सीमालाई व्यवस्थित बनाऊ



नेपाल र छिमेकी देश भारतको बीचमा खुल्ला सिमाना छ । सीमालाई व्यवस्थापन गर्नको लागि सरकारले विभिन्न कार्यक्रम अगाडि बढाएको छ ।

खुल्ला सीमा भएकै कारण नेपाल–भारतको बीचमा समय समयमा तनाव पनि उत्पन्न हुने गरेको छ । यसको सबैभन्दा बढी सास्ती सीमामा बस्नेहरुले भोग्दै र खेप्दै आएका छन् । सीमा सुरक्षा निकै संवेदनशील विषय हो ।

सीमालाई सुरक्षित र व्यवस्थित बनाउने दायित्व र कर्तव्य सरकारको हो । खुल्ला सीमालाई व्यवस्थित बनाउनको लागि निकै बहस हुँदै आएको छ । सीमा सुरक्षालाई प्रभावकारी बनाउनको लागि अझै पनि नीतिगतरुपमा नै सुधार गरेर लैजानुपर्ने आवश्यकता देखिन्छ ।

सरकारले छिमेकी देश भारत र चीनको सीमाको सुरक्षा गर्ने जिम्मेवारी सशस्त्र प्रहरी बल नेपाललाई दिएको छ । सरकारले दिएको कार्यादेशअनुसार सशस्त्र प्रहरीले सीमामा सुरक्षा गर्दै आएको छ । खुल्ला सीमा भएकै कारण अहिले पनि सीमा सुरक्षाको लागि थप सुरक्षा क्याम्पहरु राख्नुपर्ने माग स्थानीयले राख्दै आएका छन् ।

सरकारले सीमामा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने, चोरी निकासी रोक्ने र सीमा सुरक्षालाई व्यवस्थित बनाउनको लागि सीमामा सीसी क्यामेरा जडान गर्ने भएको छ । सरकारले अगाडि सारेको कदम सकारात्मक छ । त्यसैअनुरुप सशस्त्र प्रहरी दक्षिण तथा उत्तरतर्फका आफ्ना सीमामा हुन सक्ने अवैध क्रियाकलाप रोक्न प्रविधिको प्रयोग गर्न लागेको छ । सशस्त्र प्रहरीसँग हाल भएको जनशक्तिसँगै प्रविधिको प्रयोग गरेको खण्डमा सुरक्षामा थप सहयोग पुग्नेछ । प्रविधिको प्रयोग आवश्यकता महसुस गरेर सीमालाई सुरक्षित र व्यवस्थित गर्न प्रविधिको प्रयोग गर्नुपर्छ । जनशक्तिको परिचालनसँग प्रविधिको प्रयोगले आपराधिक घटनाहरु न्यूनीकरण गर्न सकिन्छ ।

सरकारले पहिलोपटक आफ्नो देशको सीमामा सीसी क्यामेरा जडान गर्न लागेको हो । खुल्ला सीमा क्षेत्रभर सरकारले सीसी क्यामेरामार्फत् निगरानी गर्न जरुरी छ । सीमा संवेदशील भएको र प्रविधिको प्रयोग गर्दा सरकारले अगाडि सारेको नीति तथा योजना कार्यान्वयनमा थप बल पुग्ने देखिएको छ । प्रविधिको प्रयोगले राजस्व संकलनमा पनि सहयोग पुग्ने देखिन्छ । सरकारले सीमालाई सुरक्षित बनाउनको लागि नीतिगतरुपमा व्यवस्था गरेर अगाडि बढ्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्