ललितपुर पेट्रियट्स फाइनलमा



काठमाडौं, (नेस)
अन्तिम बलमा जित हात पार्दै ललितपुर पेट्रियट्सले जारी एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी २० क्रिकेट प्रतियोगिताअन्तर्गत फाइनलमा स्थान सुरक्षित गरेको छ ।

मंगलबार त्रिवि मैदानमा लो स्कोरिङ भएपनि रोमाञ्चक बनेको खेलमा ललितपुरले काठमाडौं किंग्स इलेभेनलाई १ विकेटले हराएको हो । योसँगैं पहिलो इलिमेनेटर खेलमा जित्ने टोली फाइनल पुग्ने मौका ललितपुरले हासिल ग¥यो । यो हारले निरास बनाएपनि काठमाडौंका लागि दोस्रो इलीमेनेटरका विजेता टोलीसँग खेल्ने अर्को अवसर भने बाँकी रहेको छ । आज हुने दोस्रो इलिमेनेटर खेलमा भैरहवा ग्लाडियटर्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुनेछ ।

काठमाडौंले ललितपुरलाई मात्र १ सय ८ रनमा रोकेर लक्ष्य सजिलो बनाएको थियो । तर त्यति सहज लक्ष्य पनि काठमाडौंले ललितपुरलाई दवावमा राख्दै अन्तिम बलसम्म खेल्न बाध्य तुल्याएको थियो । काठमाडौंका लागि अन्तिम ओभरमा जितेन्द्र मुखियाले बलिङ गर्न आएका थिए । ललितपुरका योगेन्द्रसिंह कार्की १९ रन र सुर्य तामाङ १ रन बनाएर क्रिजमा थिए । त्यतिबेला ललितपुरका ८ विकेट गुमिसकेको अवस्था थियो । खेलको नतिजा लगभग काठमाडौंतिर धल्किरहेको थियो ।

जितेन्द्रले पहिलो बल फयाँके जसमा दुई रन लिन खोज्दा सुर्य रनआउट भए । नवौं विकेट पतनले ललितपुर थप दवावमा प¥यो । नयाँ ब्याटसम्यान ललितनारायण राजवंशी योगेन्द्रलाई साथ दिन आए । दोस्रो बलमा रन बनेन । तर त्यसपछि योगेन्द्रले लगातार ४ बलमा २÷२ रन जोडेर ललितपुरलाई फाइनलमा पु¥याए । प्लेयर अफ द म्याच घोषित योगेन्द्रले २९ बलमा २८ रन जोड्दा एक चौका मात्रै प्रहार गरेका थिए ।

भरोसामन्द ब्याटसम्यान गौरव तोमर (१रन) र जयकिशन कोल्सावाला (७ रन) सस्तैमा आउट हुनाले ललितपुर शुरुदेखि समस्यामा परेको थियो । तोमरलाई केभिन ओब्रायनले र कोल्सावालालाई रोहन मुस्तफाले आउट गरेका थिए । ओपनर दुबै आउट भएपछि कप्तान ज्ञानेन्द्र मल्ल र पवन शराफले ४६ रन सम्म पु¥याए । ज्ञानेन्द्र २१ रन जोडेर आउट भए । यसपछि ११औं ओभरमा तीन थप विकेट ललितपुरले गुमायो । ११औं ओभरमा बलिङ गरेका प्रदीप साहुले पहिलो बलमा पवन (१९ रन) लाई आउट गरे । उनले तेस्रो र चौथो बलमा क्रमशः सन्दीप झोरा र सन्नी पटेललाई रन बनाउन समेत दिएनन् ।

एकैओभरमा ३ विकेट गुमाउँदा ललितपुर ५४÷६ को कमजोर स्थितिमा थियो । यहाँबाट योगेन्द्रले अन्तसम्म डटेर खेलेका थिए । उनले कुशल भुर्तेलसँग सातौं विकेटका लागि ३७ रनको साझेदारी गरे । कुशलले २ चौका र १ छक्काको सहयोगमा २९ रनको महत्वपूर्ण इनिङ खेलेका थिए । उनको विकेट मुस्तफाले लिएका थिए । ३ रन जोडेपछि सोनु तामाङ पनि पवेलियन फर्केपछि काठमाडौंले ललितपुरलाई हराउने छनक देखाएको थियो । तर योगेन्द्रले काठमाडौंको जित्ने आसलाई लत्याइदिएका थिए । काठमाडौंका बलिङमा साहुले ११ रन खर्चेर ३ विकेट लिँदा मुस्तफा र केभिनले २÷२ विकेट हात पारेका थिए ।

यसअघि काठमाडौंले १९.५ ओभरमा सबै विकेट गुमाएर १ सय ८ रन मात्रै बनायो । अमित श्रेष्ठलाई १९ रनमा गुमाएको काठमाडौंका लागि दोस्रो विकेटमा ३९ रनको साझेदारी मात्रै उल्लेखनीय रह्यो । अमित ९ रन जोडेर पवनको सिकार बनेपछि कप्तान मुस्तफा र सागर पुनले केही हदसम्म ब्याटिङ उकासेका थिए । मुस्तफा व्यक्तिगत ३२ रन जोडेर रनआउटको सिकार भएका थिए । उनको विकेट गुमेसँगै काठमाडौंको ब्याटिङ धर्मराउन पुग्यो ।

अघिल्ला दिन विराटनगर वारियर्सविरुद्ध सानदार ब्याटिङ गरेका केभिन १ रनमै ललितको बलमा आउट भए । लगतै पवनले नरेश बुढाएर, राजु रिजाललाई केभिनकै पथ समात्न बाध्य गरेपछि काठमाडौंलाई ६१÷५ को दयनीय स्थितिमा पु¥याए । त्यसो त सिद्धान्त लोहनी र सागरले छैटो विकेटका लागि २४ रन जोडे तर बाँकी ब्याटसम्यानले राम्रो खेल्न सकेनन् ।

यसले काठमाडौंले ठूलो स्कोर गर्ने संभावना पनि समाप्त भएको थियो । सिद्धान्त १६ रनमा आउट भए भने आठौं विकेटको रुपमा आउट भएका सागरले २९ रनको योगदान दिए । ललितपुरको बलिङमा पवनले ४ ओभरमा १ मेडन सहित १३ रन खचेर ३ विकेट लिए । योगेन्द्रले २.५ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । त्यस्तै सन्नीले २ र ललितले १ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्