अमेरिकी हिरासतमा आप्रवासी बालकको मृत्यु



वासिङ्टन, (एजेन्सी)
ग्वाटेमालाका एकजना ८ वर्षीय बालकको अमेरिकाको सरकारी हिरासतमा मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएको छ। यसै महिना अमेरिकी हिरासतमा मर्ने यिनी दोस्रो आप्रवासी बालक हुन्। सीमा सरकारी निकायले केही घन्टा बिरामी परेको लक्षण देखिएपछि सोमबार राति उनको मृतयु भएको जनाएको छ। टेक्सासका एकजना कंग्रेसले ती बालकको नाम फेलिपे एलोजो गोमेज भएको खुलासा गरेका छन्।

अवैधरूपमा अमेरिका–मेक्सिको सिमाना काटेको अभियोगमा १८ डिसेम्बरमा ती बालकलाई उनका पितासँगै हिरासतमा लिइएको थियो। यसै महिनाको शुरूमा एकजना ७ वर्षीया बालिकाको जल विनियोजनका कारण यसरी नै हिरासतमा लिइएको केही घन्टापछि नै मृत्यु भएको थियो।

ग्वाटेमालकै ज्याकलिन काल नामक ती बालिकाको अन्ततः कडा ज्वरो आएपछि कलेजोले काम नगर्ने अवस्थामा पुगेको थियो। मंगलबार मात्र उनकै गाउँमा उनको अन्त्येष्टि गरिएको थियो। सुविधा र अवसरको खोजीमा मध्यअमेरिकी राष्ट्र ग्वाटेमाला, होन्डुरस तथा एल साल्भाडोजस्ता मुलकबाट हजारौं आप्रवासी अवैध ढंगले अमेरिका पुग्ने गरेका छन्।

तिनीहरुमध्ये अधिकांशले आफ्नो राष्ट्रमा हिंसा र अन्य कानुनी कारबाहीबाट बच्नका लागि अमेरिकामा शरणार्थी बन्ने उद्देश्यले आएकोे बताउने गरेका छन्। टेक्सासको एल पासोमा हिरासतमा लिइएका ती बालक र उनका पितालाई शुरूमा एउटा स्थानीय प्रशोधन केन्द्रमा दुई दिन थुनिएको थियो। त्यसपछि तिनीहरुलाई एल पासो सीमा गस्ती चौकीमा दुई दिन थुनिएको थियो। २२ डिसेम्बरमा तिनीहरुलाई न्यु मेक्सिको नजिकको अलामोगार्डो सीमा गस्ती चौकीमा सारिएको थियो। अन्ततः उनको त्यहीं मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्