संकटाको जितले मनाङमाथि दवाव



नेपाल समाचारपत्र
काठमाडौं
संकटा क्लबले जारी सहिद स्मारक ए डिभिजन लिगमा लगातार स्पष्ट ३ अंक जोड्दै जाँदा डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङदी क्लबलाई दवाव बनेको छ ।
सोमबार नवौं चरणको खेलमा संकटाले फ्रेन्डस् क्लबलाई ३–१ गोलअन्तरले हराएको हो । संकटाको यो जारी लिगमा आठौं जित हो । टोलीले एक मात्र खेल त्रिभुवन आर्मी क्लबसँग हारेको छ ।

टोलीको जितमा एलोन मेक्सवेल, अर्नेस्ट टम्पी र दिपेश आलेमगरले गोल गरेका हुन् । यो जितले संकटाले उपाधि दावेदारी दौडमा आफुलाई ससक्त बनाइरहेको छ । संकटाको २४ अंक छ भने शीर्ष स्थानको मनाङसँग बराबरी गरेको छ । यद्दपि मनाङले एक खेल कम खेलेको छ ।

खेलको २४औं मिनेटमा मेक्सवेलले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । उनले सेडरिक अबाको पासमा विपक्षी गोलकिपर अगाडि बढेको अवस्थामा सहजै गोल गरेका थिए । फ्रेन्डस्ले पहिलो हाफ सकिन लाग्दा इन्जुरी समयमा प्रेजेन तामाङको गोलमार्फत् खेल बराबरीमा ल्यायो ।

दोस्रो हाफमा पुन संकटाले ३ मिनेटमा दुई गोल गरेपछि फ्रेन्डस्को खेलमा फर्कने आस समाप्त भएको थियो । ५४औं मिनेटमा टम्पीले लक्ष्मण रुचालको कर्नरमा गोल थपेका थिए । यस्तै ५७औं मिनेटमा दिपेशले लक्ष्मणको क्रसमा क्लोज रेन्जमा गोल गरेका थिए । फ्रेन्डस छैटोे हारसँगै ५ अंकमै अडकिएको छ ।

प्रतिक्रिया दिनुहोस्