नाटकमा लिलामे माइलो



राजधानीको थापागाउँस्थित कुञ्ज थिएटरमा नेपाली मौलिक कथाको लोक नाटक लिलामे माइलो मञ्चन भइरहेको छ। गत मंसिर १४ बाट शुरू भएको नाटक आगामी शनिबारसम्म मञ्चनमा रहनेछ।

रिमेक ड्रामा मञ्चन भइरहेको अवस्थामा लिलामे माइलोे पृथक् नेपाली मौलिक कथावस्तुमा बनेकाले दर्शकको राम्रो साथ पाइरहेको नाटकका कार्यकारी निर्माता राजाराम गौतमले दाबी गरे। नाटक मगर समुदायको कथावस्तुलाई लिएर बनाइएको छ। नाटक मञ्चन भइरहेको अवस्थामा नाटकको पात्र तथा परिवेशअनुसार बास्ना नाटक घरमा आउँदै गर्दा दर्शकलाई फरक खालको रोमाञ्चित बनाइरहेको हुन्छ। यसले दर्शकलाई यथार्थता महसुस गराउन ठँलो मदत पुगेको छ। यस किसिमको प्रयोग नेपालमा पहिलो पटक गरिएको हो। नाटकले दर्शकको राम्रो साथ र प्रतिक्रिया पाएको छ। लिलामे माइलो फेमेली ड्रामा हो। नाटकमा सामाजिक विषयवस्तु उतारिएको छ। नेपालको ग्रामीण भेगमा बसोबास गर्ने व्यक्तिहरूको स्थानीय रहनसन, संस्कृति, पर्व, ती गाउँले जीवनयापन गर्नेहरूको जीवनमा हुने घटनालाई दुरुस्तै कथामा उतारी प्रत्यक्ष अभिनयको माध्यमद्वारा नाटकका रूपमा प्रस्तुत गरिएको छ।


पात्रहरूको चरित्रमा वास्तविकता ल्याउन र दर्शकलाई नयाँपन दिनका लागि नाटकका कलाकारसहितको टोली १ हप्तासम्म मोरङ जिल्लाको लेटाङस्थित राजारानी ताल आसपास क्षेत्रमा फिल्ड भिजिटसमेत गरेको थियो। कुञ्ज नाटक घरको प्रस्तुति तथा राजाराम गौतमको निर्माणमा बनेको नाटकको कथा र निर्देशन प्रभाकर न्यौपानेले गरेका छन् भने नाट्य रूपान्तरण राज थापा काउचाले गरेका छन्।

नाटकमा सलमान खान गुरुङ, निशा पाख्रिन, राजन भुजेल, पुष्पराज अवस्थी, विजय नेपाल, वीरेन्द्र खाती, अलविना न्यौपाने, मनोज थापा मगर, सञ्जीव राई, नमस्ते दिवाकर घिमिरे, विपना थापा, शिला राना मगर, सचिन मल्ल, संगीता थापा, सुनिल मगर, ललित मगर, चक्र विष्ट, पारुहाङ राईले अभिनय गरेका छन्। त्यसै गरी संगीत परिचालन प्रकाश घिमिरे, राजीव श्रेष्ठ र प्रवीन लाखाजु, भेषभँषा दीपिका थापा, प्रकाश परिकल्पना तथा परिचालन रामबाबु रेग्मी र जीवन बराल, मञ्च परिकल्पना झकेन्द्र बिसी, सेट निर्मल साउदको रहेको छ।

नाटकलाई देशका विभिन्न थिएटरमा र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नाटक महोत्सवमा समेत मञ्चन गर्ने गरी तयारी गरिएको निर्माता गौतमले जानकारी गराए। नेपालपश्चात् नाटक भारतको सिक्किम, दार्जलिङ, सिलगुडी, आसाम, थाइल्यान्ड, म्यानमार र बंगलादेशमा समेत मञ्चन गरिएको उनले बताए। नाटकले यसअघि नै नेपालमा पहिलो पटक नाटकको प्रोमोसन भिडियो बनाएर युट्युबमा सार्वजनिक गरेको थियो भने उत्कृष्ट ट्रोल भिडियो, पोस्टर, बनाउनेलाई नगद ५ हजार र २ जनालाई दार्जलिङ टुर प्याकेजको घोषणा गर्नुको साथै विभिन्न अफर राखेर निःशुल्क टिकटको पनि व्यवस्था गरेको छ।

सामाजिक उत्तरदायित्व निर्वाहका लागि भन्दै नाटक मंसिर १२ गते काठमाडौंमा रहेका सुकुम्बासी बस्तीका बालबालिकालाई देखाइएको थियो भने मंसिर १३ गते वृद्धाश्रमका महिलाहरूलाई निःशुल्क देखाइएको थियो। नाटक मञ्चनबाट संकलन हुने रकम खर्च कटाएर बाँकी रकम सामाजिक कार्यमा खर्च गरिने निर्माता गौतमले बताए। नाटक माइला भएर जन्मेकाले निःशुल्क हेर्न पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्