निबन्ध कृति ः छेउ न टुप्पो



ज्ञानमणि नेपाल कालोटोपी

छेउ न टुप्पो प्रकाशप्रसाद उपाध्यायको निबन्ध कृति हो। यस कृतिका लेखकसँग अल इन्डिया रेडियो, नयाँ दिल्ली, भारतबाट प्रसारित हुने नेपाली कार्यक्रममा ४२ वर्ष अनुवादक–उद्घोषक, समाचारवाचक, कार्यक्रम निर्माताका रूपमा काम गरेको अनुभव छ। उहाँ त्यहाँबाट सन् २००४ मा सेवानिवृत्त भई हाल स्वतन्त्र पत्रकारको रूपमा पत्रपत्रिकाका लागि लेखन एवम् अनुवाद कार्यमा क्रियाशील हुनुहुन्छ। उपाध्यायका यसअघि नेपाली र हिन्दीमा विभिन्न कृति प्रकाशित छन्।

उहाँका नेपालीमा रेडियो जिन्दगी (अल इन्डिया रेडियोमा चार दशक), नेपाली लोककथा सङ्ग्रह (नेपाली र हिन्दीमा) आदि कृति प्रकाशित छन्। त्यस्तै हिन्दीमा वीर गणेशमान सिंह की सङ्घर्ष गाथा, गणतन्त्र के लिए सङ्घर्ष, वीर जाति की अमर कहानी आदि प्रकाशित छन्। उहाँले केही कोशहरू पनि रचना गर्नुभएको छ। ती कोशहरू हुन्– हिन्दी–नेपाली शब्दकोश, नेपाली–हिन्दी शब्दकोश, भारतीय भाषा कोश। उहाँले हिन्दी–नेपाली वार्तालापसम्बन्धी एउटा पुस्तिका पनि प्रकाशनमा ल्याउनुभएको छ। उहाँको पछिल्लो कृतिका रूपमा छेउ न टुप्पो (निबन्ध सङ्ग्रह) आएको छ। यहाँ यसै सङ्ग्रहबारे उल्लेख गरिएको छ।

छेउ न टुप्पो कृतिमा १७ वटा रचना समेटिएका छन्। ती हुन्– पर्यटनको रोमाञ्च, यमलोकको यात्रा, घरमा लेखक, वेदना, उपनामको खोजी, भिजिटिङ कार्ड, लेखक बन्न खोज्दा, बहालको घर, लक्ष्मीको अभिवादन र …, कचकच, रहरको पूर्ति, रत्नको खोजी गर्दा, निचोड, एक्काइसौँ शताब्दीको चिन्तन, प्रतीक्षा, गुन बैगुन, लन्च आवर, ओउम् शान्ति शान्ति शान्ति।

पर्यटनको रोमाञ्च निबन्धमा शीर्षकले समेटेको पर्यटनको रमाइलो पक्षसँगै सांस्कृतिक विचलनप्रति केही व्यङ्ग्य पनि गरिएको छ। यस निबन्धको म पात्र ब्राह्मण भएर ब्राह्मणजस्तो नभएको कुरालाई मूल विषय बनाइएको छ। त्यस्तै यमलोकको यात्रा हाँसो र व्यङ्ग्य मिसिएको रचना हो। यसमा पैदलै यमलोक हिँडेको म पात्रको वर्णन छ। यहाँ म पात्रको यमदूतसमक्षको स्पष्टीकरण रमाइलो लाग्छ– ‘कसैलाई रुवाएको छैन, निमुखा पत्नी र छोराछोरीबाहेक। परस्त्री गमन गरेको छैन, कर्के नजरले हेर्नु र मस्किनुबाहेक। चोरी गरेको छैन, डाँका मारेको छैन, बाल्यकालमा बाबुको खल्तीबाट खुद्रा पैसा र सुपारी ल्वाङ झिक्नुबाहेक …।

यहाँ अपराधका फरक–फरक पक्षलाई देखाउने प्रयत्न गरिएको छ। आफूले गरेको छैनमा अरूले गरिरहेका छन् भन्न खोजिएको छ। यहाँ यमलोकको वर्णनपछि आफ्नै ओछ्यानमा बिउँझिएको अवस्था देखाई निबन्धलाई रमाइलो र हाँसोपूर्ण बनाइएको छ। घरमा लेखकमा लेखकको एउटा लेखका आधारमा परिवारका सदस्यले गरेको शंकालाई समेटिएको छ। यो पनि हास्यव्यङ्ग्यप्रधान निबन्ध नै हो। यसमा पनि लेखक र परिवारबीचको द्वन्द्वलाई समेटिएको छ। यसमा लेखक र परिवारका दुवै पक्षका कमजोरी बाहिर ल्याइएको छ।

त्यस्तै उपनामको खोजी पनि व्यङ्ग्य निबन्ध नै हो। यसमा उपनाम के राख्ने भन्ने विमर्शबाट उपनामधारीहरूलाई व्यङ्ग्य गरिएको छ। भिजिटिङ कार्ड पनि अनावश्यक सम्पर्कप्रति व्यड्ग्य गरिएको रचना हो। यसमा क्षमताविनै पत्रकार बन्नेहरूलाई नङ्ग्याइएको छ। लेखक बन्न खोज्दा पनि साहित्यिक बौद्धिक क्षेत्रकै विसंगतिप्रतिको व्यड्ग्य हो। रहरको पूर्ति मान्छेले जे देख्यो त्यही गर्न खोज्छ भन्ने दृष्टिकोणको निबन्ध हो। यस्ता रचनाले मानिसका बहुमुखी कमजोरीमाथि व्यड्ग्य गरेका छन्। मानिसका पारिवारिक र सामाजिक समस्यालाई उठाएका छन्।

प्रतिक्रिया दिनुहोस्