बलेवा विमानस्थल बन्यो गौचरन



लक्ष्मीप्रसाद सापकोटा , पर्वत,  (रासस) ,

नियमित सञ्चालनमा आएको एकवर्ष बित्न नपाउँदै बलेवा विमानस्थल पुनः गौचरनमा परिणत भएको छ । छब्बीस वर्षपछि तामझामका साथ गत चैत महीनादेखि सञ्चालन भएको बलेवा विमानस्थलमा अहिले जहाज आउजाउ बन्द भएको छ ।

कच्ची धावनमार्ग र विमानस्थलसम्म पुग्ने आठ किलोमिटर सडक कच्ची भएका कारण यात्रुको सङ्ख्या पर्याप्त हुन नसक्दा विमानस्थल बन्द भएको हो । जहाज नचल्दा विमानस्थल फेरि बस्तुभाउको चरिचरनमा परिणत भएको छ ।

विगत नौ महीनाअघि सदरमुकामको हुलाक कार्यालयमा जहाजको टिकट काट्ने ठाउँ भनेर ब्यानर झुण्ड्याइएको थियो । टिकटका लागि सम्पर्क व्यक्ति पनि तोकिएका थिए । अहिले उक्त स्थान समेत हटाइएको छ ।

गत असारदेखि जहाज आउन छाडेपछि विमानस्थल फेरि गौचरनमा परिणत भएको स्थानीयवासीको भनाइ छ । कच्ची धावनमार्ग र विमानस्थलसम्म पुग्ने सडक पनि झण्डै आठ किमि कच्ची भएकाले यात्रुको रोजाइमा यो विमानस्थल पर्न नसकेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो ।

नगरपालिकाले पनि नीति तथा कार्यक्रम र बजेटमा यो विमानस्थल सञ्चालनको कार्यक्रम नल्याएपछि जहाज आउने क्रम ठप्पै भएको उहाँको भनाइछ । मालढुङ्गादेखि बलेवासम्मको सडक कालोपत्रे गरेर विमान आवागमन सञ्चालन गर्ने नगरको योजना पनि असफल भएको छ ।

कालीगण्डकी करिडोरमा पर्ने यो सडकखण्ड चालु वर्षदेखि फराकिलो बनाउन सेनाले जिम्मा लिएको छ । यो सडक निर्माणको काम पूरा हुन वर्षौं लाग्ने भएपछि सहजै विमानस्थल पुग्न सकिँदैन ।

पर्वत सदरमुकामबाट बलेवा जोड्ने पक्की पुल नभएकाले हवाई जहाज चढ्नुपर्दा यात्रीले बलेवाको साटो पोखरा रोज्ने गरेको पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष केदारनाथ शर्माले बताउनुभयो । कच्ची धावनमार्ग भएकाले वर्षातमा चिप्लो हुने भएकाले पनि समस्या भएको हो ।

गत वर्षको फागुनमा बागलुङ नगरपालिकाको अगुवाइमा नेपाल एयरलाइन्स र तारा एयरलाइन्सलाई रु १०÷१० लाख धरौटी राखेर सिट क्षमता नपुगेमा खर्च भराउने शर्तमा जहाज चलाइएको थियो । जहाज सञ्चालन अवधिमा झण्डै रु १० लाख बराबरकै सिटको घाटा रकम बागलुङ नगरपालिकाले एयरलाइन्सलाई बुझाएपछि जहाज आउन छाडेको नगर प्रमुख पौडेलले बताउनुभयो ।

कालीगण्डकी करिडोरको ट्र्याक बाहेकका यसअघि निर्मित सडक कालोपत्रे गर्न सकेमा पनि जहाज सञ्चालन सहज हुने बागलुङ नगरपालिका–१४ का वडाध्यक्ष चक्रबहादुर खत्रीको भनाइ छ । ‘‘यति धेरै पहल भइसकेपछि नियमित बनाउनैपर्छ,’’ उहाँले भन्नुभयो, “करिडोर र पुरानो सडक कालोपत्रे गर्नसके यात्रीको समस्या हुँदैन ।”

बलेवा विमानस्थलमा जहाज अवतरणका लागि समस्या नभएको क्याप्टेन सञ्जीव श्रेष्ठले प्रतिक्रिया दिनुभएको थियो । नियमित उडान भएमा विमानस्थल कालोपत्रे गर्ने हवाई विभागका महानिर्देशकले यसअघि नै आश्वासन समेत दिनुुभएको थियो ।

गाडीको प्रयोग गर्दा काठमाडौँ पुग्न आठदेखि १० घण्टा लाग्ने गरेकाले बिरामी, वृद्धवृद्धा र हतारको यात्रा गर्नेले भने जहाज आउन छाडेकोमा चिन्ता व्यक्त गरेका छन् । जहाज चल्दा ४५ मिनेटको उडानमा बलेवादेखि काठमाडौँ पुग्न सकिन्छ ।

बलेवा विमानस्थल मध्यपहाडी लोकमार्गको मालढुङ्गादेखि कच्ची सडक झण्डै सात किलोमिटरको दुरीमा रहेको छ । विसं २०१६ देखि तीन वर्ष लगाएर स्थानीयवासीको प्रयासमा विमानस्थल निर्माण भएको थियो । यो विमानस्थल एक हजार १०० मिटर लामो छ ।

विसं २०१८ सालदेखि नियमित सञ्चालन भएको जहाज आवागमन विसं २०४८ मा पोखरा–बागलुङ राजमार्ग बनेपछि बन्द भएको थियो । बागलुङ नगरपालिका र नागरिक उड्डयन प्राधिकरणबीच गतवर्ष सातामा दुई उडान भर्ने सहमति भएको थियो ।

आइतबार र बिहीबार उडानको तालिका बनाइएकामा अहिले जहाज आउन छाडेपछि फेरि निराशा भएको स्थानीयवासीले बताएका छन् । विमानस्थल सञ्चालनकै लागि यहाँका चार सयभन्दा बढी सल्लाका रूख काटिएको थियो । ती रूख समेत अहिले अलपत्र बनेका छन् ।

विमानस्थल सञ्चालनको विषयलाई राजनीतिक प्रचारको रुपमा नहेरी आवश्यकता र पूर्वाधार विकासको रुपमा हेरिनुपर्ने सर्वसाधारणको भनाइ छ । सो विमानस्थलको सञ्चालनबाट स्थानीयवासीलाई यातायातमा सहज हुनुको साथै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने भनिएकामा अहिले सञ्चालन नहुँदा व्यवसायीसमेत चिन्तित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्