गृह जिल्लामा मोहन वैद्यलाई साहित्यिक सम्मान



नरेन्द्र केसी, घोराही, दाङ
माक्र्सवादी सौन्दर्य चिन्तक मोहन वैद्य ‘किरण’लाई दाङमा भव्य सम्मान गरिएको छ । प्रगतिशील लेखक संघ दाङ शाखाले उहाँलाई प्रगतिवादी साहित्यमा पु¥याएको योगदानको मूल्यांकन गर्दै सम्मान गरेको हो ।
नेकपा माओवादी क्रान्तिकारीका महासचिव वैद्य साहित्यमा चैतन्य उपनामले चिनिनिहुुन्छ । उहाँले माक्र्सवादी सौन्दर्य चिन्तनको क्षेत्रमा लगातार कलम चलाउँदै आएको छ । उहाँले पछिल्लो कृति ‘हिमाली दर्शन’ बजारमा ल्याइसक्नुभएको छ । प्युठानमा जन्मनुभएका वैद्यको स्थायी घर दाङको ढिकपुर हो । उहाँ राजधानीमा बसे पनि दाइभाइ दाङमा बस्दै आएका छन् ।

बरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माले सौन्दर्यचिन्तक वैद्यलाई सम्मान गर्नुभएको हो । समारोहलाई सम्वोधन गर्दै वैद्यले हरेक कुरुपताविरुद्धको आव्हान नै सौन्दर्य भएको उल्लेख गर्दै साहित्य कलामा यो बढी आवश्यक भएको बताउनुभयो । हरेक राजनीतिक क्रान्तिमा साहित्यकार र कलाकर्मीहरुले राजनीतिक नेतासँगै रहेर काम गरे पनि राजनीतिक क्रान्तिपछि नेताहरु सत्तामा जाने र उनीहरुले सँगैका यात्री साहित्यकार र कलाकारलाई बिर्सने गरेको बताउनुभयो ।

पूर्वीय साहित्यले दुखान्तलाई स्थान कम दिने गरेको औल्याउँदै उहाँले पश्चिमा साहित्यले दुखान्तलाई निकै महत्व दिएर साहित्य उचाइ लिएको औल्याउनुभयो । माक्र्सले इतिहासमा ठूला घटना दुइपटक हुने कुरा उल्लेख गरेको चर्चा गर्दै उहाँले भन्नुभयो– ‘एकपटक दुखान्त र अर्कोपटक प्रहसनका रुपमा, साहित्यले दुखान्त क्षणलाई महान बनाउन भूमिका खेल्नुपर्छ ।’

साहित्य कला विचारधारात्मक हतियार भएको उल्लेख गर्दै उहाँले महान गाथा दुखान्त र बलिदानी भावमा रहने बताउनुभयो । अहिले राजनीतिमा मूल्य विघटनको अवस्था रहेको औल्याउँदै वैद्यले प्रगतिशील साहित्यकार अगाडि पनि ठूलो वैचारिक संकट रहेको बताउनुभयो । ‘हिजो राज्यसत्ताका बिरुद्ध लडियो तर आज राज्यसत्ता बदलिए पनि भनेजस्तो भएको छैन’– सत्तारुढ नेकपानिकट साहित्यकारहरुलाई प्रश्न गर्दै भन्नुभयो– ‘अब कसका विरुद्ध लड्नुहुुन्छ ?’

समाजवादी यथार्थका पक्षमा लड्नसके त्यो प्रगतिशील साहित्य हुने र अन्यथा पूँजीवादी साहित्यमै बदलिने चेतावनी पनि उहाँले दिनुभयो ।
प्रलेस दाङका अध्यक्ष भुवन देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा शहर अधिकारी, टीकाराम उदासी, शारदा शर्मा र गुरुप्रसाद कुमाललाई पनि पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्