पाकेटमार नियन्त्रणको सराहनीय कार्य



राजधानी काठमाडौंमा चल्ने विभिन्न सार्वजनिक सवारीसाधनमा पकेट मार्दै आएका पकेटमारको ठूलो संख्या नियन्त्रणमा लिन प्रहरी सफल भएको छ । यात्रुको रूपमा सवारीसाधनमा चढेर विभिन्न कोड भाषा प्रयोग गरी पकेट मार्ने एवम् लुटपाट गर्ने ७७ जनाको गिरोह यतिखेर प्रहरीको फन्दामा परेको छ ।

महानगरीय प्रहरी परिसर टेकुले गत मंसिर १५ गतेबाट यातायात व्यवसायीसँगको समन्वयमा गरेको अपरेसनमा यति धेरै पकेटमार समातिएका हुन् । राजधानीका विभिन्न स्थानमा सञ्चालित बस तथा माइक्रोबसका यात्रुहरूको पकेट एवम् झोलामा राखिएका नगद, मोबाइल आदि चोर्दाचोर्दै ठूलो संख्यामा पकेटमारलाई पक्राउ गर्न प्रहरी सफल भएकोमा यस कार्यको सराहना गर्नै पर्छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले सार्वजनिक सवारीसाधनहरूमा पाकेटमारी तथा चोरीका घटना बढेको सूचनाको आधारमा ५० जना सादा पोशाकका प्रहरी कर्मचारीहरूलाई पकेटमार नियन्त्रणका लागि यात्रुका रूपमा सार्वजनिक सवारीसाधनमा खटाएको थियो । यस क्रममा १ लाख ६० हजार ७ सय रुपियाँ पकेटमारबाट बरामद भएको छ । साथै ३९ थान मोबाइल, ४ थान आइप्याड र ५ थान ल्यापटप पनि बरामद भएको बताइएको छ । पकेटमारी गर्दागर्दै पक्राउ परेकाबाट बरामद भएको ५ लाख ९६ हजार रुपियाँ भने प्रहरीले तत्कालै सम्बन्धित पीडितलाई बुझाएको जनाइएको छ ।

एकातिर यहाँका सार्वजनिक सवारीसाधनको यात्रा नै कठिन हुन्छ, अर्कातिर पकेटमारको त्यत्तिकै बिगबिगी छ । पकेटमारको व्यवहारले ऊ पकेट मार्दै छ भन्ने थाहा पाए पनि बोल्न नसक्ने यात्रुको गुनासो छ । किनकि उल्टै उसको धम्की आउँछ, उस्तै परे कुटाइ खानुपर्ने अवस्था आउँछ । सीसी क्यामरा जडान गरेको साझाबसमा समेत पकेटमारी हुन्छ । भक्तपुरतर्फ जाँदै गरेको साझाबसमा एक महिलाको मोबाइल चोरी हुँदा सो बसका कर्मचारीले साझाबसको कार्यालय पुल्चोक गएर निवेदन दिनुपर्ने अनि मात्र सीसी क्यामराको फुटेज हेरिने जनाउँदा ती महिला रोएकी थिइन् । यस घटनाले सार्वजनिक बसमा जडित सीसी क्यामराबाट समेत पकेटमार नडराउने देखियो । त्यसैले यात्रुको रूपमा सादा पोशाकका प्रहरी परिचालन गरिनु पकेटमार नियन्त्रणको उपयोगी उपाय हो । यस अभियानलाई प्रहरीले जारी राख्नुपर्छ ।

यसभन्दा अगाडि १७ पटक चोरीकै अभियोगमा पक्राउ परिसकेको पकेटमार अहिले पुनः पक्राउ पर्नुले पकेटमारलाई गरिने सजायँ एकदम न्यून भएको बुझिन्छ । न्यून सजायँ हुने भएकैले उनीहरू फेरि सोही पेसामा संलग्न हुने गरेको देखिन्छ । त्यसैले सार्वजनिक सवारीसाधनमा हुने पकेटमार नियन्त्रणका लागि अहिलेको जस्तै सादा पोशाकका प्रहरी यात्रुका रूपमा परिचालन कार्य जारी राख्नुपर्छ । साथै पक्राउ परेका पकेटमारलाई हदैसम्मको कारबाही गर्नुपर्छ । यसका लागि कानुन नै परिवर्तन गर्नुपर्छ भने पनि सरकार तयार हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्