आफ्नो मृगौला आफै बचाउँ




आफ्नै लापर्वाहीले मान्छेमा रोग पलाउने धेरै परिस्थीतीहरु हुन्छन । नेपालमा मिर्गौला रोगी बढिरहेका छन् । मिर्गौला बचाउनुपर्छ भन्ने चेतना हुँदाहुँदै पनि स्वास्थ्यप्रति हेलचेक्र्याइँ गर्ने कारण मिर्गौला रोगीको संख्या बढ्दै गएको विशेषज्ञहरुले जनाएका छन् । पछिल्लो समय नेपालमा २६ लाखभन्दा बढी मिर्गौला रोगीहरु रहेको तथ्यांक छ ।

तीस लाखभन्दा बढी मानिसमा कुनै न कुनै प्रकारको मिर्गौलासम्बन्धी समस्या रहेको बताइन्छ । चितवनको परिप्रेक्ष्यमा दस प्रतिशतभन्दा बढी मानिस मिर्गौलाका कुनै न कुनै समस्याबाट पीडित छन् । नेपालमा बर्से्नि मिर्गौला दिवस, सचेतना अभियान सञ्चालन गरिए पनि कमै व्यक्तिमात्र मिर्गौला रोगबारे सचेत रहेको पाइन्छ । नेपालमा तीन लाख व्यक्तिमा केही न केही मिर्गौलाको समस्या रहेको चिकित्सकहरुको अनुमान छ । यस्तै, तीन लाख व्यक्तिको मिर्गौला बिग्रन थालिसकेको अवस्था र तीस हजार व्यक्तिको मिर्गौला निको पार्न नसक्ने गरी बिग्रिसकेको अनुमान छ । यसमध्ये बर्सेेनि तीन हजार जनाको मिर्गौला बिग्रेर अन्तिम अवस्थामा पुग्ने गरेको र नौ सय जनाको अकालमा मृत्यु हुने अनुमान छ । मिर्गौला बिग्रेर अन्तिम अवस्थामा पुगेका बिरामीलाई बचाउन डाइलासिस वा मिर्गौला प्रत्यारोपण नै गर्नुपर्छ ।

मिर्गौला हरेक मानिसलाई स्वस्थ राख्न मद्दत गर्ने प्रमुख अंग हो । यस्तो महत्वपूर्ण अंग स्वस्थ राख्न हरेक व्यक्ति सचेत हुनैपर्छ । नेपालमा प्रत्येक दस जनामध्ये एक जनालाई मिर्गौलाको दीर्घकालीन रोग लाग्ने गरे पनि स्वास्थ्यका सवालमा शिक्षित व्यक्तिसमेत सचेत नहुनु विडम्बनाको विषय हो । अस्वस्थ जीवनशैली, रक्तचाप, मधुमेह, जथाभावीरुपमा कडा औषधि सेवनका कारणले मिर्गौला बिग्रने गर्दछ । सुरूमै कुनै लक्षण नदेखिने भएकाले बाहिरबाट स्वस्थ मानिएको व्यक्ति पनि स्वस्थ नहुन सक्छ । मिर्गौलाको स्थिति थाहा पाउन समय–समयमा परीक्षण गराउनैपर्छ ।

नेपालमा पछिल्लो समयमा निःशुल्क स्वास्थ्य शिविरलगायत विभिन्न सचेतना कार्यक्रम गरी मिर्गौला रोगको निदान, उपचार र रोकथाम भइरहे पनि यसबारे गम्भीरतापूर्वक चासो लिनेको संख्या भने अझै पनि नगन्य नै छ । दुर्गम क्षेत्रमात्र होइन, सुगम ठाउँमा पनि मिर्गौला परीक्षण गर्ने प्रवृत्ति घट्दो छ । अधिकांशलाई जटिल स्वास्थ्य समस्या भइसकेपछि वा वैदेशिक रोजगारीका क्रममा स्वास्थ्य परीक्षण गराउँदा मिर्गौला बिग्रिएको जानकारी हुने गरेको छ । खासगरी, बदलिँदो जीवनशैलीका कारण मिर्गौला रोगीको संख्या बढ्दै गएको देखिन्छ । चिकित्सकहरुले वर्षमा दुईपटक नभए कम्तीमा एकपटक अनिवार्य मिर्गौला जाँच गर्न सुझाव दिएका छन् ।

नेपालमा सर्वसाधारणको मिर्गौला परीक्षण गर्ने बानी नहुँदा धेरैलाई आफ्नो रोगको अवस्थाबारे जानकारी नै छैन । मिर्गौलासम्बन्धी रोग प्रायः मधुमेह, उच्च रक्तचाप, नेफ्राइस, दुर्घटना, पत्थरी, बढीमात्रामा औषधि सेवनजस्ता कारणले लाग्ने गर्छ । शरीरका विभिन्न भाग सुन्निने, थकावट महसुस हुने, खान मन नलाग्ने, धेरै वाकवाकी लाग्ने, टाउको दुख्ने, पिसाब कम लाग्ने, शरीर चिलाउने, पिसाबमा रगत देखिने, फिँज आउनेजस्ता समस्या पनि मिर्गौला रोगका लक्षण मानिन्छ ।

बढ्दो उमेरसँगै मिर्गौला रोगको खतरा पनि बढ्ने भएकाले सामान्य उपायद्वारा यो रोग न्यूनीकरण गर्न सकिने चिकित्सकहरुको सुझाव छ । त्यसका लागि सधैँ मधुमेह नियन्त्रणमा राख्ने, उच्च रक्तचाप भएकाहरुले नियमित जाँच गराउने, स्वस्थ र सन्तुलित खाना खाने, व्यायाम तथा हिँड्डुल गर्ने, तौल बढ्न नदिने, प्रशस्त पानी पिउने, धूमपान र सुर्ती सेवन नगर्ने, जथाभावी औषधिको प्रयोग नगर्नेजस्ता उपाय अवलम्बन गर्न सकिन्छ । रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बुद्धिमानी कार्य हो । तसर्थ, मिर्गाैला बचाउन गम्भीरताका साथ नियमित जाँच गराउर्नेतर्फ ध्यान दिनु उत्तिकै आवश्यक देखिन्छ ।
कविता पोख्रेल, कलंकी ।

यी जनप्रतिनिधिबाट केही सिक्ने की ?
सुविधाभोगी जनप्रतिनिधिका बिचमा बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले उदाहरणीय कार्य गरेर जनताको मन जितेको खबर सार्वजनिक भएको छ । स्थानीय तहमा अधिकांश मेयर र गाउँपालिका प्रमुखले जनताको करबाट महँगो सवारी किनेर उपयोग गरिरहँदा मेयर नेपालीले आफ्नै सवारीसाधन उपयोग गरिरहेका छन् । त्यतिमात्रै होइन, उनले हालसम्म नगरपालिकाबाट पाउने तलबभत्ता र इन्धन सुविधासमेत नलिईकन अहोरात्र जनताको काममा तल्लीन रहेका छन् ।

आफू जुन दलबाट प्रतिनिधित्व गरे पनि नगरपालिकालाई दलको अखडा बन्न नदिने, राजनीतिकरुपमा कसैलाई भेदभाव नगर्ने र सुशासनको थालनी आफैँबाट गर्ने जुन उदाहरण मेयर नेपालीले प्रस्तुत गरे त्यो प्रशंसनीय छ । जनताको आँखाको आँसु पुछ्न जनप्रतिनिधि भएकाले धेरथोर परिवर्तन गरेरै देखाउने जुन उद्देश्य उनले बोकेका छन् त्यसमा उनी सफल भएका छन् । उनले निजी खर्चमै आगलागीबाट क्षति भएका ४६१ घरमा जस्तापाता लगाउनेदेखि पहिरोपीडितको घर बनाइदिने कार्य गरेका छन् । जनता क्याम्पसका लागि २१ लाख सहयोग गर्नुका साथै शून्य दरबन्दीमा चलेका विद्यालयहरुमा व्यक्तिगत खर्चमा ५१ शिक्षकलाई नियुक्ति दिएर पढाउने व्यवस्था मिलाएका छन् ।

राज्यले नै गर्न नसकेको काम एउटा जनप्रतिनिधिबाट हुनु चानचुने कुरा होइन । किनभने, हाम्रो समाजमा सम्पन्नशाली जनप्रतिनिधिले पनि जनताको करमै ¥याल चुहाइरहेको परिप्रेक्ष्यमा गरिब, दीनदुःखीको सेवामा आफ्नो तलबभत्ता र निजी सम्पत्ति लगाउनु महान् कार्य हो । उनले आर्थिक अवस्था कमजोर भएका विपन्न, दलित, अपांग र एकल महिलालाई निःशुल्क यातायातको व्यवस्था गर्नेदेखि एकल खर्चमा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई एम्बुलेन्ससमेत सहयोग गरेर योगदान गरेका छन् ।

जनप्रतिनिधिले सरकारी बजेट सकेर विलासी गाडी र विद्युतीय सामग्रीहरु खरिद गर्ने होडबाजी चलिरहेका बेला ढोरपाटन नगरपालिकाका मेयरले आफूभन्दा माथि उठेर जनताको सेवामा अहोरात्र जुटिरहेको खबरले केही जनताकै वास्तविक प्रतिनिधि पनि चुनिएका रहेछन् भनेर गर्व महसुस हुन्छ । एक समय एक छाक भात खान दसैँ नै कुर्नुपर्ने अवस्था भएका नेपालीले विगतमा विभिन्न व्यवसायमा पाएको सफलताले आर्जन गरेको सम्पत्ति अहिले जनताको सेवामा लगाइरहेका छन् । मानिसलाई धनसम्पत्ति र सुविधा कति भए पुग्छ ? यसको कुनै मापन छैन । संसारमा अब मलाई धनसम्पत्तिले पुग्यो भन्ने मानिस पनि सायद विरलै फेला पर्लान् !

मेयर नेपालीजस्तै केही जनप्रतिनिधिले आफ्नो सेवासुविधाको रकमले समाजसेवा र मानवसेवामा खर्चिएको सुन्न पाउँदा खुसीको रक्त सञ्चार हुन्छ । केही जनप्रतिनिधिले आफूले पाउने तलबभत्ताबाट गरिबलाई लत्ताकपडा वितरण गरेको, औषधि उपचारमा सहयोग गरेको, सडक निर्माणमा लगाएको, विपन्न विद्यार्थीलाई पढाएकोजस्ता खबरहरु बेलामौकामा सुन्न पाइन्छ । औसतरुपमा भन्ने हो भने राष्ट्रपतिदेखि सरकारका मन्त्री, सांसद्सम्मलाई विलासी गाडीको मोहले छाडेको छैन ।

यतिसम्म कि काठमाडौँमा घर हुने नेता, सांसद्ले पनि राज्यबाट पाइने घर भाडा रकममा पनि मन थाम्न नसकेको खबर सार्वजनिक भइसकेको स्थिति छ । राष्ट्रदोहन र राज्यकोषको दुरूपयोग बढिरहेको वर्तमान अवस्थामा ढोरपाटनका मेयरजस्ता जनप्रतिनिधि जनताले खोजेका छन् । अहिले स्थानीय तहदेखि संघीय सरकारसम्म रिबन काट्ने र तडकभडकमै समय व्यतीत गरिरहेको स्थिति छ । सरकारले जनताले अनुभूति गर्ने गरी काम गर्न सकिरहेको छैन । राज्य आर्थिक विचलनको पराकाष्ठामा पुगिसकेको छ । सरकार र जनप्रतिनिधिमा दम्भ बढिरहेको छ । हामी जनताका सेवक हौँ भन्ने सोच भएमा मात्रै जनप्रतिनिधिप्रति जनताको विश्वास जागेर आउँछ । हामीले मेयर नेपालीको जस्तै सोच र सामाजिक भावना सबै जनप्रतिनिधिमा जागृत होस् भन्ने कामना गर्न परेको छ ।
शरद पौडेल, चितवन ।

प्रतिक्रिया दिनुहोस्