धौलागिरीका साहित्यिक अभियन्ता इन्द्रकुमार



मोहन दुवाल
धौलागिरी अञ्चल पर्वत जिल्लाको कुश्मा बजारमा बसोबास गर्दै आएका इन्द्रकुमार जोशी नेपाली साहित्यिक क्षेत्रमा इन्द्रकुमार विकल्पको नामले परिचित छन्। स्व. पिता गोपीनाथ जोशी र माता नन्दकुमारी जोशीका छोरा भई २०१८ साल कार्तिक २ गते कुश्मामा जन्मेका इन्द्रकुमारले थुप्रै खालका शैक्षिक तथा सामाजिक क्रियाकलापहरूमा आफूलाई संलग्न गराई त्यस क्षेत्रका एकजना प्रतिष्ठित साहित्यकार हुन सफल छन्। साहित्य लेखनमा आफ्नै खालका डोबहरू निर्माण गर्न सफल यिनले साहित्यिक पत्रपत्रिकाको कुशल सम्पादन कार्यमा आफूलाई संलग्न गराई सक्रिय तुल्याएका छन्। कविता, उपन्यास, कथाका रमणीय हरफहरूमा आफूलाई चिनाउन सफल इन्द्रकुमार विकल्प धौलागिरीका स्पन्दन सुनाएर, कालीको सुसेली सुसेलेर, बालकोसेलीका प्रधान सम्पादक बनेर, चौतारीका संरक्षक रहेर, पर्वत साहित्य संगममा मलजल हालेर, कुश्माबाट पर्वत भएर धौलागिरीलाई घाममा चम्काइरहेछन्।

विद्यालय पढ्दादेखि नै लेख्न थालेका यिनका साहित्यिक लेखहरू २०३५ सालदेखि विभिन्न पत्रपत्रिकामा प्रकाशित छन्। शिक्षा कुसुम यिनको पहिलो प्रकाशित रचना हो। यसै सन्दर्भमा यिनी भन्छन्– ‘साहित्य लेखनमा लाग्नुभन्दा पहिला विद्यालयस्तरमा हुने साप्ताहिक कार्यक्रमहरूमध्ये साहित्य गोष्ठीमा, विभिन्न साहित्यिक पुस्तकहरू पढ्ने रुचि र आफ्नै वरिपरिको परिवेश, सुनेका, देखेका र भोगेका सुख–दुःखका अनुभूतिहरूले गर्दा लेख्ने प्रयत्न गरेको हुँ।’ विकल्पका हालसम्म प्रकाशित कृतिहरूमा सम्झनाका डोबहरू (कविता–२०४४), मनका खुसीहरू (कविता–२०५२), दुई आत्माको मिलन (उपन्यास, २०५६), भुल्काहरू (मुक्तक–२०५८), सर्वदलीय घर (लघुकथा–२०६०), लालीगुराँस फुल्ने मन (गजल–२०६२), बैंसका रहरहरू (कथा–२०६३), निस्तो सम्झौता (कथा–२०६४), जिगीषा (हाइकु–२०७०) र मनका रङ्गहरू (मुक्तक–२०७५) छन्।

साहित्य भनेको कुनै पनि मान्छेले भोगेको सुख–दुःखका अनुभूतिलाई चिन्तन, मनन र अध्ययन गरेर भूत, वर्तमान र भविष्यलाई छर्लङ्ग्याउने कार्य हो। साहित्यमा यस्तै दृष्टि साँचेर साहित्य सेवा, सिर्जना र सम्पादनमा लागेका विकल्पका लागि साहित्यकार सरुभक्त र साहित्यिक कृतिमा मुनामदन सबभन्दा मन परेको भावना व्यक्त गर्छन्। लायन्स क्लब, सामाजिक परिवर्तन तथा कल्याण प्रतिष्ठान, गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्था, पर्वत उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटीमा पनि संलग्नता दिएर सामाजिक कार्यमा पनि यिनी क्रियाशील छन्।

साहित्य कोरा कल्पनाको अभिव्यक्ति मात्र होइन, साहित्यले समाज, देश, परिवर्तनका लागि केही भूमिका खेल्न सक्नुपर्छ भन्ने मान्यता बोकेर साहित्यिक क्षेत्रमा मन दिएका यिनले कालीको सुसेली साहित्यिक पत्रिकालाई राष्ट्रियस्तरकै साहित्यिक संकलनका रूपमा वि.सं. २०५४ देखि हालसम्म प्रकाशित गराएर आफ्नो क्षमता देखाइरहेका छन्। धवलागिरी स्पन्दन गजलका लागि हेर्नै पर्ने पत्रिका बनाएर प्रकाशित गरेका यिनले कुश्माबाट नै बालसुसेली पत्रिका निकालेर बालबालिकाका लागि उत्कृष्ट र नमुनायोग्य साहित्यिक कर्महरू गरेका छन्।

हालसालै मात्र यिनी शिक्षण सेवाबाट निवृत्त भएको देखिन्छ। व्यापार व्यवसायमा रमेर बाँकी समय साहित्यिक क्रियाकलाप र सिर्जनामा मन दिएर बाँच्न जानेका इन्द्रकुमार कुश्माका एक आशालाग्दो कर्मशील साहित्यिक साधक हुन्। यिनले भारत, बेल्जियम, फ्रान्स, लक्जेम्बर्ग, नेदरल्यान्ड, दुबई, थाइल्यान्ड, चीन र मलेसिया पनि घुमे। जो–कोही पनि निष्ठामा रम्न जानेपछि, सिर्जनामा आफूलाई होम्न सिकेपछि र उद्देश्यमा पुगिछाड्ने सङ्कल्प आफूभित्र दह्रो बनाई कार्यपथमा लम्किन जानेपछि गन्तव्यमा पुगिछाड्छ। मान्छेको जीवन यात्रा न हो, यात्रामा कुद्न जान्नेहरूले सफलता पाउँछन्। इन्द्रकुमार यात्रामा लम्किरहेका एकजना सुन्दर यात्री हुन्, कुश्माबाट धौलागिरी भएर नेपालतिर यात्रा गरिरहेका एकजना साहित्यिक स्रष्टा।

मोफसलमा रहेर सिर्जनशील विकल्प कुश्माका स्थापित स्रष्टा हुन्। यिनी उपन्यासकार, कथाकार, कवि, गजलकारका साथै साहित्यिक पत्रकार पनि हुन्। गजलका अध्येता र लेखनमा समर्पित यिनी गजलमा सचेततापूर्वक लागिपरेका गजलकार हुन् भन्न सकिन्छ। मासिक साहित्यिक कार्यक्रम सञ्चालन गर्नुका साथै यिनले साहित्यलाई आफ्नो जीवनको अभिन्न अङ्ग सम्झेर त्यस क्षेत्रमा महत्वपूर्ण भूमिका निभाइरहेका छन्। आफ्नो रचना परिस्कृत र परिमार्जित गर्न पाएपछि त्यसैमा मख्ख पर्ने यिनी साहित्य लेखेर आफ्नो नाम सबैलाई चिनाउन पाएकोमा गौरव गर्छन्।

मैले नजिकबाट चिन्न नपाएको तर यिनका सिर्जना, क्रियाकलाप, साहित्यिक पत्रिका पढेर नजिकले चिन्न पाएका विकल्पका प्रयासहरूबाट म ज्यादै प्रभावित छु। कालीको छाल देखेको छु। धौलागिरी हिमाल हेरेको छु। त्यतैतिरको कुश्मा बजार बागलुङ जाँदा ओहोरदोहार गरेको छु। मैले त्यसैतिरका अर्थात् कुश्माका एकजना होनहार साहित्यिक मित्र इन्द्रकुमार विकल्पका साहित्यिक हरफहरूलाई मनमा कुँद्न पाएको छु। एकजना साहित्यिक मित्रको साहित्यिक यात्रा र हरफहरू मन परेर मैले मेरो विम्बमा इन्द्रकुमार विकल्पलाई कुँद्न खोजेको हुँ।

मानवीय संवेदना हराएको बेला, बेथिति सर्लक्कै हुर्केको मौसममा साहित्यिक आरोह–अवरोहका अनेकौं शृङ्खलाहरू कुँद्न सक्नु महान् कार्य हो। त्यही महान् कार्य इन्द्रकुमार विकल्पले गरेर देखाएका छन्। साहित्य लेख्नु मात्र नगरी, साहित्यिक मित्रहरू आफ्नो परिवेशमा थप्दै जाने अभियानमा समेत संलग्न रहेका यिनका साहित्यिक आकाङ्क्षाहरू थुप्रै खालले छरपस्ट छन्। नेपाली भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा अनवरत अग्रसर रही साहित्य सिर्जनामा लागिरहेका विकल्पले आफ्नो कृतिमार्फत सामाजिक जागरणका लागि अनेकौं हरफहरू कोरेका छन्। उनी मान्छेका रूपहरू भत्किएकोमा चिन्ता जाहेर गर्दै यसरी कविता लेख्छन् ः

मान्छे जङ्गल पस्दा
बाघ भालुसँग
डराएर भाग्नुपर्नेमा
मान्छे शहर पस्दा
मान्छेसँगै भाग्नुपर्ने भएको छ।
यस्तै भावना देशप्रति पनि राखेर यिनी आफ्नो बुँख्याचा र देश कवितामा देशको वर्णन यसरी गर्न रुचाउँछन् ः
देश रोएको कोही सुन्नेवाला छैनन्
देश केही भन्नेवाला होइन/छैन
सबै आ–आफ्ना स्वार्थका लागि
आ–आफ्ना आफन्तीका लागि
तँछाड मछाड गरिरहेछन्
लाग्छ, देशको कोही आफन्ती छैनन्
जसरी बुँख्याचाका आफन्ती छैनन्।
समाजको सही र वास्तविक चित्रणलाई कलात्मक शिल्प शैलीद्वारा साहित्य सिर्जना गर्नु लेखकको अभिष्टता हो। यही अभिष्टता पूरा गर्ने अभियानमा विकल्प क्रियाशील छन्। साहित्य समाजको दर्पण हुनाका साथै सामाजिक जागरण ल्याउने मियो भएको कारणले साहित्यकारहरूले इमानदारितापूर्वक समाज, देश र जनताका रोग, भोक, शोकलाई विषयवस्तु बनाएर लेख्न जान्नुपर्छ। यही क्रममा इन्द्रकुमार विकल्पले पनि आफूलाई समर्पित तुल्याएका छन्। विकल्प यिनको साहित्यिक नाम हो– पर्वतको साहित्यिक इतिहासमा यिनी अग्रपङ्क्तिमा आफ्नो नाम, जाँगर, सिर्जनालाई स्फुरण गर्न क्रियाशील छन्। जिज्ञासु मन लिएर, विनयशील भाव छर्केर, नम्र स्वभावमा आफूलाई रम्न दिएर साहित्यमा लाग्न जानेका विकल्प यात्रा साहित्यमा फल्दै फुल्दै जानेछन्। यात्रामा यिनको निरन्तरताले अवश्य गति लिँदै जानेछ।
इन्द्रकुमार विकल्पले आजको मान्छेको कथा लेखे, देशको अवस्थाको सिंगो चित्रण गरेर कविता लेखे। त्यस्तै देशका नेताहरूका विकृति र विसंगतिका रूपरङ्ग हेरेर थुप्रै गजल लेखे। यसै क्रममा यिनले गजलमार्फत नेताहरूको मुहार यसरी देखाएका छन् ः
कसैलाई नाम प्यारो कसैलाई राम प्यारो
किन किन हाम्रा नेतालाई भने दाम प्यारो।
कसैलाई घाम प्यारो कसैलाई गाम प्यारो
किन किन हाम्रा नेतालाई भने साम प्यारो।
कसैलाई काम प्यारो कसैलाई नाम प्यारो
किन किन हाम्रा नेतालाई भने जाम प्यारो।

विकल्पका लागि साहित्य नै विकल्प हो। साहित्यिक याम, घाम बोकेर इन्द्रकुमार विकल्प साहित्यिक घाम हुन सकिरहून्, शुभकामना छ।

प्रतिक्रिया दिनुहोस्