महिला क्रिकेटको त्यो पहिलो अनुभव



एलबी क्षेत्री,

एसियाली क्रिकेट परिषद् (एसीसी) क्रिकेटमा समानताको मुद्दालाई दरिलोसँग अगाडि बढाउने क्रममा थियो। त्यसैले पहिलोपटक एसीसीले एसियाली राष्ट्रहरूबीच महिला क्रिकेट स्पर्धाको तयारी गरेको थियो। अन्ततः सन् २००७ जुलाई ११ देखि १८ सम्म मलेसियाको जोहरबारुमा प्रथम एसीसी महिला क्रिकेट च्याम्पियनसिप हुने भयो। त्यो प्रतियोगितामा नेपालले आवश्यक डकुमेन्टसहित सहभागिताका लागि अनुरोध गरिसकेको थियो। एसीसीमा नेपालको राम्रै छवि थियो। एसीसीले नेपाललाई सहभागी गराउने भयो। हामी यता टिम तयारीमा जुटिसकेका थियौं। क्यानले मलाई नै टिम व्यवस्थापकको जिम्मेवारी सुम्पियो। यो जिम्मेवारी इतिहासको कालखण्डमा निकै गर्विलो हुने मलाई लागिसकेको थियो। आफैंले आफैंलाई निकै भाग्यमानी महसुस गरें।

एसीसीले पहिलोपटक पुरुष र महिला क्रिकेट प्रतियोगिता गर्दा दुवैको साक्षी हुन पाएँ। सन् १९९६ मा जब एसीसीले प्रथम एसीसी पुरुष क्रिकेट च्याम्पियनसिप आरम्भ गर्यो, त्यतिबेला खेलाडीको भूमिकामा एसीसीलाई नियाल्ने मौका पाएँ। म त्यतिबेला नेपाली पुरुष टिमको उपकप्तानको जिम्मेवारी लिएर मैदानमा उत्रिएको थिएँ। एक दशकपछि टिम व्यवस्थापकको जिम्मेवारीमा महिला क्रिकेट टिम लिएर उत्रिन पाएँ। सायद यस्तो अवसर कमैले पाउँछन्।

मलेसिया जानुअघि नेपाली टिमले एक साता प्रशिक्षण लिएको थियो। जंगबहादुर थापा र श्यामजंग थापाले प्रशिक्षण दिएका थिए। उनीहरूको अभ्यास र प्रशिक्षण पनि नियमित नियालिरहेको थिएँ। दिन प्रतिदिन उनीहरूको प्रदर्शनमा निखार आइरहेको थियो। हाम्रो भरोसाको केन्द्र नेरी थिइन्, उनले राम्रो गरिरहेकी थिइन्। खेलमा सबैको नजर राम्रो प्रतिभामाथि नै हुन्छ। नेरीमा त्यो क्षमता देखेरै कप्तानको जिम्मेवारी दिइएको थियो। टोली विदेशी भूमिमा खेल्न आतुर थियो। नेपाली टिमका किशोरीहरू अधिकांश १३, १४, १५ वर्षका थिए। नेरी ७ कक्षामा पढ्थिन्, ममता ६ कक्षामा। अरू पनि त्यस्तै। नेरीबाहेक अरू खेलाडी अधिकांशले काठमाडौं टेकेकै पहिलोपल्ट थियो। विदेशी भूमि त धेरै परको कुरा। जहाजमा चढेर क्रिकेट खेल्न जाने कुराले उनीहरूलाई पनि निकै कौतुहल जगाएको थियो क्यारे। सबैजना मलेसिया कहिले जाने भावमा मलाई हेर्थे। उनीहरूका लागि विदेश यात्रा एकदमै नौलो थियो। कलिलो उमेरमै राष्ट्रिय टोलीको सदस्य हुन पाउँदा फुरुङ्ग थिए।

हाम्रो मलेसिया जाने दिन आयो, जुलाई ९ मा। तत्कालीन शाही नेपाल वायु सेवा निगमको जहाजको टिकट लिइएको थियो। हामी समयमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्यौं। होटल ताजदेखि विमानस्थल पुग्दा नानीहरू आपसमा जिस्किरहेका थिए, कसैका अनुहार मलिन पनि थिए। जब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र पस्यौं, नानीहरू त यताउता पो गर्न थाले। मैले सबैलाई अनुशासनमा रहन भनें। अनि उनीहरू पंक्तिबद्ध भएर अगाडि बढे। जहाज चढ्ने समय आइसकेको थियो।

हामी त्यसतर्फ लाग्यौं। टिमका सदस्यहरू कोही पहिलोपटक जहाज चढ्दै थिए। ठूलो जहाज सबैका लागि नौलो थियो। झन्डै दुई सय यात्रु चढ्दै गरेको जहाज देखेरै उनीहरू दंग थिए। करिब पाँच घन्टाको उडान यात्रामा नानीहरू निदाइसकेका थिए। म बेलाबेला उनीहरूको ख्याल गर्थें। हामी क्वालालम्पुर विमानस्थल अवतरण गर्यौं। यहाँदेखि हामीलाई जोहारबारु पुग्नु थियो। अब बसको यात्रा गर्नुपर्ने भयो। आयोजकले सुविधासम्पन्न बस व्यवस्था गरेका थिए। जोहारबारु राज्य मलेसियाको सीमावर्ती राज्य हो। यो सिंगापुरको सिमानासँग जोडिएको छ। जोहारबारुदेखि सिंगापुरको समृद्धि सजिलै देख्न सकिन्थ्यो। एउटा पुलले मलेसिया र सिंगापुर जोडेको रहेछ।

जोन रेजिडेन्सी होटलमा हाम्रा लागि आवास तथा भोजनको व्यवस्था गरिएको थियो। भव्य होटलमा हाम्रा खेलाडी नानीहरू रमाइरहेका थिए। उनीहरूका अनुहारमा मैले उत्साह र खुसी एकैपटक देखेको थिएँ।

जुलाई १२ मा आईपीटीआई मैदानमा थाइल्यान्डसँग हाम्रो पहिलो खेल थियो। नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेकै त्यही खेल हो। स्कुले किशोरीहरूले भरिएको टिम नै पहिलो राष्ट्रिय टिम बनेको थियो। नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमा टस जितेर ब्याटिङको निर्णय लियो। ३० ओभरको खेलमा ८ विकेट गुमाई ९५ रन बनायो। विकेटकिपर ब्याट्सओमन मधु थापाले सर्वाधिक ३६ रन बनाउन सफल भइन्। बलिङ पनि हाम्रो त्यत्तिकै राम्रो थियो।

२१ दशमलव १ ओभर खेल्दै गर्दा ४० रनमै थाइल्यान्डलाई नेपालले अलआउट गरिदियो। कप्तान नेरीले ५ रन खर्चेर ४ विकेट लिइन्। उनको बलिङ साच्चिकै तारिफयोग्य रह्यो। डेब्यु खेलमा जित हासिल गरेपछि नानीहरूको मनोबल झन् बढ्यो। दोस्रो खेल १४ जुलाईमा सोही मैदानमा मलेसियाविरुद्ध थियो। यो खेल निकै तनावपूर्ण रह्यो। खेल टाइ (बराबरी) भयो। नेरी, निरा, केशरीको प्रदर्शन उच्च थियो। अब पालो थियो हङकङसँग। ऊ राम्रो टोलीमा गनिन्थ्यो। न्युजिल्यान्डमा खेलिरहेकी निशा प्राटले कप्तानी सम्हालेकी थिइन्।

सबैको चासो उनीमाथि नै थियो। जुलाई १५ मा नेपालले जुहार क्रिकेट एकेडेमीमा हङकङको सामना गर्यो। वास्तवमा हङकङका खेलाडीहरूको व्यवहार र हाउभाउ हेर्दा उनीहरूले नेपाललाई कम आँकेका थिए। यद्यपि, मैदानमा नेपाली किशोरीहरूले फेरि एकपटक बहादुरी देखाए। हङकङमाथि जितको नतिजा निकाल्दै विजय यात्रालाई निरन्तरता दिन सफल भए।

छोटो समयको प्रशिक्षणबाट खारिएका नेपाली किशोरीको सीप र दक्षतासँग क्रिकेटविज्ञ रुमेश रत्नायके निकै प्रभावित भए। अन्य क्रिकेट अधिकारीहरू पनि नेपाली किशोरीका प्रदर्शनबाट निकै सन्तुष्ट थिए। समूह चरणमा तीन खेल जितेपछि समूह ‘ए’ विजेताका हैसियतमा नेपालले सेमिफाइनल यात्रा तय गर्यो। १७ जुलाईमा नेपाल र चीनबीच सेमिफाइनल खेल भयो। चीनमाथि ९ विकेटले जित निकाल्दै नेपाल फाइनलमा पुग्यो।

उता अर्को सेमिफाइनलमा बंगलादेशले हङकङलाई हराउँदै फाइनलमा नेपालसँग भेट्यो। अब उपाधिका लागि नेपालले बंगलादेशसँग भिड्नुपर्ने भयो। यो नेपाली महिला क्रिकेटका लागि साँच्चिकै ऐतिहासिक दिन थियो। जुहार एकेडेमीमा १८ तारिखमा फाइनल थियो। वर्षात्का कारण ओभर छोट्याएर १८ ओभर बनाइयो। नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय लियो। तर, राम्रो प्रदर्शन गर्न नसकेर ८ विकेटको क्षतिमा २६ रनमै समेटियो। बंगलादेशले ९ दशमलव १ ओभरमा २ विकेट गुमाएर २७ रन बनाउँदै पहिलो एसीसी वुमन च्याम्पियनसिप ट्रफी उचाल्न सफल भयो। प्लयेर अफ द टुर्नामेन्ट बंगलादेशकी पन्ना घोष भइन्। हङकङकी कप्तान निशा प्राट उत्कृष्ट ब्याट्सओमन, नेपालकी कप्तान नेरी थापा उत्कृष्ट बलर, बंगलादेशकी विकेटकिपर मीना खातुन उत्कृष्ट विकेटकिपर घोषित भइन्। उपाधि त जित्न सकिएन तर नेपाली किशोरीहरूले दर्शकको मन जिते। एसीसी महिला विभागका अधिकारीहरूले नेपाली टोलीको मुक्तकण्ठले प्रशंसा गरेका थिए।

नेपालबाट बारम्बार फोन आइरह्यो। सबैले बधाइ दिइरहेका थिए। मेरा आँखाबाट खुसीका आँसु झरे। त्यतिबेला मैले महिला क्रिकेटको सुरुआती दिनहरू सम्झिएँ। यो उपलब्धिले प्रारम्भिक दिनमा गरिएको मिहिनेत र दौडधुप सबै बिर्साइदिएको थियो।

अम्पायरको धाँधली

प्रथम एसीसी महिला क्रिकेट च्याम्पियनसिपमा सबै अम्पायर मलेसियन थिए। सम्भवतः एसीसीले आर्थिक पक्षलाई ध्यान दिएर होला, अम्पायर मलेसियन नै राखेको थियो। १४ जुलाईमा मलेसियाविरुद्ध खेल थियो। घरेलु टिम हुनुका नाताले नेपाली टिमलाई अलिक दबाब महसुस भइरहेको थियो, जुन स्वाभाविकै थियो।

मलेसियाविरुद्ध खेलमा अम्पायरहरूले अलिक पक्षपाती निर्णय गरे। कतिपय दिनु नपर्ने निर्णय दिइरहेका थिए। मलाई चित्त बुझिरहेको थिएन। म आफैं क्रिकेटको विद्यार्थी, ७२ रनको लक्ष्य हामीले पछ्याइरहेका थियौं। राम्रो खेलिरहेका हाम्रा खेलाडीलाई गलत आउट दिने काम भयो। गलत आउट दिइरहँदा मलाई रिस उठ्यो।

पूर्वखेलाडीका नाताले मैले सहजै नियमहरू उल्लंघन भएको ठम्याएँ। म्याचको रेफ्री मिस सुधा साह थिइन्। अम्पायरहरू एस चन्द्र सेखरन, एम मेघाकेवट थिए। म्याच रेफ्रीहरूलाई अम्पायरले गरेको वायस निर्णयबारे मैले रिस पोखें। गलत निर्णयविरुद्ध एसीसीमा उजुरी गर्छु भनेर धम्की पनि दिएँ। उनीहरूले तीनवटा गलत निर्णय दिएका थिए। त्यसका बाबजुद पनि हामीले म्याच टाइ गरायौं।

म्याच टाइ भएपछि हाम्रो टोली ड्रेसिङ रुममा आएर रुन थाल्यो। कोही सुक्कसुक्क गरिरहेका थिए, केही त डाँको छोडेरै रोए। राम्रा खेलाडीहरू नेरी, ममता, सीता, सरस्वती रोइरहेका थिए। त्यो देखेपछि हाम्रा खेलाडी जितका लागि कति विश्वस्त रहेछन् भन्ने थाहा भयो। हामीले जितेको म्याच अम्पायरका गलत निर्णयले बराबरीमा पुगेको थियो। त्यो खेलमा निरा राजोपाध्यायले राम्रो खेलेकी थिइन्। पछि उनी महिला क्रिकेट टिमको कप्तानसमेत भइन्।

पहिलो दिन नै होटलबाट बसमा चढिरहँदा अरू देशका खेलाडीहरूसँग ठूूल्ठूला किट ब्यागहरू देखेको थिएँ। हङकङ, चीन, थाइल्यान्ड, सिंगापुरका खेलाडीका व्यक्तिगत किट ब्यागहरू थिए। सबैसँग विदेशी कोच थिए। हामीसँग गएका थिए, जंगबहादुर थापा। हाम्रो व्यक्तिगतभन्दा पनि सामूहिक ठूलो किट ब्याग थियो। त्यसमा सबैका सामान राखिएको थियो। मैदान उत्रिने अनुभवमा पनि अरू देशका खेलाडीका तुलनामा हाम्रा नानीहरू भर्खर कुनै ग्रामीण क्षेत्रबाट आएजस्ता देखिन्थे।

थाइल्यान्डलाई हराएपछि भने हाम्रा खेलाडीमा उत्साह बढ्यो। मलेसियासँगको म्याचले खेलाडीहरू निराश भए। पत्रकार पवित्रा राउत पनि सँगै थिइन्। उनले पनि खेलाडीलाई अर्को खेलमा राम्रो प्रदर्शन गर्न सम्झाइन्। जंग दाइ र मैले काउन्सिलिङ गरेपछि १५÷२० मिनेटपछि माहोल बल्ल सम्हालियो। त्यसलगत्तै मैले नोटिस लेखें। अम्पायरको सम्बन्धमा म्याच रेफ्रीलाई मैले लिखितरूपमा भने– ‘यो धाँधली भयो। अम्पायरले धाँधली गरे। यो क्रिकेटका लागि दुर्भाग्यपूर्ण भयो। आजका अम्पायरको गतिविधि क्रिकेटको हितमा छैन। यस्ता क्रियाकलापलाई तुरुन्त रोक्न टिमका तर्फबाट लिखित आग्रह गर्दछु।’

अम्पायरहरूको प्रतिवेदन क्याप्टेनले नोटिस दिनुपर्छ। ती अम्पायरलाई हामीले कुनै अंक नै दिएनौं। बायस अम्पायरिङ लेखेर दियौं। वास्तवमा त्यो दुःखद थियो। मलेसिया जसरी पनि हामीलाई हराउने ध्याउन्नमा लागेको थियो। उनीहरूको मनसाय नै त्यस्तो थियो। हाम्रो भाग्य बलियो थियो, धन्न हार बेहोर्नुपरेन।

दाबेदार हङकङलाई तगारो

मलेसियाका मैदान व्यवस्थित थिए, निकै आकर्षक पनि। दर्शक उपस्थिति भने निकै कम। नेपालको खेल हुँदा मैदानमा नेपाली समर्थक भने उल्लेख्य देखिन्थे। यसले आयोजकमा पनि अलग छाप परेको थियो। जोहार क्रिकेट मैदानमा धेरै नेपालीको उपस्थितिले हामीलाई हौसला मिल्यो। ती नेपालीहरूको हौसलामा हङकङसँगको म्याचमा हाम्रा खेलाडीले उत्कृष्ट प्रदर्शन गरे। हङकङ उपाधिको दाबेदार मानिएको थियो। उसको टिममा विदेशी क्लबबाट खेलेका खेलाडीसमेत थिए। न्युजिल्यान्ड, इंग्ल्यान्डमा खेल्ने खेलाडीहरू हङकङको टिममा थिए। क्याप्टेन निशा प्राट न्युजिल्यान्डमा खेलेकी थिइन्। न्युजिल्यान्ड विश्व क्रिकेटमै राम्रो टोली मानिन्छ। त्यस्तो देशमा खेलिरहेका खेलाडी हङकङ टिममा हुनु नेपालका लागि मनोवैज्ञानिक दबाब थियो। त्यसमाथि खेल नहुँदै हङकङ बलियो टिम भनेर प्रचारबाजी गरिएको थियो।

हाम्रा नानीहरूलाई मनोवैज्ञानिक हिसाबले बलियो बनाउन जरुरी थियो। मलेसिया प्रस्थान गर्नुअघिदेखि नै मैले सम्झाइरहेको थिएँ, ‘पहिलोपटक खेल्दै छौं। हामीले पराजित भएर केही गुमाउनेवाला छैनौं। जित्नुभन्दा पनि राम्रो खेल्नुपर्ने छ यतिबेला। एसीसीको नजरमा राम्रो टिम बन्नुपर्नेछ।’ नानीहरूले हस् भन्दै टाउको हल्लाएका थिए।

हङकङलाई ३६ रनमा समेटेर नेपाली टिमले साँच्चिकै राम्रो प्रदर्शन गरेको थियो। नेपालले एक रन पनि अतिरिक्त दिएन, न नो बल, न त वाइड बल। त्यो आफँंमा ठूलो उपलब्धि थियो। पहिलो खेल खेलिरहेका खेलाडीले एक रन पनि अतिरिक्त नदिनु अचम्मै भएको थियो। एसिया डेभलपमेन्ट म्यानेजर रुमेस रत्नाकेले हाम्रो खेल देखेर अत्यधिक प्रभावित हुँदै भनेका थिए– ‘वेल डन, भेरी नाइस बलिङ, नेपाल टिम।’

त्यो म्याचमा हामीले हङकङलाई हरायौं। त्यो प्रतियोगिताभरीको उलटफेर थियो। एकदमै खुसीको माहोल बनेको थियो। त्यसले नेपाली समर्थकलाई ठूलो खुसी दिएको थियो। त्यसैले उनीहरूले हाम्रा खेलाडीहरूसँग फोटो खिचाए।

जोहारका राजाले बोलाए

नेपाली टिमको लिआजो अफिसर फिलिपिनी जुलियट थिइन्। उनी मलेसियामा बसेर काम गर्थिन्। जुलियटले खबर ल्याइन्– ‘नेपाली टिमसँग राजाले भेट्न चाहनुभएको छ।’ जोहार राज्यका राजाले आफ्नो पोलो खेल्ने मैदानमा बोलाएका रहेछन्। राजाले नै भेट्ने इच्छा जनाएका छन्, हामी निकै खुसी भयौं। नेपाली किशोरीहरूको खेलको चर्चा सर्वत्र फैलिरहेको थियो। १२ जुलाईका दिन नेपालले थाइल्यान्डमाथि जित दर्ता गरेको थियो। राजाले पनि यो खबर सुनेछन्। मैदानबाट नेपाली टोली बसमा चढेर सिधैं त्यहाँ पुग्यो। खेलाडीहरू थकित थिए तर जितले त्यो थकान बिर्सिएका थिए।

हामी पुग्दा पोलो खेल भइरहेको थियो। छोरा÷नाति खेलिरहेका थिए, राजा भने उनीहरूको खेल हेरिरहेका थिए। हामी पुग्नासाथ त्यहाँ कसैले बस्नका लागि संकेत गर्यो। हामी एकछिन मात्रै बस्न पाएका थियौं, राजा उठे। राजा उठेपछि सबै उठ्नुपर्ने रहेछ, हामी सबै उठ्यौं। ती राजा कहिले अगाडि त कहिले पछाडि जान्छन्। सायद उनी खेलमै मग्न थिए।

हाम्रा नानीहरू मैदानबाट सिधैं त्यहाँ पुगेका थिए। उनीहरूको खासै ख्याल नगरिँदा कताकता नमजा पनि लाग्यो। भर्खरै नेपालमा राजा फालिएका थिए। देशमा गणतन्त्र आइसकेको थियो। आफ्नै देशमा राजा बिदा भएकाले पनि पराइ भूमिका राजाको रवाफ त्यति चित्तबुझ्दो लागिरहेको थिएन। तर, त्यहाँ राजाप्रति उच्च सम्मान थियो। सायद राजा जनतामाझ लोकप्रिय छन् कि। उनी २०/२५ मिनेट आफ्नै सुरमा रहे। जब पोलो खेल सकियो, नातिहरू भेट्न आए। अनि राजा बसे, हामीले पनि बस्ने अनुमति पायौं। वास्तवमा राजाले हाम्रो सम्मान र स्वागतका लागि बोलाएका थिए। उनले धेरै कुरा गरेनन्। हामीसँगै खाजा खाए अनि बिदाइ गरे।

लिआजो अफिसर मिसेस जुलियट छोरालाई डेरामा छाडेर आउने गर्थिन्। उनको विवाह चिनियाँ मूलका नागरिकसँग भएको थियो। उनीसँग घुलमिल भएपछि सबै कुरा सेयर गरेकी थिइन्। श्रीमान्ले दुव्र्यवहार गर्दा रहेछन्। उनको समस्या बुझेर मैले उनको छोरालाई सँगै होटलमा राख्न प्रबन्ध मिलाइदिएँ। यसका लागि मैले लिआजोको हेड जोहार क्रिकेट एकेडेमीका चिफ डा. हरजित सिंहसँग अनुमति लिएँ। उनलाई दातो भनिन्थ्यो। विशिष्ट व्यक्तित्वलाई मलेसियामा दातो भनिँदो रहेछ।

दातो लेखिएको व्यक्ति मलेसियामा सम्मानितमा गनिँदो रहेछ। लिआजो चिफसँग पनि मैले निवेदन गरें। उनले स्वीकृति दिए। मैले यो सबै प्रबन्ध मिलाइदिएपछि जुलियट मसँग खुसी थिइन्। हाम्रा खेलाडीसँग त उनको घनिष्टता झन् बढ्यो। छोटो समयमै उनी हाम्रो टिमकी पारिवारिक सदस्य भइसकेकी थिइन्। प्रतियोगिता सकिएर छुट्ने बेला जुलियटले हाम्रा खेलाडीसँग अँगालो मारेर रुँदै भनेकी थिइन्– ‘तिमीहरूले मलाई ठूलो खुसी दियौ।’ उनी अहिले आफ्नै देश फिलिपिन्स फर्केर खेतीपाती गरेर बसेकी छिन्।

(नेपाली क्रिकेटका पूर्वकप्तान क्षेत्रीको आउँदो साता सार्वजनिक हुने आत्मकथा
‘कप्तान ः १९९८’ को अंश )

प्रतिक्रिया दिनुहोस्