प्रत्येक प्रदेशको राजधानीमा कम्तीमा एउटा रेडियोथेरापी केन्द्र हुनुपर्छ



डा. डिल्ली बञ्जाडे
सिनियर अन्कोलोजी फिजिक्स स्पेसलिस्ट
रेडिएसन अन्कोलोजी विभाग, ओरेन्ज हस्पिटल, अस्ट्रेलिया

काठमाडौंमा हालै सम्पन्न एनआरएनएको पहिलो विश्वव्यापी ज्ञान सम्मेलनमा सहभागी भई संघीय नेपालमा रेडिएसन अन्कोलोजी र क्यान्सर रोगको उपचार, यसको नीति निर्माण र यसबाट हुने सामाजिक आर्थिक फाइदाका बारेमा डा. डिल्ली बञ्जाडेले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। डा. बञ्जाडेले युनिभर्सिटी अफ साइन्स मलेसियाबाट सन् २००२ मा रेडिएसन अन्कोलोजी मेडिकल फिजिक्समा विद्यावारिधि गर्नुभएको थियो। मेडिकल फिजिक्समा विद्यावारिधि गर्ने उहाँ पहिलो व्यक्ति हुनुहुन्छ।

उहाँमा नेपालका गाउँका स्वास्थ्य संस्थादेखि केन्द्रस्तरका अस्पतालहरूमा सेवा गरेको अनुभव छ। उहाँले अन्कोलोजी फिजिक्स स्पेसलिस्टका रूपमा बीपी कोइराला मेमोरियल क्यान्सर हस्पिटल चितवनमा आफ्नो सेवा शुरू गर्नुभएको थियो। सन् २००४ देखि न्युजिल्यान्डमा पुग्नुभएका उहाँ हाल ओरेन्ज हस्पिटल अस्ट्रेलियाको रेडिएसन अन्कोलोजी विभागका सिनियर अन्कोलोजी फिजिक्स स्पेसलिस्टका रूपमा कार्यरत हुनुहुन्छ। क्लिनिकल सर्भिसबाहेक उहाँ रिसर्च र एकेडमिक क्रियाकलापमा पनि संलग्न हुनुहुन्छ। उहाँले हाल स्टेरोट्याक्टिक्ट रेडियो सर्जरीको इम्प्लिमेन्टेसन गर्ने टिमको नेतृत्व गरिरहनुभएको छ। उहाँका विभिन्न रिसर्च विषयका रिजल्टहरू अन्तर्राष्ट्रिय जर्नल पेपरमा प्रकाशित छन्। उहाँसँग नेपाल समाचारपत्रका लागि रविन घिमिरेले गरेको कुराकानीको सार:

रेडियोथेरापी भनेको के हो ?
यो एउटा क्यान्सर उपचार गर्ने पद्धति हो। ५० प्रतिशत क्यान्सरका बिरामीलाई यो आवश्यक हुन्छ र यो महँगो हुन्छ। विकासोन्मुख देशमा ८० प्रतिशतभन्दा बढी क्यान्सरका बिरामी यसको पहँुचबाट टाढा छन्। यसमा नेपालको स्थिति झनै कमजोर छ।

क्यान्सर रोगको नियन्त्रणमा रेडियो थेरापीको कस्तो भूमिका रहन्छ ?
ग्लोबल टास्क फोर्स अन रेडियोथेरापी फर क्यान्सर कन्ट्रोल (जीटीएफआरसीसी) का अनुसार रेडियोथेरापीको क्षमता बढ्दै गयो भने न्यँनदेखि मध्यम आय भएका देशको २६ दशमलव ९ मिलियन लाइफ इयर र २७८ दशमलव १ बिलियन अमेरिकी डलर बच्ने देखिन्छ।

नेपालमा रेडियो थेरापीको अवस्था कस्तो छ ?
खासमा नेपालमा यसको अवस्था केन्द्रीकृत तथा अपर्याप्त छ र पहँुच एकदमै न्यँन छ। सरकारी नीतिको अभावका कारण राष्ट्रिय स्वास्थ्य नीतिको प्राथमिकतामा नपरेको देखिन्छ। उदाहरणका लागि अस्ट्रेलियामा २५ मिलियनको जनसंख्यामा १९७ लिनियर एस्सेलेटर (रेडियो थेरापी मेसिन) छन् जबकि नेपालको ३० मिलियन जनसंख्यामा जम्मा ४ वटा लिनियर एस्सेलेटर छन्। यसले हाम्रो अवस्था कस्तो छ भन्ने छर्लङ हुन्छ। यसमा सरकारको ध्यान जानु जरुरी छ।

नेपालमा यसको विकासका लागि के गर्न सकिन्छ ?
यसमा पुँजी लगानीअन्तर्गत भवन र पँर्वाधार विकास, आधुनिक रेडियो थेरापी उपकरणको व्यवस्थाका साथै प्रोफेसनल ट्रेनिङको उचित व्यवस्था हुनु जरुरी देखिन्छ।

नेपालमा रेडियो थेरापीको विकासमा सरकारले न्यूनतम के गर्नुपर्ने देखिन्छ ?
मेरो विचारमा काठमाडौं वरिपरि कम्तीमा एउटा अन्तर्राष्ट्रियस्तरको सबै सुविधासम्पन्न रेडियोथेरापी केन्द्रको स्थापना गर्नुपर्ने, प्रत्येक प्रदेशको राजधानीमा कम्तीमा एक रेडियोथेरापी केन्द्रको स्थापना गर्नुपर्ने, काठमाडौं विश्वविद्यालय, शिक्षण अस्पताल वा वीर अस्पतालमा अन्कोलोजी फिजिक्स विशेषज्ञ कोर्सको सञ्चालन गर्नुपर्ने छ। सरकारले रेडिएसन थेरापी केन्द्रको स्थापनाका लागि पब्लिक प्राइभेट साझेदारी नीतिको निर्माण गर्नुपर्ने देखिन्छ।

रेडियो थेरापी सुविधा विस्तार गर्न लागत कति लाग्छ ?
नेपालको सन्दर्भमा रेडियो थेरापी उपकरणसहितको केन्द्र बनाउनका लागि भवन, उपकरण र मानव संसाधन विकाससहित ५ देखि ६ मिलियन अमेरिकी डलर जति अनुमानित पुँजी लाग्छ। चालँ लागत, कर्मचारी खर्च, ओभरहेड खर्च र मर्मत सम्भार गरी वार्षिक १ सय ५० देखि २ सय ५० हजार अमेरिकी डलर जति खर्च लाग्छ। प्रारम्भिक रूपमा महँगो भए पनि रेडियो थेरापी दीर्घकालीनरूपमा सस्तो उपचार प्रक्रिया हो। यसका लागि नेपालमा स पब्लिक प्राइभेट साझेदारी नीतिको अति आवश्यकता छ।

एनआरएनले यसको विकासमा के गर्न सक्छ ?
विकासशील र विकसित संसारबाट सिकेका कुरा र लगानीको वातावरण सिर्जना गरेर नेपाल सरकारलाई नीति निर्माणमा सहयोग गर्न सक्ने देखिन्छ। सम्भावित रेडियोथेरापी केन्द्र, अन्तर्राष्ट्रिय अस्पताल र अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग समन्वय गर्ने वातावरण बनाएर नेपालमा रेडियो थेरापी सेवा विस्तार र अन्तर्राष्ट्रियस्तरको सेवा विस्तारमा सहयोग गर्न सक्छ। विशेष गरी यस क्षेत्रमा सम्भावित लगानीकर्ता फेला पार्न र लगानीको अवसर जुटाउन सहयोग गर्न सक्छ।

निष्कर्षमा के भन्नुहुन्छ ?
रेडियो थेरापी सेवा क्यान्सर उपचारका लागि कस्ट इफेक्टिभ प्रविधि हो जसका लागि उच्चस्तरको सेवा प्रदान गर्न पब्लिक प्राइभेट साझेदारी नीतिको आवश्यकता छ। यसले स्वदेशमै उच्चस्तरको सेवा उपलब्ध गराउन सकिन्छ। विदेशमा उपचारका लागि जाने रोगीहरूलाई स्वदेशमै उच्चस्तरको सेवा प्रदान गर्न सकिन्छ साथै दक्षिण एसियाली क्षेत्रका रोगीहरूलाई पनि आकर्षित गर्न सक्ने हुँदा राष्ट्रियरूपमा राम्रो मेडिकल टुरिजमको सम्भावना रहन्छ।

प्राइभेट रेडियो थेरापी सेन्टरको सर्भिसबाट हुने आयको केही भागबाट गरिब रोगीहरूलाई सहुलियत दरको उपचार प्रदान गर्न सकिन्छ। यस्तो नीतिले नेपालमै उच्चस्तरको रेडियोथेरापी सेवा सबै नागरिकलाई उपलब्ध गराउन सकिने र लगानीकर्तालाई पनि लगानीअनुसारको आम्दानी हुने देखिन्छ।

नेपालमा काठमाडौंमा कम्तीमा पनि सबै सुविधायुक्त एक रेडियो थेरापी केन्द्र थप्न आवश्यक छ। प्रत्येक प्रदेशको राजधानीमा कम्तीमा एक रेडियोथेरापी केन्द्रको स्थापना गर्नुपर्छ। सरकारले पब्लिक प्राइभेट साझेदारी नीति बनाई ठँला शहरहरूमा प्राइभेट रेडियोथेरापी सेवा र प्रादेशिक क्षेत्रमा सरकारको लगानीमा सेवा विस्तार गर्न ध्यान केन्द्रित गर्नुपर्छ। प्राइभेट रेडियोथेरापी सेन्टरबाट लिने करबाट सरकारले प्रादेशिक रेडियो थेरापी सेन्टरलाई विस्तार गर्नुपर्छ, जबकि निजी क्षेत्रले लाभदायक शहरी क्षेत्रमा ध्यान केन्द्रित गर्न सक्छ।

प्रतिक्रिया दिनुहोस्