डेढ वर्षदेखि खोरभित्र बन्धक महिलाको उद्दार



रामधन राई, खोटाङ ।
डेढ वर्षदेखि काठ र तारजालीको खोरमा वन्धक बनाईएको खोटाङकी एक महिलालाई उद्दार गरिएको छ । २०७४ साल असार १४ गतेदेखि मानसिक सन्तुलन गुमाएलगत्तै बन्धक बनाएर राखिएकी दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीकी ३३ वर्षीया रमिला तामाङको मङ्गलबार गाउँपालिकाले उद्दार गरेको हो ।

उद्दार गरिएकी महिलालाई श्रीमान्को साथमा थप उपचारका लागि मङ्गलबारै काठमाडौं पठाइएको जनाइएको छ । स्थानीय चक्रबहदुर तामाङको जन्तरे छोराको श्रीमती रमिला विवाह बन्धनमा बाँधिएको सात वर्षपछि बहुलाएको आरोप लगाउँदै खोरमा बन्धक बनाईएको कुरा सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनलाई गाउँपालिका प्रमुख भूपेन्द्र राईले प्रहरीको रोहबरमा उद्दार गरेको हो ।

काठको टाँड बनाएर चारैतिर जालीले बारी खोरमा राखेको अवस्थाबाट पीडित महिलालाई उद्दार गरिएको गाउँपालिका प्रमुख भुपेन्द्र राईले बताउनुभयो । हाम्रो बतासे खोटाङ नामको फेसबुक आइडीमार्फत सार्वजनिक भएको स्टाटस्मा स्थानीय सरकार आएपछि झन् पीडित महिलाको उद्दार हुनुको सट्टा वडा सदस्य युवराज तामाङकै संलग्नतामा खोरमा थुनेर राखेको आरोप लगाइएको थियो ।

बन्दी जीवन बिताइ रहेकी रमिलाको अवस्था हेर्दा र कुराकानी गर्दा उनलाई त्यसरी बन्धक बनाउनुपर्ने कुनै कारण नदेखिएको सामाजिक सञ्जालमा उल्लेख गरिएको थियो । ‘उनी नजिक कोहि मान्छे जादा स्पस्ट बोल्ने, को मान्छे हो ? सबैलाई स्पस्ट चिन्छन् । कोहि मान्छे उनलाई थुनेको ठाउँ जाँदा उद्दारको लागि आग्रह गर्छिन् ।’

फेसवुकमा रमिलाले आफु पागल नभए पनि पागल वन्न वाध्य वनाईएको कुरा उल्लेख गरिएको छ । पीडितको कुरा उल्लेख गरिएको छ–‘यो चिसो मौषममा लगाउने कपडा छैन, समयमा खाना दिदैन, दिशा÷पिसाब एकै ठाउँ गर्नुपर्छ । कयांै पटक मैले आग्रह गर्दा पनि श्रीमान् भनाउँदाले न सुन्छ ? न कुनै समाजले ? मेरो जिन्दगीमाथि ठूलो अन्याय गरेका छन् ।’

गाउँपालिका प्रमुख राईले बिरामी भएपछि उनकै जीवन जोखिममा हुने भएकाले गाउँले मिलेर बन्धक बनाएका राखेको पाईएको जनाउनुभयो । उहाँले भन्नुभयो, “अब उनको सम्पूर्ण उपचारमा गाउँपालिकाले सहयोग गर्ने गरी उद्दार गरेका हौं ।”

मानसिक सन्तुलन गुमाएकोे थाहा पाएलगत्तै आफन्तले उपचारका लागि धरान लगे पनि उपचार सम्भव नभएपछि घरमा ल्याएर उनलाई बन्धक बनाएका छिमेकीले बताएका छन् । बिरामले भेटेपछि गाउँमा खुकुरी तथा भाँडाकुँडा बोकेर हिड्ने, गोठमा बाँधेर राखिएको गाईगोरु खोलिदिने, केटाकेटीलाई लखेट्नुका साथै पिट्ने गरेपछि बन्धक बनाइएको उनका श्रीमान मणिकुमार तामाङले स्वीकार गर्नुभयो ।

उद्दार गरिएकी महिलाको उपचारका लागि गाउँपालिकाले गाडी रिजर्भ गरेर काठमाडौं पठाएको छ । उनलाई बाटोमा लाग्ने खाना तथा खाजा खर्चका लागि दश हजार रुपैंयाँ नगद समेत उपलब्ध गराइएको गाउँपालिका प्रमुख राईले जानकारी दिनुभयो ।
तामाङ दम्पत्तीको एक छोरी र एक छोरा छन् ।

प्रतिक्रिया दिनुहोस्