विकासका खातिर जनताको खबरदारी



निरज बराल
मुलुकलाई उन्नतिको शिखरतर्फ लम्काउन वर्तमान दुई तिहाइ बहुमतको सरकारलाई असहज नहुनुपर्ने हो। तर उसको अलोकतान्त्रिक कार्यशैली नै प्रमुख बाधक भएको जनताको ठम्याइ छ। जसको कारणले ऊ बिस्तारै दिन–परदिन नाङ्गिँदै, भड्खालोमा जाकिँदै गइराखेको छ। योग्यता, दक्षता, परिपक्वताजस्ता सर्वमान्य मापदण्डलाई तिलाञ्जलि दिँदै नातागोतावाद, कृपावाद, चाकरी–चाप्लुसीमा गरिएका सरुवा, बढुवा, नियुक्तिमा एकल निर्णयलाई अंगिकार गरिएको छ।

पार्टीपंक्ति तथा सहकर्मीहरूसँग सरसल्लाह नगरी एकल नीरोको बाँसुरी बजाइको तालमा कार्य भइरहेको छ। सरकार हरिप सल्लाहकारहरूको चौघेरामा मगनमस्त छ। उनीहरूको ध्यानदृष्टिचाहिँ कहाँबाट कमिसन आउँछ र गुमुक्र्याउन पाइन्छ भन्नेमा छ। मन्त्री–मन्त्राणीहरू राजसी ठाँटबाट र शान–सौकतमा छन्। उनीहरूको बोलीबचन र कार्यशैली हेर्दा जनताको पीर–मर्कामा एकरत्ति पनि सरिक नभएको अनुभूति हुन्छ। सहभागिता र सामूहिकताजस्ता लोकतान्त्रिक विधि र प्रक्रियालाई रद्दीको टोकरीमा मिल्काउँदै, अहंताको हुंकारले गर्जंदै, बुद्धिजीवी र मिडियाजस्ता समाजका अभिन्न पहरेदार तथा अगुवालाई खेदो खनेर, निषेध गरेर आफूलाई किञ्चित लाज नलाग्ने आवारागिरीदेखि जनता वाक्कब्याक्क, हैरान र आक्रोशित छन्।

सात दशकको राजनीतिक संघर्ष, हजारौं शहीदको बलिदानीपश्चात् प्राप्त उपलब्धिलाई ख्यालठट्टा, हँसिमजाकमा राज्य सञ्चालन गर्नु नेतृत्वको गैरजिम्मेवारी वा निकम्मापन र नालायकीपन भन्दा अत्युक्ति हुन्न। नेताजीहरूले जेलनेल, हन्डर, ठक्कर, ज्यादती बिर्सिएको देख्दा इतिहासका पानाहरू पुनः पल्टाउँदै खोजी–खोजी पढ्नुपर्ने देखिन्छ। राजनीति सेवाबाट पेसातिर निरन्तर धकेलिँदै गएको छ। ‘राम्रालाई पन्छाउँदै, हाम्रालाई चेप्दै’ को पद्धति बसाल्ने हो भने आगामी दिन दुर्गति र अधोगति नै हो। गोरु बेचेको साइनो लाउने त हामी नेपालीको पुरानै चलन हो। जसको पछि नलाग्नु नै देश हितमा छ। राज्यको मूलधारमा नसमेटिएका र वञ्चित वर्गहरूलाई शिक्षा र तालिमले लेसयुक्त नगराएसम्म रोजगार बजारले खोजेजस्तो उपयुक्त जनशक्ति प्राप्त गर्न गाह्रो हुन्छ। जसले गर्दा गुणस्तरीय उत्पादन तथा उत्पादकत्वमा नकारात्मक असर पर्छ। जो हाम्रो जस्तो विकासोन्मुख देशमा आर्थिक फड्को हान्न प्रमुख अड्चन हो।

यस्तै राजनीतिक निराशाको अवस्थामा नै प्रतिक्रियावादीहरूले मौकाको फाइदा उठाउँदै जनतालाई सेन्टिमेन्टल ब्ल्याकमेलिङ गरी लोकतान्त्रिक परिपाटीलाई दिग्भ्रमित गर्न सक्छन्। फलस्वरूप मुलुकले फेरि अर्को अधिनायकवाद या निरंकुशताको परीक्षण बेहोर्नुपर्ने हुनसक्छ। जो कदापि नेपाली जनतालाई पाच्य र सह्य हुनेछैन। परन्तु के ठेगान, राजनीतिक गन्जागोल फेरि पनि पो भोग्नुपर्ने हो कि ?

जनता सरकारको रबैयामा हुँदै त छ नि, यस्तै त हो नि, गरिहाल्छन् नि, अब गर्लान् नि त, समय छँदै छ नि ⁄ जस्ता आशावादितामा अभ्यस्त हुँदै गइरहेका छन्। यसभित्रको सहनशीलतालाई सरकारले जे गरे पनि हुन्छ भन्ने मौन स्वीकृति बुझ्न सक्छ। लगभग २० वर्षपहिले हुनुपर्छ, भारतमा एकफेर खाना पकाउने ग्यासको भाउ सामान्य बढ्दा दिल्लीका गृहिणीहरू सडकमा उत्रिएर रित्तो थाल र चम्चा ठटाउँदै डाडुपन्यु, कराही, कसौंडी लिएर नारा जुलुस गरी घटाउन बाध्य पारेको देख्ने यो पङ्तिकार पनि हो। नेपाली जनताको जायज चिजमा ढिलो तात्ने र प्रतिक्रिया जनाउने स्वभावले मनोमानी गर्नेको मनोबल बढी नै रहन्छ। परिस्थिति अत्यन्त बिग्रिएपछि सपार्नुभन्दा बिग्रँदा बिग्रँदै ठीक गर्नु, चेतावनी दिनु, आवश्यक विरोध गर्नु, बुद्धिमानी ठहर्छ। यो मामलामा हामी नेपाली जनता साह्रै कमजोर छौं भन्दा हुन्छ। आफ्नो एकभोटको अधिकार प्रयोगपछि सरकारको स्वेच्छाचारिता र बलजफ्ती गराइप्रति अनदेखा गर्नु अनुदारतालाई बढावा दिनु हो। जनताको निरन्तर पहरेदारी र बुलन्द आवाजविना सरकारको चालढाल ठीक ठाउँमा आउँदैन। राज्यकोष तथा साधन–स्रोतमा हालिमुहाली गरी अधिकार दुरूपयोग हुन थाल्यो भन्देखिन् ठाडोरूपले प्रतिकारमा उत्रन घामपानी, रात–बिहान केही नभनी खबरदारी गर्न निस्किहाल्नुपर्छ। यो नै सच्चा लोकतन्त्रको परिचायक हो। चिया पसल, चौतारो भेटघाट, कोठे गफगाफ र लेखनमा मात्रै सीमित हुँदै जाने हो भने लोकतान्त्रिक आवरणभित्र घिउ खान पल्केकाहरूको दुष्कर्मको परिणाम हामी नेपाली जनताले पुस्तौंपुस्ता भोग्नुपर्ने हुन्छ।

हाम्रा हिमाल, नदीनाला, तालतलैया, पहाड, पर्वत, लालीगुराँसजस्ता प्राकृतिक छटाहरूको प्रशस्तै गुणगान र व्याख्यान आफ्नो ठाउँमा छँदै छ तर नेपालीको दक्षता, योग्यता, मेहनतीपन, मधुर मुस्कानसहितको अतिथि स्वागत नै नेपालको खाँट्टी पहिचान हो र हुनुपर्नेछ। यसलाई अझ परिस्कृत र परिमार्जित गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाल र नेपालीको नाम सुनौलो अक्षरले अंकित गर्नुपर्नेछ। सोझो र सरल नेपाली कति चाँडै भ्रष्टाचारको आहालमा चुर्लुम्म डुबेको देशमा परिणत भइसकेको छ। गोर्खे खुकुरीको बहादुरीको पहिचानलाई अब तीक्ष्ण दिमाग र फरासिलो व्यक्तित्व निर्माणतर्फ अग्रसर गराउनुपर्दछ। तिमी दुःखमा पनि कस्तो मुस्कुराउन सकेको वा यस्तो भयंकर गरिबीमा पनि हाँस्न सकेको भन्नेजस्ता विदेशी र अन्यको प्रशंसालाई आलोचनाको कसीमा राखेर व्यङ्ग्य मान्नुपर्ने हुन्छ। कसैले फुरुक्क फुक्र्याउँदा वस्तुस्थिति नै नबुझी फुरुङ्ग पर्ने अनि लटिपटी पारेर लगिसकेपछि, हाम्रो दुःखलाई कसैले डलरमा बिक्री गरिसकेपछि थाहा पाउने हामी नेपालीको बानी बडो उदेक लाग्दो छ। राज्य निस्फिक्री हुने, जनता भने सधैँ दलिएको दलियै गर्ने, कहीँ–कतै आवाज नउठाउने परिपाटीले विकास र समृद्धि सुगा रटाइ हुनजान्छ। जागरुक र सचेत नागरिक नै विकासको प्रमुख अगुवा हो।

विश्वका धेरै मुलुकहरू युरोप, अमेरिका, अस्ट्रेलिया, अफ्रिका जताततै नेपालीहरू आफ्नो पौरख र मेहनतले चिनिसकेका छन्। ज्ञान–सीपले सुसज्जित छन्। उनीहरूको दुःखजडित ज्ञान र पौरखजडित कौशललाई राज्यले उचित सम्मानका साथ स्वदेशमै काम गर्ने वातावरण बनाइदिएको खण्डमा नेपाल चाँडै नै भूस्वर्ग हुनेछ। हामीले कदापि भुल्न हुन्न, तप्त गर्मी र कठ्याङ्ग्रिँदो चिसोको प्रवाह नगरीकन, वर्षौंको पारिवारिक विछोडजस्ता पीडा सहँदै परिवारकै सुखका खातिर विदेशी भूमिमा मरिमेटेर काम गर्न विवश छन् नेपालीहरू। जो हरेक असहज परिस्थितिको सामना गर्दै आफूलाई पोख्त बनाएका छन्। राज्यले आफ्ना नागरिकका यस्ता क्षमतालाई नजरअन्दाज गर्दै रहे भविष्य दुःखद नै छ।

कृषिमा आश्रित जनता दुई तिहाइभन्दा बढी भए तापनि उर्वर जमिन बाँझो हुँदै गएको छ। कृषिजन्य सामानको दिनानुदिन बढ्दो आयातले अर्थतन्त्र परावलम्बी भइसकेको छ। व्यापार घाटा चुलिँदो छ। उद्योगधन्दाको स्थापना र उद्यमशीलताको विकासविना यसको निदान असम्भव प्रायः छ। श्रमशील होनाहार दक्ष, अदक्ष, शिक्षित युवालाई निरन्तर निर्यात गरेर आयातीत सामानमा भर पर्नु ढिलो–चाँडो अर्थतन्त्रमा संकट निम्त्याउनु हो। रेमिट्यान्समा मात्र भर परेर अत्यावश्यक उपभोग्य सामग्री किन्न विदेशी मुद्रा यसै गरी खर्चिंदै जाने हो भने कुनै पनि बेला हाम्रो अर्थतन्त्र डिलबाट खुर्मुरिन सक्छ। सोही परी, बैंकका ब्याज दरहरू अहिले जसरी नै मनोमानी ढंगले छोटो–छोटो समयावधिमा बढाबढ भइरहे महँगीले जनताको ढाड मात्रै खुस्काउँदैन, अतिशय भए आर्थिक अराजकताले सडकमा ओर्लनुपर्ने परिस्थिति सिर्जना हुनसक्छ। अर्कोतिर, शेयर बजार झर्दा–झर्दा रसातल नै पुग्लाजस्तो भइसकेको छ। यी र यस्ता वस्तुगत यथार्थलाई विलम्ब नगरी यथाशीघ्र सम्बोधन नगरे अर्थतन्त्र टाट पल्टेको घोषणा सन्निकट छ।

दलाली, कमिसनखोरी, माफियागिरी, कार्टेलिङ सिन्डिकेटधारी, बिचौलियाको बिगबिगीजस्ता अर्थतन्त्रका ऐँजेरुहरूलाई समाजका हरेक क्षेत्रबाट शल्यक्रिया गरेर नीतिगतरूपमा नफालेसम्म सुशासन र भ्रष्टाचार निर्मूलको रटान ‘सुगाको गोपीकृष्णको’ नै हो। नीति निर्माणमा यिनीहरूको जब्बर प्रभावशीलता टड्कारोरूपमा देख्न÷सुन्न पाइन्छ। यो रोगी र दुर्बल अर्थतन्त्रको जटिल लक्षणसमेत हो। जहाँ महँगीको मारमा श्रमजिवी जनता पर्दछन्, जसको कमाइ जति जम्मै बजारले सोसेर उत्पादक र बिचौलियाको पोल्टामा सर्लक्क हाल्छ। हेर्दाहेर्दै उनीहरू ऋणमा चुर्लुम्म डुब्छन्। अनि धनी र गरिबको बीचमा वर्ग विभेदको गहिरो खाडल निर्माण हुन्छ। राज्यको नियमकारी र नियन्त्रणकारी भूमिकालाई माथि उल्लिखित जाली फटाहाहरूले घेराबन्दीमा पारी घाँटी अँठ्याएका हुन्छन्। अनि राज्य आफैं असहाय र निरीह हुनपुग्छ। राज्यका अंगहरूमा लिसोझैँ टाँसिएका यिनीहरूको सह–सम्बन्ध नटुटाए÷नछिनाएसम्म विकासका लागि काकाकुल नेपाली जनताले त्राण पाउने छैनन्।

सत्तारुढ दल दुई तिहाइको मदमा बेसुर छ भने प्रमुख प्रतिपक्ष हारको रनाहामा अझै तिर्मिराइरहेको छ। नेकपाभित्र आफ्नै सरकारको कार्य सञ्चालन शैलीलाई लिएर आरोप–प्रत्यारोप र तिख्खर आलोचना आमनेसामने जारी छ। त्यस्तै यता, नेकाको आन्तरिक राजनीतिक जीवनमा चुनावी हारको घात–अन्तरघात र सम्पूर्ण हारको जिम्मेवारी पार्टी नेतृत्वले लिनुपर्नेजस्ता बहसहरू आगोको लप्कासरि उठिरहेको छ। दुवै पार्टीमा आन्तरिक खिचातानी र अन्तरविरोध उग्र छ र क्रमशः छताछुल्ल हुँदै गइरहेको छ। लोकतान्त्रिक मुलुकमा यस्तो परिदृश्यहरू अनौठो त हुँदै होइन तर इतिहासमा गरिएका गम्भीर गल्ती÷चुकहरूबाट पाठ नसिकेको देख्दा, अझ भनौं पुराना पात्रहरूको पुरानै प्रवृत्ति र रबैया बारम्बार दोहोरिँदा जनतामा वितृष्णा छाएको दैनन्दिन जीवनमा आजभोलि जताततै देख्न, सुन्न, पढ्न पाइन्छ। सर्वविदित नै छ, यस्तै राजनीतिक निराशाको अवस्थामा नै प्रतिक्रियावादीहरूले मौकाको फाइदा उठाउँदै जनतालाई सेन्टिमेन्टल ब्ल्याकमेलिङ गरी लोकतान्त्रिक परिपाटीलाई दिग्भ्रमित गर्न सक्छन्। फलस्वरूप मुलुकले फेरि अर्को अधिनायकवाद या निरंकुशताको परीक्षण बेहोर्नुपर्ने हुनसक्छ। जो कदापि नेपाली जनतालाई पाच्य र सह्य हुनेछैन। परन्तु के ठेगान, राजनीतिक गन्जागोल फेरि पनि पो भोग्नुपर्ने हो कि रु

प्रतिक्रिया दिनुहोस्