भाषिक पहिचान गुम्ने खतरा



-रमेश भट्टराई ‘सहृदयी’
नेपालमा नेपाली विषय पढ्दा गर्वसाथ पढियो । कमाउनका लागि विदेश जाने सोच पनि छैन । नेपाली नागरिक हुँ तर मेरो प्रमाणपत्रमा नेपालीको एउटा पनि वर्ण छैन, सबै अङ्ग्रेजीमा छ । प्रसङ्गवश एकजना अभिभावकले भन्नुभएको कुराले मन पोल्यो, ‘अङ्ग्रेजी पढे विदेशमा काम पाइन्छ । नेपाली नजाने पनि कमसेकम मेरो नानी÷बाबुलाई अङ्ग्रेजीमा राम्ररी बोल्न र लेख्न सिकाइदिनुहोस् ।’ हाम्रो मनोविज्ञानभित्र भाषाको मर्म कमाइ खाने र विदेशिने चक्कर मात्र भन्ने छ । एकातिर पहिचानका नारा अलिकति विकसित छन्, संविधानमा समेत भाषिक धरोहर रक्षार्थ हक–अधिकारलाई खुलाइएको छ । हाम्रो देश आजसम्म त बहुभाषिक मुलुक छ । कमसेकम नाक फुलाएर गफ गरिरहिएकै छ । तर, समाज मनोविज्ञानले आज प्रश्रय दिइरहेको भाषिक पहिचानका पक्षसँगै आफ्नै मातृभाषालाई गलहत्याएर बेवास्ता गरेका विषय हृदयविदारक किन लागिरहँदैनन् !

संविधानको धारा २८७ बमोजिम २०७३ भदौ २३ मा नेपाल सरकारले संवैधानिक कार्यादेशअनुसार भाषा आयोगको गठन गरेको छ । आयोगले आफ्नो वार्षिक प्रतिवेदन २०७४ मा पाँच वर्षे रणनीतिक मार्गचित्रलाई पस्केको छ । ंनेपालका सबै भाषाको व्यवस्थित अध्ययन, संरक्षण र संवद्र्धनका लागि भाषा आयोग लागिपरिरहेको छ ।

लोपोन्मुख भाषाको संरक्षण, संवद्र्धन र विकासका पाटामा आयोग चिन्तित छ । यद्यपि समाज मनोविज्ञान र सरकारको नीतिगत सहयोगका कोणका पक्षमा आयोग एक्लो होइन र ? के नेपालले आफ्नो देशका कार्यलाई आफ्नै देशको माध्यम भाषामा सम्पन्न गर्न सक्दैन ? आयोगले सरकारी कामकाजको भाषाका सम्बन्धमा प्रतिवेदनको परिच्छेद ६ मा गरेको सिफारिसको विषय साँच्चै पेचिलो लाग्छ– आयोगले सरकारी कार्यालयमा अभिलेख राख्दा, शैक्षिक वा अन्य प्रमाणपत्र तयार गर्दा, पत्राचार गर्दा, पत्रमा कार्यालयको नाम र विवरण उल्लेख गर्दा वा छाप प्रयोग गर्दा कार्यालयहरूको नामाकरण गर्दा, औपचारिक समारोहमा सम्बोधन गर्दा, यातायातका साधन वा सार्वजनिक सरोकारका विषयमा भाषाको प्रयोग गर्दा, सार्वजनिक सूचना वा विज्ञापन गर्दा, सञ्चारमाध्यममा, मुलुकभित्र वा बाहिर सम्बोधनमा नेपाली भाषाको प्रयोगलाई अनिवार्य गर्नुपर्ने संविधानसम्मत नीतिको तर्जुमा गर्ने सुझावलाई पस्केको छ ।

आजभोलि चर्चित सञ्चारमाध्यममा नेपाली शब्दलाई भाडामा समेत लिन नसकेर अङ्ग्रेजीका शब्दलाई जबर्जस्ती घुसाउँदै बडप्पनको ढोंग गरिएका छरपस्टै भेटिन्छन् । नेपालले वर्तमान सन्दर्भमा हेर्दा शिक्षामा बहुभाषिक नीति अँगालेको भए पनि मूलतः अङ्ग्रेजी र नेपाली भाषा नै चर्चामा छन् । बालकले नेपाली भाषामा बुझ्दैन भने कमसेकम उसको मातृभाषामा त बुझ्छ, जुन भाषामा उसले सपना देख्छ । आज अङ्ग्रेजी सिकाउनुपर्छ भन्ने मानसिकता जागृत भइरहँदा नेपाली भाषा र मातृभाषाप्रतिको झुकावमा कालो बादल लागेको अनुभूत हुन्छ । तीन महिना भाषा तालिम केन्द्रमा गई भाषा सिकेर बोल्न सक्ने भइन्छ भने हामीमा धेरै भन्दा धेरै भाषा सिक्ने खूबी त हुन्छ । धेरै भाषा जान्नु साँच्चै सुन्दर विषय हो तर लक्ष्य, परिश्रम र निरन्तरताले बहुभाषिक व्यक्तित्व निर्माण गर्न सक्ने हामीले आज आफ्नै मातृभाषालाई दोहन गरिरहेका छौँ ।

बालमस्तिष्कमा अङ्ग्रेजी भाषा सिके विदेशमा काम पाउन सहज बन्ने कुरा भरेका छौं । अङ्ग्रेजी मोहको अन्धो भक्तिको भूत चढेपछि महँगा स्कुलमा भर्ना गर्नु र अङ्ग्रेजीमा बोल्नु नै सबै थोक हो भन्ने ठान्नाले नेपाली भाषा सहायक आवश्यकतामा र मातृभाषा त गौण आवश्यकतामा पर्न पुगेको छ ।

एकजना घनिष्ट मित्रले कुरैकुरामा भन्नुभयो– ‘मलाई मेरो भाषा जानेर के फाइदा ? मैले जागिर पाउँछु र ?’ मैले भनेँ– अब तपाईंले बोल्ने भाषालाई मैले बोल्न कोशिश गरौँ भने मलाई वर्षौं सिकेर पनि तपाईंले जानेजति ज्ञान हुन सक्दैन । उहाँले आफ्नो भाषा जोगाउनुको अर्थलाई मात्र गाँस, बास र कपासको सन्दर्भमा लगेर जोड्नुभयो । उहाँ आरोपित हुनुभयो, भनौँ– बाध्यतामा राष्ट्रियता र स्वाभिमान खोक्रो हुँदो रहेछ । हाम्रो संविधानले बहुभाषिक हक र अधिकारलाई सुनिश्चित गरेको छ । मातृभाषामा शिक्षा लिन पाउने हकलाई सुनिश्चित गरेको छ । चाहेर पनि आजको विश्वव्यापीकृत संसार साँघुरिएको प्रतिस्पर्धामा मातृभाषा सिक्नुपर्ने कुरा हाम्रो जस्तो गरिबीको पीडामा थिचिएको मुलुकमा गफ, कानुन र चर्चामा गएर थुरिएको अनुभूत हुन्छ । कोरिया, जापान, चीनजस्ता देशमा अवसरको अपेक्षा बोकेर बाहिरिने देशको होनहार युवाले कनी–कनी मोबाइल, इन्टरनेट या त इन्स्टिच्युटमा भाषा सिक्न देखाएको जाँगरबाटै स्पष्ट हुन्छ, यस्ता धेरै मुलुकले आफ्नो देशको स्वाभिमानको बारेमा चिन्ता गरेका छन् ।

अङ्ग्रेजी विश्वव्यापीकृत भाषा भए पनि उनीहरू आफ्नै देशको भाषालाई प्रोत्साहन गर्ने भाषानीति तथा भाषायोजनालाई पस्किरहेको बुझ्नु आवश्यक छ । हामीलाई अङ्ग्रेजी अन्तर्राष्ट्रिय भाषा भएकाले जान्नै पर्ने बाध्यता छ । एयरपोर्टमा सबै अङ्ग्रेजी बुझ्ने मात्रै पुग्छन् त ! हो, नेपाली भाषा साझा सम्पर्कको भाषा भए पनि आज यसमा अङ्ग्रेजी मिश्रणको व्यापकताले कुरूप बनाइरहेको छ । अतः सञ्चारमाध्यम, विज्ञापन, सामाजिक सञ्जालमा वास्तविक नेपाली भाषा संरक्षणको विषय चुनौती बन्दै छ ।

नेपालमा भारोपेली, भोटबर्मेली, आग्नेय र द्रविड परिवारका भाषा बोलिन्छन् । त्यसमा पनि नेपालमा लोपोन्मुख अवस्थामा घिटिघिटी भएको कुसुन्डा भाषाका २८ जना वक्ता भएको २०६८ को जनगणनाले देखाए पनि हालसम्म चार–पाँच जना मात्र वक्ता रहेको बुझिन्छ । सन् २००९ मा एथ्नोलले संसारमा ६,९०९ भाषाहरू रहेको तथ्यलाई पस्केको छ । माचर र वेन्डे (सन् १९९९) ले प्रत्येक दुई हप्तामा विश्वबाट एउटा भाषाको अस्तित्व लोप हुने तर्क अघि सारेका छन् । २०६८ को जनगणनामा पेस गरिएको तथ्याङ्कलाई हेर्दा नेपालका १२३ भाषामध्ये १३ वटा भाषामा मात्र १ प्रतिशतभन्दा बढी वक्ता सङ्ख्या छन् भने ११० वटा भाषाका वक्ता १ प्रतिशतभन्दा कम छन् । नेपाली भाषा केन्द्रीय विभागका प्रा.डा. दानराज रेग्मीले प्रस्तुत गर्नुभएको तथ्याङ्कका अनुसार नेपालमा ५३ प्रतिशत भाषा सुरक्षित, ५१ प्रतिशत सङ्कटापन्न, ११ वटा अपशरणशील, ६ वटा मृतप्रायको स्थितिमा छन् भने एउटा सुषुप्त र एउटा भाषा लोपोन्मुख अवस्थामा पुगेको छ । मातृभाषामा २४ वटा बढी पाठ्यक्रम तयार भएका विवरण छन् तर यसको विकासमा बौद्धिक वर्गको ध्यान जान थाले पनि समाज मनोविज्ञानले तगारो हालेकै छ । यसर्थ भाषासँगै अलिखित साहित्यभित्रको जातीय गौरव, परम्परा, अस्तित्व र सांस्कृतिक गौरवको लोप हुने भय बढ्नु पनि हो ।

अभाव र आवश्यकताले मानिसको जीवन साँच्चै आक्रान्त छ । वास्तवमा भावनाले पेटको भोक मेटिँदैन रहेछ । भाषालाई जबर्जस्ती जोगाउने विषय होइन तर नेपालका मातृभाषा जोगाउने कुरामा साँच्चै ‘मर्ने बेलामा हरियो काँक्रो’ भनेजस्तै नबन्ला भन्न सकिन्न । भोलि यहाँका बहुभाषिक गौरव नै मात्र इतिहासका पानामा मात्र सीमाङ्कित भए भने, चिन्ता मात्र बाँकी रहने भय छ । फलतः पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको नातो गाँस्ने सम्प्रेष्य आधार ४४.६३ प्रतिशतका वक्ताले बोल्ने गरेको नेपाली भाषासमेत त खिचडी हुन्छ, आधुनिकीकरण, मानकीकरण तथा स्वीकरणमा आवश्यक व्यवस्थापन हुँदैन भने नेपालका बाँकी भाषालाई जोगाउन हाम्रो देशले सोचेको होला । जनता आजको अवस्थामा व्यावहारिक पाटासँग सबल छन् त !

अमेरिका, बेलायत, अस्टे«लियामा छोराछोरी या आफन्त भएका अभिभावकहरू आपूm स्वदेशमै रहँदा पनि नाक फुलाउँछन् । रातोदिन संस्कृति, समाज, आफन्त नभनेर पैसा कमाउने ध्याउन्न भएका अनि यता बिरामी पर्दा पानी तताएर दिने मान्छे नहुनेले सामान्य वर्गलाई निम्जो मान्छन् । ग्रिन कार्ड लिने, उतै संसार बसाउने सोचमा लहसिएर स्वाभिमान कुल्चिने संस्कारलाई पक्षपोषण गर्न समाजमा मातृभाषाको संरक्षण, स्वाभिमानका कुरा परजीवीतन्त्रको जालोमा फसिरहन्छन् । ताना शर्माको ‘पातालमा बिलाउने रोग’ र ‘बेलायततिर बरालिँदा’ निबन्धले घचघच्याउँछ । विदेशका पीडा मात्र होइन आफ्ना संस्कृति, परम्परा, आफन्त, नेपाली मौलिकतालाई छोडेर अर्कैको संसारमा रम्ने प्रवृत्तिमा लिप्त मानसिकतामा मातृभाषाको दोहन भइरहेको छ ।

हरेक भाषालाई बाँच्न र प्रसारित हुन वर्ण, लिपि, व्याकरण, शब्दकोश, साहित्य, वाङ्मय विकास तथा प्रसारित र स्वीकरण गर्ने राज्यनीतिको खाँचो पर्छ । एउटा भाषाको वर्ण र लिपि तयार पारेर त्यसलाई जीवन्त बनाउने महान् र वैज्ञानिक कार्य कुनै बच्चाबच्चीको खेल होइन ।

अब मातृभाषाको पाठ्यक्रमलाई पढाउनुपर्छ । हाम्रा भाषालाई जोगाउनुपर्छ नि ! गाउँतिरका अभिभावक भन्नुहुन्छ– ‘तामाङ भाषा त हामी नै घरमा सिकाइहाल्छौँ नि । तपार्इंहरू विद्यालयमा अङ्ग्रेजी पढाउनुहोस् न ।’ बालमस्तिष्कमा अङ्ग्रेजी भाषा सिके विदेशमा काम पाउन सहज बन्ने कुरा भरेका छौं । अङ्ग्रेजी मोहको अन्धो भक्तिको भूत चढेपछि महँगा स्कुलमा भर्ना गर्नु र अङ्ग्रेजीमा बोल्नु नै सबै थोक हो भन्ने ठान्नाले नेपाली भाषा सहायक आवश्यकतामा र मातृभाषा त गौण आवश्यकतामा पर्न पुगेको छ ।

आज आफ्नै गरिमा र पहिचान बोक्ने भाषा, संस्कृति र सकारात्मक परम्परालाई समेत तिलाञ्जलि दिएका हामीले कलिला सन्तानलाई अस्मिता जोगाउने पक्षमा ध्यानै दिएनौँ । घमण्ड, इज्जत, बडप्पनको मनोदशाले झापड हानिरहँदा समाजमा शिक्षाभित्रको वर्गीयता र खोक्रो आडम्बर जन्मिरहँदो रहेछ । अङ्ग्रेजी सिक्नुमा खराबी अवश्य होइन तर आपैmँलाई बिर्सेर समर्पित बन्ने अन्धोपनाचाहिँ खराब हो । अङ्ग्रेजी भाषा हरेक विषयवस्तुको गहन अध्ययन, शोध–अध्ययन, प्राज्ञिक–बौद्धिक विकास, अन्तर्राष्ट्रिय सहसम्बन्ध, भौतिक–वैज्ञानिक विकास मात्रै होइन, विश्वव्यापीकृत बन्ने कुरासम्ममा उपयोगी र आवश्यक छ । सांस्कृतिक धरोहरका लागि पर्यटकीय सौन्दर्यसहित भाषा र सत्य परम्पराको समेत बेवास्ता र अपमान गर्दै हामी अन्धभक्त त बन्दै छैनौँ ?

 

 

प्रतिक्रिया दिनुहोस्