राजधानी र नामाकरणको टुंगो लगाऊ



प्रदेशको राजधानी र नामाकरण गर्न ४ वटा प्रदेश अझै असफल भएका छन् । मुलुकमा रहेका ७ प्रदेशमध्ये ३ वटा प्रदेशले नाम र राजधानी तोक्न सफल भए पनि ४ वटा प्रदेश भने नाम र राजधानीको विषयमा अझै अलमलमा नै छन् ।

प्रदेश नम्बर १, २, ३ र ५ ले अहिलेसम्म आफ्नो नामाकरण र राजधानी तोक्न सकेका छैनन् । अहिले यी प्रदेशले राजधानी र नाम जुराउन कार्यदल गठन गरेको भए पनि कार्यदलले समेत अहिलेसम्म प्रदेश सरकारलाई प्रतिवेदन दिन पनि सकेको छैन । प्रदेश राजधानीका विषयमा लगभग सबै सहमत भए पनि प्रदेशको नामाकरणमा भने ठूलो विवाद देखिएको छ । केही जातिवादी समूह र संघीयताको बारेमा असहमति जनाउँदै आएको समूहले प्रदेशको नामाकरणमा किचलो झिक्ने प्रयत्न गरेका छन् ।

यता प्रदेश सरकार सञ्चालन गरेका पार्टीहरुबीच पनि प्रदेशको नामाकरणलाई लिएर विभाजित अवस्थामा रहनुले समेत नामाकरण गर्न बाँकी प्रदेशको नाम संकटमा पर्दै गएको हो कि भन्ने विश्लेषण गर्न थालिएको छ । जातीय हिसाबले प्रदेश नम्बर १ मा जनजातिको बाहुल्यता रहेकाले उक्त प्रदेशलाई जनजातिकै नाम दिनुपर्ने आवाज चर्कोरुपमा उठेको छ भने प्रदेश नम्बर २ को नामाकरणमा समेत झमेला देखिएको छ ।

प्रदेश नम्बर २ को राजधानीका विषयमा नै समस्या देखिएकाले नामाकरणमा लफडा हुने देखिएको छ । प्रदेश नम्वर ३ को नामाकरणमा समस्या नभए पनि राजधानीको विषयमा भने चर्को बहस भएको पाइन्छ । प्रदेश नम्बर ५ मा नामाकरणमा समस्या नदेखिए पनि राजधानी बुटवल वा दाङ भन्नेमा जनता मात्र होइन, नेताहरु नै विभाजित अवस्थामा रहेका छन् ।

सरकार गठन भएको ६ महिनाभित्र प्रदेशको नाम राजधानी टुंगो लगाउन संघीय सरकारले प्रदेश सरकारलाई अधिकार दिएको भए पनि अहिलेसम्म नाम र राजधानीको टुंगो लाग्न नसक्नुलाई नेताहरुको अकर्मण्यता नै भन्नुपर्दछ । स्पष्ट बहुमतसहितको प्रदेश सरकार गठन गरेको नेकपाले ३ वटा प्रदेशको नाम र राजधानी टुंगोमा पु¥याउन सकेको छैन भने २ नम्बर प्रदेशको सरकार बनाएको मधेसवादी दलभित्र नै किचलो भएपछि २ नम्बर प्रदेशले समेत नाम र राजधानी पाउन सकेको छैन ।

जनताको आशा र भरोसाको रुपमा रहेको राजनीतिक दलले नै जनताको भावनामा ठेस लाग्ने कामलाई निरन्तरता दिनु कदापि राम्रो होइन । जनचाहनाअनुरुप राजधानी तोक्न र नामाकरण गर्न बाँकी रहेका सबै प्रदेशको अविलम्ब राजधानी तोक्ने र नामाकरण गर्नेतर्फ सरकार अग्रसर हुनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्