कांग्रेसका नेताहरु कानले मात्र देख्छन्ः रिता खनाल



काठमाडौँ ।

नेपाली कांग्रेसकी महासमिति सदस्य रिता खनालले पार्टीका प्रमुख नेताहरुले आँखाले नभई कानले देख्ने गरेको आरोप लगाउनुभएको छ ।
मकवानपुरकी कांग्रेस नेतृ खनालले पार्टीका जिम्मेवार नेताहरुले अरुको कुरा सुनेर गलत निर्णय गर्ने गरेको टिप्पणी गर्नुभएको छ ।

‘गाउँमा कसको हैसियत कस्तो छ नेताहरुले बुझ्दैनन्, जे सुन्यो त्यही होला भनेर लाग्छन्’ उहाँले भन्नुभयो ‘ इमान्दार र संघर्ष गरेकालाई सधैं पाखा लगाएर कांग्रेस अघि बढ्न सक्दैन ।’ खनालले पार्टीमा देखिएको अन्तरद्धन्द्धको व्यवस्थापन नहुञ्जेलसम्म विपक्षीले फाइदा लिइरहने र कांग्रेस दिनैपिच्छे कमजोर बन्दै जाने बताउनुभयो ।

राजनीतिसँगै समाजसेवामा समेत लागेकी उहाँले केन्द्रमा देखिएको बिबादले गाउँ तहसम्म संकटमा पारेको बताउनुभयो । ‘ म कहिल्यै पनि पद चाहिन्छ भनेर हिँडिन, पार्टीले योग्य ठानेर अवसर दिएन’ उहाँले भन्नुभयो ‘जब मेरो उम्मेदवारीको कुरा आउँछ अनि अनेक आरोप लगाएर मलाई पाखा लगाइन्छ तर पनि सहेरै बसेकी छु ।’ पार्टीले विपक्षीसँग प्रतिस्पर्धा गर्नुपर्ने यो बेला आफैंमा झगडा गरेपछि परिणाम पनि त्यही अनुसार आएको उहाँको आरोप छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर निर्बाचनमा जानु स्वभाविक भएपनि त्यसको विरुद्धमा अभियान चाल्न नसक्नु पार्टीको कमजोरी भएको उहाँको भनाई छ । विचार र सिद्धान्त नै नमिल्ने माओबादीसँग स्थानीय तहको निर्बाचनमा कांग्रेसले गरेको सहकार्य गलत भएको खनालको टिप्पणी छ ।

महासमिति बैठकले पार्टीलाई समग्र रुपमा परिवर्तन गरेर नयाँ रुपमा ढाल्ने भनिएपनि व्यवहारमा कुनैपनि लक्षण राम्रो नदेखिएको उहाँको तर्क छ । निर्वाचनमा टिकट दिँदा गैर–कांग्रेसीलाई अवसर दिएको भन्दै उनले यसको जिम्मा संसदीय बोर्डले लिनुपर्ने बताउनुभयो ‘ पार्टी कार्यालय र सभापतिसमेत नचिनेका मान्छेले टिकट पाए, ‘जय नेपाल’ भन्न पनि सिकाउनुपर्दथ्यो’ उहाँले भन्नुभयो ‘पार्टीभित्र देखिएको चाकडीतन्त्र र नेतृत्वको कार्यशैलीले कांग्रेस भन्न नै अप्ठेरो लाग्न थालिसकेको छ ।’

पटकपटक एउटै व्यक्तिले मात्र समानुपातिक सांसद बन्ने अवसर पाउनु अव्यवहारिक भएको उहाँको भनाई छ । महासमितिको बैठकले बिधानमा परिवर्तन गरेर मनोनीतको अवसर एकपटकमात्र दिने व्यवस्था राख्न उनले सुझाव दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्