएकी छन् । त्यस्तै सिनेटर चक सुमर बैठक कोठा र भान्छाको बीचमा सुत्ने गर्थे । कतिपय सांसद आफ्नै कार्यालयको सोफामा पनि सुत्ने गरेको सुनिन्छ । दक्षिण कोरियाका एक भूतपूर्व राष्ट्रपति गाउँको पुरानो घर मर्मत गरेर बसेका छन् । यसरी जनतालाई पहिलो प्राथमिकतामा राख्ने अनि म असल बनें भने पछि आउनेलाई पनि असल बन्ने बाध्यता हुन्छ भन्ने सोच त्यहाँ रहेछ ।

एकजना लेखक भन्छन्– ‘अमेरिकामा भ्रष्टाचार नहुने र सरकारले दिएको निश्चित पैसाबाट सबै चिज बन्दोबस्त गर्नुपर्ने हुनाले तल्लो स्तरमा झरेर नै चुरिफुरी नगरी यसरी बसेको देखिन्छ । तर हामी त जनतालाई झुक्याएर, डर देखाएर वा चुनावको समयमा पैसा बाँडेर अनि मासु–रक्सी खुवाएर चुनाव जित्न सफल भएपछि ५ वर्षसम्म जे पनि गर्ने छुटको नाम नै लोकतन्त्र र चुनाव हो भन्ने भ्रम दिइरहेका छौं । यस्तो काम लोकतन्त्र होइन । लोकतन्त्र चुनाव मात्र नभएर त्यसभन्दा बढी जनताले हेर्दा कस्तो काम गरेको छ भनेर चित्त बुझ्ने पनि हुनुपर्दछ ।

त्यसैले होला प्राध्यापक अमत्र्य सेनले भनेका छन् कि लोकतन्त्र भनेको चुनावी प्रणाली मात्र होइन, बरु यो त हरेक कार्यहरु सरकारले गरिरहँदा जनताले तर्कसंगत देख्नु पनि हो । तर हाम्रो लोकतन्त्र प्रयोगकर्ताहरुले मूलरुपमा कुनै पनि तर्कपूर्ण कार्य गरेका छैनन् । नेता गाडीमा हिँडे सडक जाम हुन्छ र जनतालाई मर्का पर्छ । त्यही नेताले भ्रष्टाचार गरेकाले सडक चाँडो बिग्रन्छ । यस्तै शिक्षकलाई दलको कार्यकर्ता बनाउने र योग्यताभन्दा घूसको आधारमा नियुक्त गर्ने गरेकाले विद्यार्थीको पढाइ डामाडोल हुन्छ । तिनै नेता शिक्षा क्षेत्रलाई तहसनहस बनाउँछन् र भाषणमा निजी विद्यालयभन्दा सरकारी विद्यालय नराम्रो भएकोमा चेतावनीसमेत दिन्छन् । सरकारी विद्यालय नराम्रो बनाउने र निजी विद्यालयले जनताका सन्तानलाई केही राम्रो पढाइ दिएकोमा तिनलाई हतोत्साहित गरेर हाम्रा नेताहरु पढाइको लक्ष्य विदेशमा लेबर बन्ने र आफ्ना कार्यकर्ता बनाउनेमा नै सीमित राख्न चाहन्छन् । सरकारी विद्यालयले अहिले अपेक्षाकृतरुपमा दक्ष जनशक्ति दिन सकेका छैनन् नै ।

मलाई यी दुईवटा शब्द मन परेका छन्, एक फङ्क्सनल डेमोक्य्रासी र अर्को पब्लिक रिजनिङ । कतै गल्ती भएमा तुरुन्त सच्याउने र जनतालाई हेर्दा नै राम्रो भइरहेको छ । यो भन्दा राम्रो यो अवस्थामा हुन सक्दैन भन्ने भावनाको सञ्चार गराउन त नेता र कर्मचारीहरु इमानदार एवं सजग हुनै पर्छ । मातृत्व र नेताहरुका बारेमा जनताले तुलना गर्नुपर्ने समय आएको छ । मातृत्व भनेको ९ महिना पेटमा बच्चा राख्नु र बच्चा पाउनु मात्र होइन, ती त मात्र दुईवटा जिरो हुन् । मात्रित्व त्यसलाई भनिन्छ, जसले बच्चाको जायज आवश्यकता आफ्नो भन्दा माथि राख्छ । जुन महिलाले बच्चाको आवश्यकता आफ्नो सुविधा र आवश्यकताभन्दा माथि राख्छिन् । उनको एक नम्बर आउँछ र त्यो एक नम्बर दुईवटा जिरोभन्दा अगाडि रहेर उनी शतप्रतिशत मातृभाव भएकी महिला हुन्छिन् ।

नेता हुनु पनि ठीकै त्यस्तै हो । असल नेताले राज्यले दिएको पदमा पुगेपछि अझै जनताको अवस्था सुधार प्रथम पंक्तितमा राख्नुपर्ने हो । जनताको हितपछि आफ्नो हित आउँछ । जनताको आवाज मेरो आवश्यकताभन्दा शलियो छ भन्ने सोच्न र त्यसअनुसार व्यवहार गर्न आवश्यक हो । तर हामी हेरौं त जनताका आवश्यकता बढेका छन् र पूरा भएका छैनन् । तर नेताहरुले केवल आफ्ना अवश्यकता मात्र पूरा गरेका छन् । पारख गरौं कि कुन नेताले सरकारी धन दुरुपयोग गरेको छैन र जनताको पक्षमा मात्र उभिएको छ ? दलगत विचारभन्दा व्यवहार महत्वपूर्ण रहेछ । त्यति माथि पुगेर नसोच्ने हो भने पनि नेताहरुले कमसेकम आफ्ना न्यूनतम् आवश्यकता र लोभको बीचमा लक्ष्मण रेखा कोर्न सक्नुपर्दछ । त्यसलाई जनताले पनि राम्रोसँग पारख गर्न आवश्यक छ ।

 

प्रतिक्रिया दिनुहोस्