हिमालयन हाइड्रो एक्स्पोको तयारी तीव्र



काठमाडौं, (नेस)
दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोमा सहभागी हुन ७० भन्दा बढी प्रदर्शकले निश्चित गरेका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले आगामी माघ ४ देखि ६ गतेसम्म राजधानीको भृकुटीमण्डपमा एक्स्पो आयोजना गर्न लागेका हुन् ।

सयभन्दा बढी स्टल रहने एक्स्पोमा सहभागी हुनका लागि विभिन्न मुलुकका झण्डै दर्जन प्रदर्शकले सहभागिता निश्चित गरेको आयोजक इप्पानले जनाएको छ ।

एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिकलगायत देशका कम्पनीको सहभागिता रहने छ ।

जलविद्युत प्रवद्र्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक, बीमालगायत जलविद्युत्मा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रका गरी ७० भन्दा बढी प्रदर्शकले स्टल बुक गरिसकेको अर्को आयोजक संस्था एक्स्पो एन्ड एभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताउनुभयो ।

एक्स्पोमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको संरक्षकत्व रहने छ । साथै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, निर्माण व्यवसायी महासंघ तथा युथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टर्सले एक्स्पोलाई प्रवद्र्धन गर्ने छन् ।

हाइड्रोपावर सम्बन्धी उत्पादन र सर्भिसको विकासमा प्रतिस्पर्धा गराइ विद्यार्थी र नयाँ आविस्कार गर्ने मध्येबाट उत्कृष्ट छनोट गरी पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्