विद्युत सुरक्षा गार्ड मृत्यु प्रकरणः सहमतिपछि आफन्तले बुझे शव



मनोज भट्ट, महेन्द्रनगर ।
कञ्चनपुरको लालपुरमा शंकास्पद रूपमा मृत अवस्थमा फेला परेका विद्युत् सुरक्षागार्ड चन्द्रदेव भट्टका आफन्तले शव बुझेका छन् । चारबुँदे सहमतिपछि दुई दिनदेखि शव स्टेशनको ट्रान्सफर्मरमा रहेको मृतक भट्टको शव बुझेर परीक्षणका लागि महाकाली अञ्चल अस्पताल र्पुयाइएको हो । जिल्ला प्रशासन कार्यालयमा मृतकका परिवारजन, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, बेदकोट नगरपालिकाका प्रमुख सहितको गएराति बसेको बैठकमा सो सहमति भएको हो ।

बैठकमा उक्त घटनाका सम्बन्धमा छानबिन गरी दोषी पत्ता लगाई कानुनी दायरामा ल्याउने, मृतकका परिवारलाई नेपाल विद्युत् प्राधिकरणबाट नेपाल सरकारले १० लाख रुपैयाँ राहतस्वरूप उपलब्ध गराउने, बीमा वापतको रकमका लागि प्रकृया अगाडि बढाउनेलगायतको सहमति भएको बेदकोट नगरपालिकाका नगर प्रमुख असोक कुमार चन्दले बताए ।

मृतकका परिवारलाई नेपाल विद्युत् प्राधिकरणले योग्यता क्षमताका आधारमा रोजगारीको व्यवस्था गर्ने, बेदकोट नगरपालिकाले समेत रोजगारीको व्यवस्था मिलाउने, शव परीक्षणका लागि लैजाने र शव परीक्षणपश्चात् दाहसंस्कारको व्यवस्था परिवारजनले गर्ने सहमती भएको छ ।

सुरक्षागार्ड भट्टको शवस्टेशनको ट्रान्सफरर्मरमा शंकास्पद अवस्थमा फेला परेपछि आक्रोशित उनका आफन्तले छानबिनको माग गर्दै सडक अवरुद्ध गरी शवस्टेशनमा तोडफोड गरेका थिए । मृतका आफन्तले प्राधिकरणका १४ जना कर्मचारीमाथि जिल्ला प्रहरी कार्यालयमा कर्तव्यज्यान सम्बन्धीको किटानी जाहेरीसमेत दिएका छन् । स्थानीयको आन्दोलनका कारण दुई दिनसम्म यस क्षेत्रको विद्युत् र यातायात सेवा अवरुद्ध रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्