बानियाको गीत सार्वजनिक



गीतकार जितेन्द्र बानियाको सेतो साडी बोलको गीत सार्वजनिक भएको छ। राष्ट्रगानका रचयिता व्याकुल माइलाको प्रमुख आतिथ्यतामा सेतो साडीको सार्वजनिक गरिएको हो।

संगीत कला पत्रकार संघका अध्यक्ष सुमन वैरागीको सभापतित्वमा कालिकास्थानको फलैंचामा सम्पन्न कार्यक्रममा गीतकार जितेन्द्र बानियाले कोरियामा बस्दाको दश वर्षभित्र भोगेका घटनाक्रमलाई उतारेको गीत सार्वजनिक गरिएको थियो। घरको नाजुक अवस्थालाई लिएर विदेश पलायन हुनेहरूको बीचबाट रातो बाकसमा फर्किनेहरूको ताँती र घरमा उसको आशामा भरपरिरहेका परिवारका सदस्यहरूको सपनासँगै सेतो साडीमा परिणत भएकी प्रियसीको कथालाई जितेन्द्रले गीतमा उतारेका छन्। ‘मैले भोगेको घटनाक्रमले मेरो साहित्यिक मनलाई आकर्षित गरेको हो।’ –कार्यक्रममा उनले भने।

कार्यक्रममा गायक सुमित खड्काले समाजको प्रतिनिधित्व गरेको गीत भए पनि आगामी दिनमा यस्ता गीत र संगीत रचना गर्नुनपर्ने दिन मुलुकमा आओस् भन्दै वैदेशिक रोजगारीमा जाने होइन मुलुकमै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए। त्यस्तै गायक बलबहादुर परियारले गीतले यथार्थ घटना बोकेको कारण सबल हुने जनाउँदै वैदेशिक रोजगारीमा जानेको पीडा बन्द हुनुपर्ने बताए। त्यसैगरी अनेसासका अध्यक्ष राधेश्याम लेकालीले साहित्य र संगीतमा लाग्नेहरू विदेशमा धेरै छरिएर रहेको बताए।

उनले भने– ‘ओखलढुंगाका जितेन्द्र बानिया साहित्यका प्रतिनिधि हुन्, जसले विदेशमा बसेर नेपाली माटो सुहाउँदा सिर्जना गरेका छन्।’ संगीतकार राजु सिंहले संगीतकार विनोद बस्नेत र गायक सागर संसार राईको स्वरमा रहेको गीतले वियोगान्त शैलीमा समाजको मन जित्न सफल हुने दाबी गरे। प्रमुख अतिथि राष्ट्रगानका रचयिता व्याकुल माइलाले मुलुकमा लाहुर जानेहरूदेखि अहिलेको वैदेशिक रोजगारसम्मको पीडाले युवापुस्तामा जरो गाडेको बताए।

प्रतिक्रिया दिनुहोस्