सफलता चाख्न नपाउँदै शोकमा डुबे रवि



नेपाल आइडल सिजन–२ का विजेता रवि ओड सफलताको स्वाद चाख्न पाउँदा नपाउँदै शोकमा डुब्न बाध्य भएका छन्। उनकी आमा विष्नादेवी ओडको बुधबार बिहान करेन्ट लागेर निधन भएको छ।

पानी तान्ने पम्पबाट करेन्ट लागेपछि उपचारका लागि अस्पताल लाने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। ४५ वर्षीया उनलाई अत्तरिया अस्पतालबाट सेती अञ्चल अस्पताल लाने क्रममा निधन भएको हो। बिहान ७ बजेतिर पानी तान्ने मेसिन चलाउन गएकी उनलाई अघिल्लो दिन करेन्ट नछुटाइएको मेसिनबाट करेन्ट लागेको थियो। त्यसपश्चात् उपचारका लागि अत्तरियास्थित पद्मा अस्पताल पु¥याइएको थियो।

केही दिनअघि मात्र नेपाल आइडल सिजन–२ को उपाधि जितेका रविले जितको खुसियाली मनाउँदै गर्दा उनको परिवारमा यो विपत्ति आइपरेको हो। रवि ओड विभिन्न अभिनन्दन कार्यक्रमका लागि गृहजिल्लामै रहेका बेला यो घटना भएको हो। रविका तीन भाइ र दुई बहिनी छन्। जन्म दिने आमालाई पहिला नै गुमाएका रविसहित यी भाइबहिनी सबैलाई कान्छी आमा विष्नाले नै हुर्काएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्