‘घ’ बर्गको परिचय पत्र पाउदा पाउँदा जंगे भुललाई घाटा



विमल बिष्ट, डोटी ।
पुस्तौंदेखि हलिया बस्दै आएका डोटी जिल्ला सायल गाउँपालिका वडान.१, छपाली बिनेवाडाका ५६ वर्षीय जंगे भुल २०६५ सालमा हलिया मुक्तिको घोषणा भएपछि खुशी भएका थिए ।

उनले सरकारबाट केही राहात पाउने आश गरेका थिए, रोजगारीको पनि आश गरेका थिए तर उनका लागि त्यो मुक्ति उनलाई अहिले ‘कागलाई बेल पाग्यो हर्ष न बिस्मात’ जस्तै भएको छ ।

पुस्तौंदेखि हलो जोत्दा समेत उनको ऋण मिनाह नभएपछि उनले एक पटक त साविकको छपाली गाउँ विकास समितिमा आफ्ना मालिकको बिरुद्ध उजुरी समेत गरेका थिए । २०६५ साल भाद्र २१ गते सरकारले ऋण मिनाहसहितको हलिया मुक्तिको घोषणा गर्दा उनले मालिकको ऋण तिर्नु परेन । तर, उनलाई ऋण तिर्न दवाव भने पछिसम्म पनि आयो ।

पुस्तौंदेखि भूमिहीन जंगेको परिवारले यस पटक मुक्त हलिया पुनस्र्थापनाको सरकारी कार्यक्रमबाट घर मर्मतका लागि भन्दै एक लाख २५ हजार सहयोग पाउने भएका छन् तर जंगे जस्तै भूमिहीन मुक्त हलियाहरुले भने जग्गा खरीद र घर निर्माणका लागि भन्दै पाँच लाख २५ हजार रुपैयाँ पाउदै छन् । ‘गाउँमा नयाँ मान्छे आएका थिए, यो घर कस्को हो भनेर सोधे, मैले मेरो हो भनेको हुँ’ जंगे भन्छन् ‘ मैले आफू बस्ने भएको हुँदा मेरो हो भने तर उनीहरुले मेरै घर सोचेर ‘घ’ बर्गको परिचय पत्र वनाएछन् ।’

आफूलाई धेरै कुरा जानकारी नभएको र आफ्नै नाममा घर जग्गा छ कि छैन भनी कसैले नसोधेको उनी बताउँछन् । उनी थप्छन् ‘घर जग्गा दुवै भएका व्यक्तिहरुले भूमिहिन भन्दै ‘क’ बर्गको परिचय पत्र पाएको छ भन्ने सुनेको छु, मेरा त बोलिदिने कोही भएन, अनि यसो भयो ।’ उनी एउटै घरमा दुईरतीन जनाले समेत ‘क’ वर्गको परिचय पत्र पाएको आफुले सुनेको बताउँछन् ।

जंगेकी जीवन साथी हिरा भुलको निधन भएको करिब १२ वर्ष भयो । उनका जेठा छोरा ईन्द्र तीन वर्षदेखि सम्पर्कमा छैनन् । मानसिक सन्तुलन ठीक नभएका उनी कता छन् वा छन कि छैनन्, यस बारेमा जंगेलाई अहिले सम्म पनि जानकारी छैन । २२ वर्षीया छोरी भानुमति आँखा देख्दिनन् । आँखा नदेख्ने भएकै कारण उनको बिहे पनि हुन सकेको छैन ।

भानुमति मात्रै होईन जंगेका कान्छा छोरा १८ वर्षीय भक्त भुल पनि आँखा देख्दैनन् । जन्मजात अपाङ्गता भएका दुवै छोराछोरीको स्याहारको जिम्मा जंगेको काँधमा छ ।

आफू र छोराछोरीको छाक टार्नका लागि जंगे अचेल गाउँमा साँझ विहान पानी खोल्ने बन्द गर्ने काम गर्छन । करिब एक सय ५० दलित परिवार रहेको बिनेवाडा गाउँको खानेपानी खोले बाफत उनले वर्षको दुई पटक अन्न पाउने गर्छन ।
‘जेठ र कात्तिकमा गरी दुई पटक प्रति परिवार तीन माना अन्न दिन्छन्’ स्थानीय धनबहादुर नेपालीले भने, ‘यसैबाट उनको गुजरा चलेको छ ।’ उनलाई छोराछोरी पाल्न सजिलो होस् भनेर नै यो निर्णय गरेको नेपाली बताउँछन् । जंगेका भाइ ४९ वर्षीय लाले पनि अविवाहित छन् ।

उनको पालन पोषणको जिम्मा पनि जंगेकै भागमा छ । ‘घ’ बर्गको परिचय पत्रका कारण आफु समस्या परेको भन्दै जंगे भुल दिनहुँ निरास हुने गर्दटन् ।

प्रतिक्रिया दिनुहोस्