राजनीतिक स्वच्छताको आवश्यकता



केशव अधिकारी

राजनीति भनेको राज्यको नीति हो। फरक–फरक राज्यका आ–आफ्ना प्रकारका नीतिहरू रहेका हुन्छन्। राज्यका ती नीतिहरू त्यस राज्यका हरेक नागरिकले खुशीसाथ पालना गर्न हिच्किचाउँदैनन्। बरु राज्यका नीतिहरू अक्षरशः पालना गर्नाले राज्यको हरेक कुनामा समेत शान्ति सुव्यवस्था कायम भई अमनचयन कायम रहन पनि मद्दत पुग्छ। तर कुनै पनि राज्यका आमनागरिकले मात्र ती नीति पालना गरेर पुग्नेवाला छैन। राज्यका चालक वा शासकहरूले समेत ती नियमको परिपालना अक्षरशः गरे भने मात्र त्यो राज्य हरेक क्षेत्रबाट सफलतातिरको बाटोमा लम्कन सक्छ। होइन भने न त्यस्तो देशको उन्नति हुन्छ, न आम जनताले सुख र शान्तिको वातावरणमा बाँच्न पाउँछन्।

हाम्रो देशको राजनीतिक नियम पालनाको क्षेत्रमा भन्ने हो भने, बरु आमनागरिकमध्ये अधिकांशले राज्यको नीतिलाई पालना गर्लान् तर राजनेता भनेर जनताले पहिचानेका व्यक्तिहरू, देशको प्रशासनलाई क्रियाशील बनाउने विभिन्न तहका कर्मचारीहरू आदिले राजनीतिको नियम वा नीतिलाई अक्षरशः पालना गरेको पाइँदैन। त्यस्तो व्यक्ति एउटा अहंताको मानसिकताले ग्रस्त भएर बाँचेको हुन्छ। उसले आफूलाई राज्यको नीति बनाउनेभन्दा पनि माथ्लो स्तरको ठानेको हुन्छ र राज्यको नियम वा नीति उलङ्घन गर्न उद्यत् रहन्छ।

हरेक राज्यको नीति स्वच्छ र पारदर्शी बन्नुपर्ने हुन्छ। यदि राजनीति स्वच्छ र पारदर्शी बनेको खण्डमा आमजनताको राजनीतिप्रतिको आस्था र विश्वास बढ्ने गर्दछ। राजनेताको सबैभन्दा ठूलो काम भनेको देशको राजनीतिमा आमजनताको विश्वास र चाख बढाउनु हो। राजनीतिमा विश्वास बढ्यो भने आम जनताले त्यसलाई माया गर्छन्, त्यसलाई माया गर्नु भनेको राजनेतालाई अपार श्रद्धा र माया गर्छन्।

हाम्रो देशको राजनीतिको क्षेत्रलाई हेर्दा यो त्यति पारदर्शी र स्वच्छ भएको पाइँदैन। यसै कारणले आमनेपाली जनताको मगजमा राजनीतिक वितृष्णा मौलाउँदो अवस्थामा रहेको छ। हाम्रै राजनेताहरूको नेतृत्वमा १०४ वर्षे राणा शासन ढलेर गयो, पञ्चायती कालखण्ड पनि हटेर जान सक्यो। यसको पछाडिको कारण भनेको ती समयमा आमनेपाली जनताको राजनीतिप्रतिको विश्वास दृढ थियो, प्रजातन्त्र प्राप्तिप्रतिको उत्कट अभिलाषा थियो। समयका पाइलाहरू अगाडि बढ्दै जाँदा राजनीतिको दायरा यति धेरै फैलियो कि राजनीतिले शिक्षा, धर्म, समाज, अझ गएर व्यक्तिगत मामलाका विषयमा पनि मिसिने मौका पाउँदै गयो। विभिन्न राजनीतिक दलहरूका आन्तरिक विचारहरू परिवर्तन हुँदै गए। आमजनताको माया पाएर क्रान्ति सफल पार्ने नेता परिवार र आफन्तको सानो घेरोमा सीमित बन्न पुगे। उसले परिवारवादको घेरोभन्दा माथि उठेर कतै हेर्ने वा दृष्टिकोण लगाउने काम गर्नै सकेन। राजनेता भएको व्यक्ति परिवारवादको घेरोमा जकडिएपछि राज्यको नीतिलाई मानेर आमजनता र देशको पक्षमा काम गर्छु भनी दृढ इच्छा बोक्ने केही कार्यकर्ताभित्र आफ्ना नेताप्रतिको सकारात्मक विचार बिस्तारै ओइलाउँदै गएर नकारात्मक सोच मौलाउन थालेपछिका दिनमा आफ्नै नेतालाई षड्यन्त्रपूर्वक हटाउन थाल्छ र मार्न पनि बेर लाउँदैन।

केन्द्रीय राजनीतिमा यस्तो भाँडभैलोको अवस्था कायम रहँदै गर्दा तल्ला तहहरूमा पनि त्यसको असर परेरै छाड्छ। परिवार वा आफन्तको दबाबमा पर्न थालेको राजनेता क्रमशः उनीहरूका माग पूरा गर्दै जान विवश बन्छ। आमजनता र देशका खातिर आमजनताको अभिभावक भएर काम गनुपर्ने नेता वा कर्मचारीले आफन्तका लागि मात्र काम गर्नुपर्दाको क्षण अरूले देख्लान् कि भन्ने डरले लुकेर वा गोप्यरूपमा अँध्यारोमा बसेर गर्नुपर्छ। यसरी अँध्यारोमा गरिएको काम थोरै समयका लागि त कसैले नदेख्लान् तर सधैँ नदेख्ने भन्ने कुरा असम्भव नै हुन्छ। यसरी राजनीतिमा कालो र अँध्यारो थपिएपछि कसैले पनि देख्न सक्ने बन्दैन। यसलाई सभ्य भाषामा भन्दा राजनीतिको कसिङ्गर भन्ने चलन छ। राजनीतिको कसिङ्गर बेला–बेलामा सफा गर्दै गरिएन भने ठूलै थुप्रो लाग्न पुग्छ र ठसठस गन्हाउन पनि थाल्छ। यसरी गन्हाएको राजनीतिप्रति आमजनताको वितृष्णा बढ्नु स्वाभाविकै हो।

वर्तमानको यो कालखण्डमा हाम्रो देशका प्रधानमन्त्रीको कुर्सीमा एमाले राजनीतिक दलका अध्यक्षसमेत रहेका नेता केपी ओली रहनुभएको छ। उहाँले सत्ता सम्हालेको झन्डै १० महिना पुग्न लाग्दै छ। उहाँले कहिले सरकारी कर्मचारीलाई त कहिले आफ्नै मन्त्रिमण्डलका सदस्यहरूको बैठक बसेर मन्त्रीहरूलाई हाल राज्यको तर्फबाट गरिएका जति काम हुन् ती सबैबाट आफू सन्तुष्ट नभएको कुरा अभिव्यक्त गर्दै हुनुहुन्थ्यो। उहाँले आफ्नै नेतृत्वको मन्त्रिमण्डलका मन्त्रीहरूको कार्य विवरण हेरेर स्वयंलाई चित्त नबुझेरै गुनासो प्रकट गर्नुभएको होला। उहाँ स्वयंमा निर्दोष हुनुहोला। उहाँले करिब बाल्यकालदेखि नै राजनीति गर्दै आउनुभएको होला। हामी आमनेपालीको हृदयमा भन्दा उहाँको हृदयमा नेपाल देशको ममता अधिक रहेको होला।

उहाँले निकट भविष्यमै नेपाललाई पनि विश्वका सामु चिनाउने गरी एउटा समृद्ध देश बनोस् भन्ने तीव्र इच्छा मानसमा बोक्नुभएको होला। यस्ता सुविचारहरू हृदयमा बोकेर यो देशलाई समृद्ध बनाउँछु भन्ने दृढ प्रतिज्ञा पनि निकैचोटि नेपाली जनतामाझ सुनाइसक्नुभएको सन्दर्भमा पनि प्रमुख प्रतिपक्षले त गाली गर्ने नै भयो, उहाँकै मन्त्रिमण्डलका केही मन्त्रीहरूसमेत असन्तुष्ट छन्। उहाँ चाहे सिंहदरबारको प्रमको कार्यालयमा रहँदा होस्, चाहे बालुवाटारको प्रमको निवासमा रहँदा होस्, अधिकांश समय परिवारको घेरोमा, आफ्नो सीमित सोचको सल्लाहकारको घेरोमा रहनुभएको हुन्छ। कतै कार्यक्रममा भाषण गर्न वा उद्घाटन गर्न जाँदाको क्षणिक समय त्यो आफन्तीको जालो तोडिएको हुन्छ र सोहीनुसारका भाषण गर्नुहुन्छ। उहाँले जनपक्षीय काम गर्छु भनेर भाषण गर्दा केही जनताले उहाँको कुरो पत्याएर ताली बजाउँछन्। तर फेरि परिवार वा आफन्तीको घेरोभित्र पसेपछि उनीहरूको दबाब बढ्न थाल्छ अनि उहाँ स्वयंले पनि आफ्नै पत्नी, आफ्नै साली वा अन्य कसैको दबाबलाई नाइँनास्ती गर्ने आँट नभएपछि उनीहरूका माग पूरा गर्दैमा उहाँका दिन बितेर जान्छन्। भाषण गरेर जनतालाई दिएको आश्वासन सपनामा देखे पनि विपनामा पूरा गर्ने समय नै हुँदैन।

अहिले अलि भयानक रूपधारण गर्दै गरेको निर्मला पन्तको बलात्कार र हत्या गर्ने अपराधी पत्ता लगाउने भनिएको विषयले यत्रो उग्र रूप लिँदा र यतिका समय बित्दा पनि निर्मलाका आफन्तहरूलाई चित्त बुझ्ने गरी मिलाउन नसक्नु वा अपराधी जोसुकै भए पनि कार्यवाही हुन्छ भन्दै हिँडे पनि आफन्तै परेको रहेछ भने कार्यवाही गर्न सक्ने कुरै भएन। बरु अहिलेको सानो समयलाई हेर्दा के देखिँदै छ भने, निर्मला पन्तको हत्यारा पत्ता नलाग्दै प्रधानमन्त्री ओलीज्यूले प्रमको न्यानो कुर्सीबाट ओर्लिनुपर्ने हो कि जस्तो देखिँदै छ। केपी ओली दोस्रोपटक प्रम भइसकेपछिका निर्मला पन्त हत्याकाण्डदेखि लिएर जति कुरा भए ती सबै राजनीतिका कसिङ्गर हुन्। यी र यस्ता कसिङ्गरलाई जुनसुकै राजनीतिक दलको सरकार किन नहोस्, बेलैमा चतुरताका साथ बढारेर यथास्थानमा मिल्काउन सक्षम बन्नुपर्ने हुन्थ्यो। तर हाम्रा वर्तमान प्रम केपी ओलीले त्यो घटनाबाट परै तर्केर समस्या समाधान हुन्छ भन्ने फोस्रो भाषण मात्र गर्नुले उहाँहरूको दलको राजनीति अझै फोहोरी बन्दै गएको आभास हुन्छ।

राजनीति फोहोर वा दूषित हुने धेरै कारणमध्ये अपारदर्शी राजनीति नै पहिलो कारण हुन्छ। जब राजनीतिमा कसैले अपारदर्शिता अपनाएर काम गर्छ, तब उसमाथि धेरैलाई शङ्का लाग्न थाल्छ। शङ्का लागेपछि लङ्का हान्छ भनेझैँ ऊप्रति अरू सबैजसो कार्यकर्ता वा आफन्त पनि सशंकित बन्न पुग्छन्। शङ्का निवारण गर्नको लागि आफूले गरिने वा आफ्नो संस्थाले गर्ने जुनसुकै कार्य पनि पारदर्शी बन्नु जरुरी हुन्छ। कुनै पनि राजनीतिक दलभित्र जम्मा हुने र उक्त राजनीतिक दललाई दूषित बनाउने कसिङ्गर धेरै जम्मा हुनुअगावै थारैमै बढारकुँडार गरेर यथास्थानमा विसर्जन गर्न जरुरी हुन्छ। चाहे मन्त्री, प्रधानमन्त्री आदि जोसुकै भए पनि परिवार वा आफन्तको सुझावभन्दा माथि उठेर फोहोर व्यवस्थापन गर्दै गरेको खण्डमा राजनीतिक दलमा र पूरै राज्यमै पनि पारदर्शिता र स्वच्छता कायम रहन सक्छ। आमजनताको चाहना पनि हाम्रो राजनीति र हाम्रो सरकार पनि स्वच्छ बनोस् भन्ने नै हो। आज हाम्रो देशमा अस्तित्वमा रहेका हरेक राजनीतिक दलमा होस् वा हरेक स्तरका सरकारी कर्मचारीतन्त्रभित्रको फोहोर होस्, सफा गर्न अलि ढिलो हुँदै छ। सफा गरेपछि मात्रै स्वच्छ बन्नेछ। अर्कोतिर राजनीतिबाट हस्तक्षेप भएका हरेकजसो संघसंस्थाहरूले पनि हरेक प्रकारका राजनीतिक हस्तक्षेपबाट मुक्त भई आ–आफ्नै तर्फबाट पारदर्शिता र स्वच्छता कायम राख्नु आजको आवश्यकता हो।

आज हाम्रो देशमा अस्तित्वमा रहेका हरेक राजनीतिक दलमा होस् वा हरेक स्तरका सरकारी कर्मचारीतन्त्रभित्रको फोहोर होस्, सफा गर्न अलि ढिलो हुँदै छ। सफा गरेपछि मात्रै स्वच्छ बन्नेछ। अर्कोतिर राजनीतिबाट हस्तक्षेप भएका हरेकजसो संघसंस्थाहरूले पनि हरेक प्रकारका राजनीतिक हस्तक्षेपबाट मुक्त भई आ–आफ्नै तर्फबाट पारदर्शिता र स्वच्छता कायम राख्नु आजको आवश्यकता हो।

प्रतिक्रिया दिनुहोस्