नीललाई भारतमा एसिया प्राइड अवार्ड



हेयर स्टायल क्षेत्रमा नेपालदेखि भारतसम्म लोकप्रियता कमाइरहेका हेयर स्टाइलिस्ट नील डेभिड कटुवाल भारतमा पुरस्कृत भएका छन्। उनी एन्टी करप्सन फाउन्डेसन भारतले नयाँ दिल्लीस्थित कर्नाल हरियाना विवान रिसोर्टमा आयोजना गरेको कार्यक्रममा एसिया प्राइड अवार्डबाट पुरस्कृत भएका हुन्।

कार्यक्रममा नीललाई प्रमखु अतिथि बलिउड अभिनेता राजा मुरादले अवार्ड प्रदान गरेका थिए। कार्यक्रममा विभिन्न देशका फेसन, व्यापार, समाजसेवालगायतका क्षेत्रमा आबद्व २५ व्यक्तित्वलाई पुरस्कृत गरिएको थियो। फाउन्डेसनका अध्यक्ष नरेन्द्र अरोराले नीलले झापाको लक्ष्मीपुरजस्तो सानो गाउँ, जहाँ बिजुलीको समेत अभाव थियो, त्यहाँको युवाले उच्च दर्जा नहुने र नेपाली समाजले सजिलै स्वीकार नगरेको कपाल काट्ने पेसालाई अँगालेर फेसनको दुनियाँमा तहल्का मचाएकाले अवार्ड प्रदान गरिएको बताए।

नीलले दिल्ली, लन्डन र सिंगापुरका विभिन्न हेयर स्टाइलिस्टसँग हेयर स्टायलका बारेमा अध्ययन गरेका थिए भने अस्ट्रेलियामा २५ सय डलर तलब सुविधा हुने सुनौलो अवसर छोडी नेपालमै आएर हेयर स्टाइलिस्टको काम शुरू गरेका थिए। उनले काठमाडौंमै पहिलोपटक अत्याधुनिक सेवार सुविधासहित युनिसेक्स सलुन सञ्चालनमा ल्याएपछि यो क्षेत्रमा क्रान्ति नै आएको थियो।

प्रतिक्रिया दिनुहोस्