सिमासिङमा उज्यालो साकार भयो ‘बिजुली सपना’



नानीराम नेपाल, सिन्धुपाल्चोक ।
खुसी भाछौं सवैथोक भुली
आज गाउँमा बल्या छ विजुली
वर्षौदेखि उज्यालोको पर्खाईमा बसेको विकट गाउँ सिमासिङमा बिजुली बत्ति बलेपछि स्थानीय स्कुले बालबालिकाहरु यसरी गीतमार्फत खुसी ब्यक्त गरिरहेका थिए । गाउँमा बिजुली बत्ति बलेपछि बलेफी गाउँपालिकाको शीरमा रहेको सिमासिङवासीमा यतिबेला खुसीको सीमा नै छैन ।

बिजुली बत्तिले सीमासिङको भूगोल मात्र उज्यालो बनेको छैन, सिमासिङवासीका मनको भूगोल नै यतिबेला उज्यालिएको छ । ‘बिजुली त हामीलाई सपना नै लाग्थ्यो, आज साकार भइदियो’, शुक्रबार सिमासिङ बस्ति विद्युतिकरण कार्यक्रममा भेटिएका स्थानीय बिबिसिङ स्याङ्तान भन्दैथिए,–‘हाम्रै पालामा यहाँ बिजुली आउला जस्तो लागेकै थिएन ।’

सिमासिङ, त्याङथली र ओख्रेनीका १ सय बढि घरधुरीमा बिजुली बलेपछि शुक्रवार भव्य कार्यक्रम गर्दै सिमासिङ बस्तिमा बिद्युत उद्घाटन गरिएको छ । बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षत्रीले सिमासिङ आधारभुत विद्यालयमा बिजुली बत्तिको स्वीच थिचेर सिमासिङ बस्ति बिद्युतिकरण उद्घाटन गरेका हुन् । सिमासिङ बस्ति बिद्युतिकरण उद्घाटन कार्यक्रममा गाउँमा पुगेको जनप्रतिनीधि, कर्मचारी र दलका नेताहरुको टोलीलाई स्थानीयले फुलमालाले भव्य स्वागत गरे ।

बर्षौदेखिको बिजुली सपना साकार भएपछि सिमासिङमा ‘गाउँ सरकार’ पुग्दा स्थानीयले भव्य स्वागत गरेका हुन् । ‘बत्ति बाल्छौं भनेर धेरै आए, हामी अन्धकारमै बाँच्दै आयौं’, बिजुली सपना साकार भएपछि स्थानीय आइतमान तामाङले भने,–‘बल्ल बिजुलीको उज्यालो देख्न पाइयो ।’ बिजुलीको उज्यालोमा बस्नु सिमासिङवासीका लागि ठूलो सपना थियो । बिजुली बत्ति बलेको देख्नका लागि समेत उनीहरुका लागि रहर हुन्थ्यो । ‘बिजुली हेर्न जलविरे झर्नुपथ्र्यो, गाउँमै बिजुली बत्तिमुनि बस्नु त सपना जस्तै थियो’, आइतमानले भने । दर्जनौ सरकार भोगे सिमासिङवासीले ।

स्थानीय निकायमा जनप्रतिनीधिहरु चुनेकै पनि हुन उनीहरुले । सिमासिङवासीकै मतले पटक पटकका निर्वाचनमा सांसद चुन्यो, नेताहरुलाई मन्त्री बनायो । निर्वाचनताका गाउँ आउने दलका नेता र उमेदवारहरुलाई बिजुली नै माग्थे उनीहरु । ‘नेताहरु आउँथे, बिजुलीको बोली दिएर जान्थे’, स्थानीय चन्दमायाँ गुरुङ भन्दैथिईन्,–‘चुनाव हार्नेहरु हराइजान्थे, चुनाव जितेर मन्त्री भएकाहरुले पनि हामीलाई हेरेनन् ।’

गाउँपालिका र वडाले वजेट छुट्याएपछि ४० वटा नयाँ पोल गाडेर झण्डै सात किलोमीटर टाढाबाट सिमासिङमा बिजुली पु¥याइएको उपभोक्ता समितिका अध्यक्ष डुपछिरीङ तामाङ बताउँछन् । ‘४० ठाउँमा स्टीलका नयाँ पोल राखियो, सात किलोमीटर परबाट तार तानेर ल्यायौं’, उनले भने । सिमासिङ बस्ति विद्युतिकरणमा स्थानीय सुनबहादुर तामाङ, सोनाम लामा, नरबहादुर तामाङ लगायतका स्थानीयको विशेष सक्रियता रहेको उनले सुनाए ।

सिमासिङवासीका बिजुली सपनासँगै स्थानीय तह निर्वाचनका बेला सिमासिङमा बत्ति बालेरै छाड्ने अठोट गरेका बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षत्रीको अठोट पुरा भएको छ यतिबेला । सिमासिङमा अन्धकार हटाउने अठोट गरेका बलेफी गाउँपालिका–३ का वडाध्यक्ष बीरमान तामाङको पनि अठोटले सार्थकता पाएको छ । बलेफी शीरको यस गाउँमा बिजुली छैन भन्ने सुनेपछि गाउँपालिकाले प्राथमिकताकासाथ सिमासिङ विद्युतिकरणलाई अघि बढाएको अध्यक्ष केदार क्षत्री बताउँछन् ।

‘सिमासिङवासीका बिजुली सपना साकार बनाउने हाम्रो संकल्प र अठोट थियो, जो आज पुरा भएको छ’, अध्यक्ष क्षत्री भन्छन्,–‘हामीले विशेष प्राथमिकता दिएर सिमासिङ विद्युतिकरण योजना अघि बढाएका थियौं ।’ सिमासिङमा बिजुली बल्नु गाउँपालिकाका लागि एउटा महत्वपूर्ण उपलव्धी भएको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षत्री बताउँछन् ।

गाउँपालिकाले सिमासिङ विद्युतिकरण योजनालाई प्राथमिकतामा राखेर पन्ध्र लाख रुपियाँ बजेट विनियोजन गरेको उनले बताए । ‘गाउँपालिकाले पन्ध्र लाख बजेट हाल्यौं, वडाले पाँच लाख छुट्टयायो’, अध्यक्ष क्षत्रीले भने, –‘सिमासिङवासीका लागि आज बिजुली सपना साकार भएको छ ।’ सिमासिङमा विद्युत पुगेपछि अब विद्युतलाई सिमासिङवासीले आयआर्जन र उद्यममा उपयोग गर्नुपर्ने उनी बताउँछन् । ‘अब यहाँका बालबालिकाका लागि अध्ययनमा पनि धेरै सहज हुनेछ, टुकी बालेरै पढ्नुपर्ने अवस्था अन्त्य भएको छ’, अध्यक्ष क्षत्रीले भने ।

गाउँपालिका र वडाले सिमासिङ बस्ति विद्युतिकरणका लागि बजेट ल्याएपछि यसभेगका १ सय बढि घरपरिवार अन्धकारबाट मुक्त भएको वडाध्यक्ष बीरमान तामाङ बताउँछन् । सिमासिङ बस्ति बिद्युतिकरणका लागि बलेफी गाउँपालिकाले गतवर्ष १५ लाख रुपियाँ वजेट विनियोजन गरि काम अघि बढाएको थियो । गाउँपालिकाको १५ लाख र वडाले ५ लाख रकम विनियोजन गरेपछि स्थानीय डुपछिरीङ तामाङको नेतृत्वमा उपभोक्ता समिति गठन गरि तार, पोल र विद्युतिकरणका लागि आवस्यक सामाग्री खरीद गरेका थिए । बिद्युत लाईन जडानमा आवस्यक सघाउ गर्दै नेपाल विद्युत प्राधिकरण सिन्धुपाल्चोक वितरण केन्द्रले सिमासिङका लागि ट्रान्सफर्मर उपलव्ध गराएको थियो ।

फेरिँदैछ सिमासिङ
भूकम्पपछि दाताले बनाइदिएको चिटीक्क परेको भवनमा छ सिमासिङ आधारभुत विद्यालय । विद्यालयको भवन निर्माण सम्पन्न भइसकेको छ । घोडा हिँड्ने घोडेटाहरु यतिबेला सडकका बदलिएका छन् । गाउँपालिका र वडाको वजेटमा सिमासिङसम्मको सडक मर्मत सुधार गरि सहजै सवारी चल्नसक्ने बनिसकेको छ । पछिल्लो पटक बिजुली पुगेसँगै सिमासिङको जनजीवन फेरिएको छ । स्कुल, सडकसँगै बिद्युत सेवा पुगेपछि यहाँका स्थानीयको मुहारमा खुसी छाएको छ । धुस्कोटसम्म यात्रुवस चलिरहँदा सिमासिङसम्मै यात्रुवस ल्याइदिन स्थानीयले माग गरेका छन् ।

‘च्यानडाँडासम्म बस आइरहेको छ, सडक थप सुधार गरेर अब सिमासिङमै यात्रुवस पठाउनुप¥यो’, गाउँपालिका अध्यक्ष केदार क्षत्रीका सामु स्थानीय सुनबहादुर तामाङले भने,–‘स्कुल बन्यो, बिजुली बल्यो अब बस पठाइदिनुस् ।’

प्रतिक्रिया दिनुहोस्