राप्रपाको प्रदेशस्तरीय भेला: आत्मालोचनादेखि जनसंघर्षसम्म



नेपाल समाचारपत्र, हेटौंडा
राष्ट्रिय प्रजातन्त्र पार्टीले यसअघि चुनाबमा प्राप्त भएको जनमतको आधारमा पटकपटक पार्टी सत्तामा गए पनि जनताले मन नपराएको भन्दै गुनासोसहित आत्मालोचना गरेको छ ।

पार्टी अध्यक्ष कमल थापा पटकपटक उपप्रधानमन्त्रीसहित विभिन्न मन्त्रालय सम्हाल्ने गरी सरकारमा सहभागी हुँदा जनताले गुनासो गरेको भन्दै हेटौंडामा भएको प्रदेशस्तरीय भेलामा सहभागीले प्रश्न उठाएका थिए ।

सहभागीले कुरा उठाएपछि केन्द्रीय अध्यक्ष थापाले सरकारका तर्फबाट जनताको जीवनस्तरमा परिवर्तन गर्न सकिन्छ भनेर सत्तामा गएको बताउनुभएको थियो । तर, अध्यक्ष थापाले अर्को चुनाबमा पार्टीलाई बहुमत दिलाएर हिन्दुराष्ट्र बनाउनेतर्फ अगाडि बढिने भन्दै आत्मालोचना गरेको पार्टीका एक नेताले जानकारी दिएका छन् ।

‘हिन्दुराष्ट्र र राजसंस्थाको एजेण्डा बोकेको पार्टी पटकपटक सरकारमा सहभागी भएको जनतालाई चित्त बुझेन’, उहाँले भन्नुभयो, ‘जनभावनाको सम्मान गर्दै भविष्यमा राप्रपा सिद्धान्त र आदर्श प्राप्तिको राजनीतिमा केन्द्रित हुने प्रण गर्दछ ।

राप्रपालाई अहिले कमजोर बनाउृने काम भएको भन्दै उहाँले राप्रपा कमजोर नभएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘राप्रपा कमजोर छैन । आउँदो निर्वाचनमा पहिलो पार्टी बन्ने गरी अगाडि बढ्छ । अध्यक्ष थापाले हिन्दुराष्ट्र र राजसंस्थाको मुद्दा बोकेको पार्टी धर्म्निरपेक्षता र गणतन्त्र पक्षधर नेतृत्वको सरकारमा सामेल हुँदा जनताले नरुचाएको उहाँको तर्क थियो ।

केन्द्रीय अध्यक्ष थापाको उपस्थितिमा भएको भेलाले महत्वपूर्ण निर्णय गरेको राप्रपा ३ नम्बर प्रदेशले दाबी गरेको छ । राप्रपाको प्रदेशस्तरीय भेलाले आत्मालोचनादेखि जनसंघर्षसम्मका कार्यक्रम तय गरेको छ ।

भेलाले पुस मसान्तसम्म जिल्ला, गाउँ तथा नगर समितिका वडाहरुको एकाईं अधिवेशन, गठन तथा पुनर्गठन गर्ने निर्णय गरेको राप्रपा ३ नम्बर प्रदेश उपाध्यक्ष मधु अधिकारीले जानकारी दिनुभयो । पुस मसान्तभित्र देशभरका स्थानीय तहमा हिन्दुराष्ट्र पुनस्र्थापना जागरण अभियान चलाउने, ५० हजार नयाँ सक्रिय सदस्य बनाउने निर्णय भएको अधिकारीले जानकारी दिनुभएको छ ।

राप्रपाले हिन्दुराष्ट्र र राजसंस्थाको मुद्दा बोकेर माघ ७ र ८ गते देशभर घरदैलो गर्ने राप्रपाका सहमहामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभएको छ । बर्तौलाका अनुसार भेलाले माघ १० गतेदेखि १५ गतेसम्म राष्ट्रिय स्वाभिमान यात्रा गर्नेछ । यात्राले राप्रपाको मुद्दाका साथै देशमा भएका युवाको देशप्रेम बढाउने बताइएको छ ।

राप्रपाले पुस र माघमा जनतामाझ गएर कार्यकर्ता बढाउने लक्ष्य लिएको छ । हिन्दुराष्ट्रको मुद्दालाई राप्रपाले कुनै हालतमा स्थापित गर्ने भन्दै फागुन ७ गतेबाट जनसंघर्ष गर्ने घोषणा गरेको छ ।

राप्रपाले फागुन ७ गतेबाट हिन्दुराष्ट्रको मुद्दा सडकदेखि सदनसम्म उठाउन युवाहरुलाई प्रशिक्षण, गाउँ–टोलमा जागरण गरेर संघर्षको तयार गर्ने प्रदेशस्तरीय भेलाले निष्कर्ष निकालेको छ । भेलामा ३ नम्बर प्रदेशका ७४ जना केन्द्रीय सदस्य, १३ वटै जिल्लाका सभापति, पार्टीको स्थानीय तहका सभापतिहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्