घाँस काट्ने खुर्केरका गायकको निधन



पुष्कर बुढाथोकी, भक्तपुर

लामो समयदेखि अस्वस्थ भई निवासमै थला परेका लोकगायक बुद्धिकृष्ण लामिछानेको शुक्रबार ६३ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको छ। चाँगुनारायण नगरपालिका–७ स्थित आफ्नै निवासमा लामो समयदेखि पक्षाघातलगायत विभिन्न रोगले थलिएका लामिछानेको निधन भएको उनकी छोरी सम्झनाले जानकारी गराइन्।

घाँस काट्ने खुर्केर, आयो जोवन हुर्केर, पिँढीमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन् मलाई सम्झेर, फाटेको दौरा लाएर खोले सिस्नु खाएर, बाखरी बाखरीजस्ता जीवन्त गीतका गायक लामिछानेको पछिल्लो समय निमोनियाको समेत उपचार भइरहेको थियो। निमोनिया भएपछि उपचार गराइरहेका लामिछानेको उपचारमा विभिन्न संघसंस्थालगायत समाजसेवी विनयजंग बस्नेतले सहयोग गरिरहेका थिए। लामिछानेको शव श्रद्धाञ्जलिका लागि ४ घण्टा घरमै राखिएको थियो। श्रद्धाञ्जलिका लागि लोकगीतका पारखीलगायत सयौंको सहभागिता रहेको थियो।

लामिछानेको शुक्रबार नै नारायणथानस्थित घाटमा अन्त्येष्टि गरिएको उनको परिवारले जनाएको छ।

दर्जनौं लोकप्रिय गीतका गायक लामिछाने लामो समयदेखि प्यारालाइसिस, मधुमेह र उच्च रक्तचापले थलिएर हिँडडुल गर्न समेत नसक्ने अवस्थामा थिए। उनी मष्तिष्कमा रगत जमेर भएको प्यारालाइसिसका कारण सामान्य हिँडडुल गर्न सक्दैन थिए। उनको दुईपटक अप्रेसन भइसकेको थियो भने महिनामा २÷३ पटक अस्पताल लानुपथ्र्यो। लामो समयदेखि थलिएका कारण परिवारसमेत उपचारका क्रममा आर्थिक बोझमा परेको थियो। उनका श्रीमती, दुई छोरा र तीन छोरी छन्।

लामिछानेले हास्य टेलिश्रृंखला तीतो सत्यमा अभिनय पनि गरेका थिए। गायक लामिछानेले अफूलाई कलाकारहरूले सहयोग गरे पनि राज्यस्तरबाट हालसम्म कुनै सहयोग नभएको भन्दै गुनासो गर्ने गर्थे।

आमा पद्मकुमारी लामिछाने र बुबा टीकाराम लामिछानेको कान्छो सन्तानका रूपमा २०१२ साल साउन १ गते लामिछानेको जन्म भएको हो। सानै छँदा बुबा बितेकाले बुबाको माया कस्तो थियो भन्ने उनलाई कहिल्यै थाहा भएन। २०३६ सालमा त लामिछानेको रेडियो नेपालमा पहिलो घाँस काट्ने खुर्केर आयो जोवन हुर्केर गीत रेकर्ड भएको थियो।

उनको त्यो गीतपछि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको प्रसिद्ध हास्य जोडी महको टेलिसिरियल २१६७७७ मा राखिएको थियो। उनले गाई त बाँध्ने पातको दाम्लो, पर्नु पर्यो पिर जेठा मलाई पर्यो पिर, भयो डामाडोल, फाटेको दौरा लाएर खोले सिस्नु खाएर, तिम्रो र मेरो मायाको डोरो बेरौकी फनफनी कान्छीजस्ता सयभन्दा बढी गीत गाएका थिए।

प्रतिक्रिया दिनुहोस्