२०१८ का केही अन्तर्राष्ट्रिय खेल महाकुम्भ



कविरस शर्मा
संसारका अन्य क्षेत्रझैं विश्व खेलकुद जगत् पनि सन् २०१९ मा प्रवेश गर्ने तरखरमा छ। हरेक क्षेत्रझैं विश्व खेल जगत्मा पनि वर्ष २०१८ मा केही खेलका महाकुम्भ आयोजना भएका थिए। २०१८ मा विश्व खेलप्रेमी विश्व चर्चित प्रतियोगिताको साक्षी बने। हरेक वर्षझैं यस वर्ष पनि विश्वचर्चित अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना भए। तीमध्ये पनि विश्वका अधिकांश मान्छेलाई आकर्षित गर्न सफल केही प्रतिष्ठित खेल महाकुम्भको यहाँ संक्षेपमा चर्चा गरिएको छ।

फिफा विश्वकप फुटबल, रसिया

सन् २०१८ कै सबैभन्दा चर्चित खेल महोत्सव बनेको थियो, फिफा विश्वकप फुटबल। सन् १९३० बाट शुरू भएकोफिफा विश्वकपको २१औं संस्करणका म्याचहरू रसियाको विभिन्न ११ शहरका १२ वटा रंगशालामा खेलाइएको थियो। १४ जुन देखि १५ जुलाईसम्म चलेको उक्त प्रतियोगितामा ५ महादेशका ३२ राष्ट्रले प्रतिस्पर्धा गरेका थिए।

यसपटक विश्वकपकै इतिहासमा पहिलोपटक २ सय ९ राष्ट्रले छनोट चरणका म्याच खेलेका थिए। जसबाट एक आयोजकसहित अन्य ३१ राष्ट्र अन्तिम चरणका लागि छनोट भएका थिए। छनोट भएकामध्ये पहिलोपटक विश्वकपको अन्तिम ३२ भित्र परेका पानामा जनसंख्याको आधारमा सबैभन्दा सानो राष्ट्र बनेको थियो।

प्रतियोगितामा फ्रान्सले फिफा विश्वकप दोस्रोपटक उचाल्न सफल बन्यो। फ्रान्सले पहिलोपटक फाइनलमा स्थान बनाएको क्रोएसियालाई ४–२ गोल अन्तरले पराजित गरेको थियो।

कुल ६४ म्याच खेलिएको उक्त प्रतियोगितामा इंग्ल्यान्डलाई २–० ले पराजित गर्दै बेल्जियमले तेस्रो स्थान हासिल गरेको थियो। प्रतियोगिताभरि इंग्ल्यान्डका ≈यारी केनले सर्वाधिक ६ गोल गरेका थिए। यसै गरी क्रोएसियाका प्लेमेकर लुका मोड्रिच उत्कृष्ट खेलाडी बन्दा फ्रान्सका क्लियन एम्बाप्पे उत्कृष्ट युवा फुटबलर घोषित भएका थिए।

उक्त फिफा विश्वकप संसारभरि ३ सय ५७ करोडले हेरेको फिफाले एउटा तथ्यांकमार्फत सार्वजनिक गरेको थियो। जसअनुसार टेलिभिजन र डिजिटल प्लेटफर्म दुवैलाई मिलाएर सो आँकडा तयार पारिएको हो। फिफा विश्वकप टेलिभिजनमार्फत कम्तीमा पनि एक मिनेट म्याच हेर्नेको संख्या ३ सय २६ करोड तथा अन्य डिजिटल प्लेटफर्ममार्फत ३० दशमलव ९७ करोड दर्शकले हेरेका थिए। फ्रान्स र क्रोएसियाबीच भएको फाइनललाई १ सय १२ करोड दर्शकले हेरेका थिए। जसमध्ये ८८ दशमलव ४३७ करोड दर्शकले टेलिभिजन र २३ दशमलव १८२ करोड दर्शकले डिजिटल प्लेफर्ममार्फत हेरेको तथ्यांकमा उल्लेख छ।


१८औं एसियन गेम्स, जाकार्ता र पालेमबाङ

प्रत्येक ४ वर्षको अन्तरालमा आयोजना हुने एसियाली राष्ट्रहरूको खेल महाकुम्भको १८औं संस्करण इन्डोनेसियाली शहर जाकार्ता र पालेमबाङले संयुक्तरूपमा आयोजना गरेको थियो। एसियन गेम्सको इतिहासमा दुई शहरले संयुक्तरूपमा आयोजना गरेको यो पहिलोपटक हो। १८ अगस्टदेखि २ सेप्टेम्बरसम्म एसियाली खेलकुदको माहोल तताएको यस खेल महोत्सवमा ४५ राष्ट्रका ११ हजार ७ सय २० खेलाडीले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा ४० खेलका ४ सय ६५ इभेन्ट्स खेलाइएको थियो।


प्रतियोगिताको पदक तालिकामा यसपटक पनि चीनले नै शीर्षस्थान हासिल गरेको थियो। १ सय ३२ स्वर्ण ९२ रजत र ६५ कांस्यसहित चीनले कुल २ सय ८९ पदक जितेर प्रथम स्थान कब्जा गर्दा ७५ स्वर्ण, ५६ रजत र ७४ कांस्यसहित जापान दोस्रो स्थानमा सूचीकृत बनेको थियो।

यस्तै तेस्रो स्थानका दक्षिण कोरियाले ४९ स्वर्ण ५८ रजत र ७० कांस्य जितेका थिए। आयोजक इन्डोनेसिया भने ३१ स्वर्ण २४ रजत र ४३ कांस्यसहित पदक तालिकाको चौथो स्थानमा रहेको थियो।

प्रतियोगितामा नेपालले २० वर्षपछि दोस्रो रजत पदक जित्न सफल भएको थियो। नेपालका लागि सुशील गुरुङ, युकेश गुरुङ, विमल अधिकारी, विजय गौतम र विशाल थापाले पाराग्लाइडिङमार्फत रजत पदक जितेको हो। यसअघि सन् १९९८ को बैंककमा सम्पन्न एसियन गेम्समा तेक्वान्दोका सविता राजभण्डारीले ऐतिहासिक पहिलो रजत पदक नेपाललाई दिलाएकी थिइन्।

हिउँदे ओलम्पिक, प्योङचाङ
सन् १९२४ मा पहिलोपटक फ्रान्सको चामोनिक्सबाट शुरू भएको हिउँद ओलम्पिकको २३औं संस्करण यसै वर्ष दक्षिण कोरियाको प्योङचाङमा सम्पन्न भएको थियो। २०१८ को फेब्रुअरी ९ देखि २५ सम्म चलेको सो प्रतियोगिता आयोजना गर्न प्योङचाङले म्युनिख र एन्नेसीलाई मतदानमा पछि पारेका थिए।
९२ राष्ट्र सहभागी उक्त प्रतियोगितामा हिउँसँग सम्बद्ध ७ खेलअन्तर्गत विभिन्न १५ स्पर्धाका खेल खेलाइएका थिए। यो खेल संख्या अघिल्लो संस्करणको भन्दा ४ स्पर्धा बढी हो। यसपटक बायथलन, बबस्ले, स्केलेटन, कर्लिङ, आइस हकी, लुगे, फिगर स्केटिङ, सर्ट ट्र्याक स्पिड स्केटिङ, स्पिड स्केटिङ, अल्पाइन स्किङ, क्रस कन्ट्री स्किङ, फ्रिस्टाइल स्किङ, नर्दिक कम्बाइन्ड, स्कि जम्पिङ र स्नो बोर्डिङ खेलका इभेन्ट्समा महिला र पुरुष गरी कुल २ हजार ९ सय २२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

उक्त प्रतियोगिताको उद्घाटन र समापन समारोहका लागि मात्र १ सय मिलियन अमेरिकी डलर बराबर रकम खर्च गरिएको थियो। प्रतियोगिताको उद्घाटन समारोहमा उत्तर र दक्षिण कोरियाले संयुक्तरूपमा मार्चपास गरेका थिए। यस्तै डोपिङका कारणले प्रतिबन्धमा परेको रसियाली खेलाडीले भने ओलम्पिकको झण्डामुनि प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगितामा १४ स्वर्ण, १४ रजत र ११ कांस्यसहित कुल ३९ पदक जितेर नर्वेले पदक तालिका शीर्ष स्थान ओगटेको थियो। यस्तै १४ स्वर्ण १० रजत र ७ कांस्य गरी कुल ३१ पदकसहित जर्मनी दोस्रो तथा ११ स्वर्ण, ८ रजत र १० कांस्यसहित क्यानडा तेस्रो बनेको थियो। आयोजक दक्षिण कोरिया भने ५ स्वर्ण ८ रजत र ४ कांस्य जित्दै पदक तालिकाको सातौं स्थानमा सूचीकृत बनेको थियो।

कमनवेल्थ गेम्स, गोल्डकोस्ट
कुनै समय बेलायती उपनिवेशअन्तर्गतका देशहरू सहभागी हुने कमनवेल्थ गेम्स सन् १९३० देखि १९५० सम्म ब्रिटिस एम्पायर गेम्सबाट समेत परिचित थियो। अस्ट्रेलियाको क्विन्सल्यान्डस्थित गोल्डकोस्टमा २०१८ को अप्रिल ४ देखि १५ सम्म २१औं संस्करणको कमनवेल्थ गेम्स सम्पन्न भएको थियो। योसमेत अस्ट्रेलियाली शहरले पाँचौंपटक कमनवेल्थ गेम्सको आयोजना गरेको थियो।

उक्त प्रतियोगिता आयोजनाका लागि गोल्डकोस्टले श्रीलंकाको ≈याम्बानटोटालाई मतदानमा उछिनेका थिए। प्रत्येक ४–४ वर्षको अन्तरालमा हुने यस प्रतियोगितामा यसपटक कमनवेल्थअन्तर्गत ७१ राष्ट्रका ४ हजार ४ सय २६ खेलाडीले विभिन्न १९ खेलका २ सय ७५ इभेन्ट्समा प्रतिस्पर्धा गरेका थिए। महिला र पुरुष खेलाडीका लागि समान इभेन्ट्स संख्या राखिएकाले उक्त प्रतियोगितालाई पहिलो लैंगिक समानता भएको खेल महाकुम्भका रूपमा आयोजना गरिएको थियो।

प्रतियोगितामा ८० स्वर्ण ५९ रजत र ५९ कांस्य जितेर आयोजक अस्ट्रेलियाले पदक तालिकाको शीर्ष स्थान ओगटेको थियो। यसै गरी सन् २०१४ मा ग्लास्गोमा सम्पन्न अघिल्लो संस्करणमा शीर्ष स्थान ओगटेको इंग्ल्यान्ड भने यसपटक दोस्रो स्थानमा झरेको थियो। ४५ स्वर्ण ४५ रजत र ४६ कांस्य जित्दै इंग्ल्यान्ड दोस्रो बन्दा २६ स्वर्ण २० रजत र २० कांस्य जित्दै भारत पदक तालिकाको तेस्रो स्थानमा सूचीकृत बनेको थियो।

प्रतिक्रिया दिनुहोस्