कांग्रेस महासमितिबाट अपेक्षा



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महासमिति बैठक जारी छ । महासमिति कांग्रेसको सबैभन्दा माथिल्लो निकाय हो । केन्द्रीय समितिभन्दा माथिल्लो निकायको रुपमा रहेको महासमिति बैठक अहिले केन्द्रीय समितिको छायामा परेको छ । महासमितिले गरेको निर्णय नै सर्वमान्य हुने भए पनि केन्द्रीय समितिको निर्णयलाई नै महासमितिले अनुमोदन गर्नुपर्ने जसरी यो बैठकलाई कर्मकाण्डी बनाउन खोजिँदै छ । गत मंसिर २८ देखि शुरु भई २९ गतेदेखि औपचारिक छलफलमा जुटेको महासमिति बैठकमा मुख्य एजेन्डा विधान संशोधनमाथि छलफल नै भएको छैन । संघीय संरचनाअनुसार पार्टीको विधान संशोधन गर्न मात्र हैन, पार्टीलाई एकताबद्ध, प्रतिस्पर्धात्मक र जनमुखी बनाउने उद्देश्यले विधानमा आवश्यक व्यवस्था गर्न महासमिति बैठक आह्वान गरिएको हो ।

हरेक वर्ष बस्नुपर्ने महासमिति बैठक ६ वर्षमा एकपटक बसेको छ । त्यो पनि कर्मकाण्डी शैलीमा छलफल भएको भन्दै स्वयं महासमिति सदस्यहरुले असन्तुष्टि पोखिरहेका छन् । महासमिति बैठकमा ल्याइने प्रस्ताव केन्द्रीय समितिले पारित गर्नुपर्ने व्यवस्था छ । केन्द्रीय समितिका शीर्ष नेताबीचको जुँगाको लडाइँले महासमिति बैठक प्रभावित बन्दै गएको छ । बैठक बसेको चार दिनसम्म पनि विधान संशोधन प्रस्ताव नआउँदा महासमिति सदस्यहरुले आफैं प्रस्ताव ल्याउन सकेनन् । केन्द्रीय समितिले प्रस्ताव नल्याए महासमितिको २५ प्रतिशतले बैठकमा एजेन्डा पेस गर्न सक्छ । केन्द्रीय समितिको बन्दी बन्दा झन्डै ५० प्रतिशत महासमिति सदस्यले चाहेको हिन्दू राष्ट्रको एजेन्डाले समेत महासमिति बैठकमा छलफल हुन सकेको छैन ।

विधान संशोधन प्रस्ताव समयमै नआउँदा महासमिति बैठक लम्बिने निश्चित छ । महासमितिलाई आश्वस्त पार्न केन्द्रीय समितिले पनि विधान संशोधन प्रस्तावमाथि छलफल दिन पर्याप्त समय दिने र महासमिति सदस्यहरुले उक्त प्रस्तावमाथि संशोधन राख्न पाउने तथा त्यो संशोधनलाई विधानमा समावेश गरिने बताएका छन् । केन्द्रदेखि गाउँ तहसम्म गुट–उपगुटमा विभाजित कांग्रेसले विधानमा बुँदागत छलफल गर्ने र महासमितिबाट आएको सुझावलाई समावेश गर्ने सम्भावना कम देखिन्छ । मस्यौदा तयार गर्दा सातै प्रदेशबाट सुझाव संकलन गरिएको थियो । त्यतिमात्र हैन, जिल्ला सभापतिहरुको भेलाले समेत सुझाव दिइसकेको थियो । केन्द्रीय समितिमा पनि हप्ता दिनभन्दा बढी छलफल गरिएको थियो । यस्तो अवस्थामा समेत केन्द्रीय समितिले विधान संशोधन प्रस्ताव ल्याउन महाभारत परेको बेला महासमिति बैठकबाट आएको सुझावको कार्यान्वयन हुने कुरामा आशंका छ ।

लामो समय राष्ट्रिय राजनीतिको नेतृत्व गरेको कांग्रेस नेपालमा भएका ठूला–ठूला राजनीतिक परिवर्तन गर्न पनि नेतृत्व सम्हालेको पार्टी हो । आन्तरिकरुपमा गुट–उपगुटमा विभाजित भएकै कारण गत निर्वाचनमा नराम्रो हार खाएपछि अहिले यो पार्टी इतिहासकै सबैभन्दा कमजोर बनेको छ । आमजनता कांग्रेस महासमिति बैठकपछि कसरी बाहिरिन्छ भनेर हेरिरहेका छन् । यो बैठकपछि कांग्रेसले विधानलाई समयानुकूल परिवर्तन गर्नुपर्ने त छँदै छ, आन्तरिकरुपमा एकढिक्का हुने र जनचाहनाअनुसारको राजनीतिक, आर्थिक कार्यदिशा तय गरी अघि बढ्ने अपेक्षा गरिएको छ । शीर्ष नेताहरुको गुटगत व्यक्तिगत स्वार्थअनुसार निर्णय गराउन महासमितिलाई बाध्य पारियो भने जनअपेक्षा पूरा हुन सक्दैन ।

प्रतिक्रिया दिनुहोस्