मेलम्ची खानेपानी आयोजनामा किन खेलवाड ?



तिर्खाएका उपत्यकावासीलाई मेलम्चीको पानी कहिले आउला भन्ने आश छ । सरकारले बारम्बार मेलम्ची आउनै लाग्यो भन्दै धेरैपटक मितिसमेत तोकेको थियो । तर सरकारको बाचा पूरा हुन सकेको छैन । मेलम्चीको पानीको पर्खाइमा बसेका उपत्यकाका लाखौं नागरिकहरूलाई निराशा मात्र जगाउने काम गरेको छ । मेलम्चीबाट–सुन्दरीजल पानी आउने सुरुङ मार्ग निर्माण हुँदाको खुसी उपत्यकावासीमा अत्याधिक नै थियो । यस्तो खुसी थियो कि मेलम्चीको पानी उक्त सुरुङबाट भर्खरै काठमाडौंमा आइहाल्छ ।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको मेलम्ची खानेपानी पिउने आशामा बसेका नागरिकहरू बारम्बार निराश हुँदै आएका छन् । यसपटक पनि मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मेवारी लिएको इटालियन कम्पनी कोपराटिभा एन्ड सेमेन्टिस्टी सीएमसीडी रभिनाले काम छोडन लागेको सरकारले सुइकोसमेत पाएन । सरकारले भाषण गर्न जति धेरै ध्यान दियो । काममा खासै ध्यान नै दिएको पाइएन । सरकारले गम्भीर भएर लागेको भए आयोजना सम्पन्न हुने अन्तिम अवस्थामा निर्माणको जिम्मेवारी लिएको ठेकेदार कम्पनी रातारात काम छोडेर भाग्नुपर्ने अवस्था सृजना नै हुने थिएन ।

यसअघि नै सम्पन्न हुनुपर्ने खानेपानी आयोजनामा विभिन्न बहानाबाजी र आलटाल हुँदै आएका थिए । सरकारले ती बहानाबाजी र आलटाललाई समयमा नै चिर्न सकेन । सरकारले कामको मू्ल्यांकन नगरी धमाधम म्याद थप्ने कामलाई निरन्तता दियो । आयोजनाको निर्माणको प्राविधिक पक्षमा खासै ध्यान दिन सकेको पाइएन । आयोजना अन्तिम चरणमा पुगेको छ । तर थोरै कामले पनि धेरै हैरान र सास्ती दिने निश्चित भइसकेको छ । सरकारले ठेकेदार कम्पनीको धरौटी रकमबाट भए पनि आयोजना निर्माण गर्ने बताए पनि सर्वोच्च अदालतले ठेकेदारको धरौटी रकम रोक्का नगर्न सरकारको नाममा अन्तरिम आदेश दिएको छ । सरकारसँग बजेट त छ । तर प्राविधिक र कानुनी अड्चन फुकाउनका लागि नै अझै केही समय लाग्ने देखिन्छ । सरकारले अब भाषण गर्नतिर भन्दा पनि आयोजना सम्पन्न गर्नका लागि आइपर्ने कानुनी अप्ठ्यारा फुकाउनेतर्फ ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्