चौका दाउलाई मौका



राधा पियारी बोलको गीतका कारण चर्चामा रहेको फिल्म चौका दाउले सिंगलसरह रिलिज पाउने भएको छ। यसअघि चौका दाउसँगै द ब्रेकअप आउने तय भए पनि सो फिल्म अर्को मितिमा रिलिज आउने भएपछि चौका दाउले अल नेपाल सिंगलसरह रिलिज पाउने भएको हो।

फिल्मका निर्देशक पँर्णेन्दु झाका अनुसार चौका दाउ आगामी पुस २७ गते रिलिजमा आउनेछ भने आपसी सहमतीमा द ब्रेकअप आगामी १७ फागुनमा क्याप्टेनसँगै रिलिजमा आउनेछ। ‘तीन फिल्म आपसमा जुध्दा घाटा तीनै फिल्मलाई हुन्थ्यो। उहाँहरूलाई सिनेमा समयमै तयार गर्न निकै दबाब परिरहेको बेला हामीले गरेको अनुरोधलाई मन्दै हेमराज बिसीजीले द ब्रेक अप पुस २७ मा सार्नुभएको छ’, झाले भने– ‘अब हामीलाई ढुक्क छौं। फिल्म पनि त्यत्तिकै राम्रो बनेको छ।’ यो फिल्मसँगै अब धेरै पहिले नै निर्माण भएको फिल्म भिलेन आउने भएको छ। भिलेन धेरै अघिको फर्मुलामा बनेकाले चौका दाउलाई रिलिज डेट राम्रो मौका भएको छ।


फिल्म शम्भुजित बासकोटाको परिकल्पना, संगीत र कथामा बनेको छ भने सौर्यजित बासकोटा र मनोज राजभण्डारीले निर्माण गरेका छन्। फिल्ममा सन्तोष पन्त, तैयब शाह, श्याम राई, अजश्र ढुंगाना, वर्षा राउत, रवीन्द्र झा, विल्सनविक्रम राई, रमेश अधिकारीलगायतले अभिनय गरेका छन्।

हेमराज बिसी निर्देशित द ब्रेकअप अब भुवन केसीको फिल्म क्याप्टेनसँग जुध्ने भएको छ। यसअघि क्याप्टेनसँग फागुन १७ मा प्रदीप भट्टराईको फिल्म जात्रैजात्रा जुध्ने कुरा थियो। जात्रैजात्राका अभिनेता विपिन कार्की दुर्घटनामा परी खुट्टा भाँचिएर निर्धारित समयमा फिल्म नआउने भएपछि त्यो डेटमा रिलिज गर्न लागेको निर्देशक बिसीले बताए। बिसीका अनुसार द ब्रेकअपको भीएफएक्सको काम बाँकी छ। कुनै एउटा फिल्मसँग जुध्नै पर्ने बाध्यताका कारण आफँहरू फागुन १७ मा पुगेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्